यी हुन् नेपाल-भारत संयुक्त आयोग बैठकका सहमति

यी हुन् नेपाल-भारत संयुक्त आयोग बैठकका सहमति

काठमाडौं: नेपाल-भारत बिदेशमन्त्रीस्तरीय संयुक्त आयोगको चौँथो बैठक द्विपक्षीय मुद्दामा बृहत् समीक्षा गर्दै बिहीबार नयाँ दिल्लीमा सकिएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गरेका थिए भारतीय पक्षको नेतृत्व विदेश राज्यमन्त्री एम.जे. अकबरले गरे । भारतीय विदेशमन्त्री सुष्मा स्वराज स्वास्थ्यमा आएको खराबीका कारण बैठकमा सहभागी हुन नसकेको बताइएको छ ।

बैठकमा भारतसंग सहमति भएका सात बुँदा नेपाली पक्षले सार्वजनिक गरेको छ । दुई बर्ष अघि काठमाडौंमा भएको आयोगको तेश्रो बैठकमा संयुक्त वक्तव्य जारी भए पनि यसपटक संयुक्त वक्तव्य जारी हुन सकेन । विदेशमन्त्रीस्तरीय बैठक अघि बुधबार दुवै देशका विदेशसचिव तहको बैठक बसेको थियो ।

एक दिने बैठकमा नेपाल—भारत सम्बन्ध राजनीति, सुरक्षा र सीमा, आर्थिक सहकार्य र पूर्वाधार, व्यापार र पारवहन, उर्जा र जलस्रोत, संस्कृति र शिक्षाका विविध पक्षमा बृहत्तर समीक्षा गरिएको बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठकमा विगतमा भएका सहमतिलाई चाँडै टुंग्याइनेछ, अध्ययन गरिनेछ, पूर्णता दिइनेछ भन्ने खालका देखावटी सहमति भएका छन् ।

नेपाल र भारतबीचको सहकार्यमा चालू रहेका द्विपक्षिय परियोजनालाई द्रुत कार्यान्वयनमा लैजाने सुनिश्चितताका लागि संयुक्त अनुगमन संयन्त्रको बैठक आगामी एक महिना भित्र बस्ने सहमति बैठकले गरेको छ । संयुक्त अनुगमन संयन्त्रमा भारत सरकारका तर्फबाट काठमाडौस्थित भारतीय राजदूत रंजित रे र नेपालका तर्फबाट परराष्ट्रसचिव शंकर दास बैरागी रहने सहमति यसअघि नै भइसकेको छ ।

सहमतिका बुँदा
१. महाकाली परियोजना जोड्ने सडकहरु, महाकाली पुल र सिंचाई परियोजनाका लागि भारतले सन् २०१४ मा घोषणा गरेको सहुलियतपूर्ण ऋण उपयोग हुने ।
२. हुलाकी राजमार्गको पहिलो चरणलाई चाँडै पूर्णता दिइने ।
३. हुलाकी राजमार्गको दोश्रो चरणका लागि सहुलियतपूर्ण ऋणको उपयोग गरिने ।
४. चालू विराटनगर-जोगबनी र बर्दिवास-बिजलपुरा-जयनगर सीमापार रेलवे परियोजनालाई चाँडै टुंगो लगाइने । नेपालगंज—नेपालगंज रोड, काँकडभिट्टा-न्यू जलपाईगुडी र भैरहवा-नौतनवा सीमापार रेलवे परियोजना चाँडै शुरु गरिने ।
५. वीरगंजमा एकीकृत सुरक्षा जाँच चौकीको निर्माण चाँडै सम्पन्न गर्ने । विराटनगरमा एकिकृत सुरक्षा जाँच चौकी निर्माणको काम चाँडै सुरु गर्ने ।
६. हेटौँडा पोलिटेक्निक चाँडै संचालनमा ल्याइने ।
७. भारतले नेपालको पुर्ननिर्माणका लागि उपलब्ध गराएका अनुदान र ऋण सहायताको उपयोगका लागि परियोजनाहरुलाई अन्तिम रुप दिइने ।

सँगै बैठकमा नेपाली पक्षले भारतले नेपाली वस्तुको आयातमा लगाउने गरेका अतिरिक्त शुल्क तथा करहरु, परिमाणात्मक प्रतिबन्धहरु र रुल्स अफ ओरिजिन सम्बन्धि समस्याहरु सम्बोधन गर्न भारतीय पक्षलाई आग्रह गरेको थियो । नेपालको गुणस्तर तथा नापतौल विभाग र भारतीय गुणस्तर तथा नापतौल बिभागबीच एक समझदारीपत्रमा हस्ताक्षर गर्न दुवै पक्षबीच सहमति भएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा नेपाली पक्षले जनकपुर, भैरहवा र नेपालगंजबाट तिनवटा अतिरिक्त हवाई मार्गहरु उपलब्ध गराउन भारतलाई अनुरोध गरेको थियो । संयुक्त आयोग बैठकले दुवै देशका नागरिक उड्डयन संग सम्बन्धित निकायलाई यही डिसेम्बर महिना भित्र बैठक गर्न निर्देशन दिएको छ ।

नेपालको पर्यटन प्रबर्धनका लागि भारत घुम्न आउने तेश्रो देशका पर्यटकलाई नेपाल सहज रुपमा प्रवेश गर्न र यहाँ घुम्नका लागि मल्टिपल भिसा उपलब्ध गराउने व्यवस्था मिलाउन भारतीय पक्षसंग अनुरोध गरेको छ ।

नेपालले सन् २०१४ मा हस्ताक्षरित उर्जा व्यापार सम्झौता अनुशार विद्युत्को स्वतन्त्र बजार सम्बन्धि व्यबस्था कार्यान्वयनमा ल्याउन गरेको आग्रहमा भारतीय पक्षले विद्युत् व्यापार सम्बन्धमा नयाँ सीमापार नियमावली र निर्देशिका ल्याउने तयारी गरिरहेको र नेपाललाई त्यसबारे चाँंडै जानकारी गराउने बताएको थियो ।

नेपाल र भारतले पंचेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को प्रारम्भिक मस्यौदाको अध्ययन गर्ने र अन्तिम रुप दिने काम अघि बढाउने भएका छन् । गण्डक सम्झौता अनुशार नेपालले सिंचाई सुबिधा पाउन नसकिरहेको बिषयमा पनि बैठकमा छलफल भएको थियो । यस सम्बन्धमा नेपालले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी उपलब्ध गराउनेछ ।

भारत र नेपालले एक संयुक्त विज्ञ कार्यदल गठन गर्ने र त्यसले गण्डकबाट नेपालले पाउनुपर्ने सिंचाई सुबिधा सुनिश्चितताका लागि देखिएका समस्या पहिचानका लागि एक प्रतिवेदन दिने सहमति दुवै देशबीच भएको छ ।

महाकाली परियोजना अनुसार नेपालले पानी पाउन नसकेको बिषयमा नेपालले बैठकमा कुरा उठाएको थियो । नेपालले टनकपुर ब्यारेजमा अवस्थित लिंक क्यानल र हेड रेगुलेटरको निर्माण चाँडै सम्पन्न सम्पन्न गरी नेपालर्फ पानी प्रवाहका लागि सहज बनाउन गरेको आग्रहमा भारतीय पक्षले त्यस बारेमा प्रतिवेदन चाँडै टुंगिने जवाफ दिएको थियो ।

महाकाली नदी अन्र्तगत सिर्स, झुलाघाट र दार्चुलामा मोटर गुड्ने पुल निर्माणका लागि नेपालले राखेको प्रस्तावमा भारतीय पक्षले ठोस प्रस्ताव लिएर आउन नेपाललाई आग्रह गरेको छ ।

संयुक्त आयोगको पाँचौँ बैठक काठमाडौमा बस्ने तय भएको छ । यद्यपी मिती भने आपसी सहमतिमा तय हुने भएको छ । सन् १९८७ मा गठित उक्त आयोगले नेपाल र भारतबीचका सबै द्विपक्षीय बिषयको समीक्षा गर्ने म्यान्डेट पाएको छ । परराष्ट्र मन्त्री महतले बिहीबारै भारतीय गृहमन्त्री राजनाथ सिंहसँग पनि भेटेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.