तिहारका बेला दाइ नै बोलेनन्

तिहारका बेला दाइ नै बोलेनन्

तेस्रोलिंगीको रूपमा पहिचान बनेपछि पहिलोपटक घर फर्केकी छन् मिस पिंक एनी लामा । यसपटक तिहार मनाउन एक साताअघि विराटनगरको तिथ्रास्थित आफ्नो घर पुगेकी हुन् उनी । २४ वर्षीया एनीलाई तराईको तिहार रमाइलो लाग्छ । 'घर नआएको चार वर्ष भइसकेको थियो । यसपटक तिहारका अवसरमा घर आएकी हुँ', एनीले भनिन् ।

तेस्रोलिंगी समुदायको प्रतिनिधित्व गर्ने एनी अरूले भन्दा फरक तरिकाले तिहार मनाउने सोचमा छिन् । उनका अनुसार तेस्रोलिंगी पहिचान नखुलाएका साथीहरू पनि एकआपसमा मिलेर तिहार मनाउँछन् । शुभकामना आदानप्रदान गर्छन् । लक्ष्मीको पूजा गर्छन् । सबैजना एकै ठाउँमा जम्मा भएर खाने, देउसी, भैलो खेल्ने गर्छन् । तर एनीको बुझाइमा यसमा खासै रमाइलो हुँदैन ।

'तिहारमा भाइटीका पनि गर्छन् ।दाजुभाइ, दिदीबहिनी भनिएको हुन्छ तर हामीलाई समाजले स्वीकारेको हुँदैन', एनीले भनिन्, 'जसलाई समाजले स्वीकारेको हुँदैन, उनीहरूसँग के भाइटीका लगाउने भनेर मैले कसैलाई पनि टीका लगाएको छैन ।' उनको अनुभवमा दाजुभाइ, दिदीबहिनी त भन्छन् तर टीका लगाउने खालको सम्बन्ध बनाउन कोही चाहँदैनन् । तेस्रोलिंगीलाई समाजले घृणा गरिरहेको छ ।

समाजले जेजस्तो गरे पनि उनको घरमा भने उनलाई स्वीकारेको एनीको भनाइ छ । 'घरमा मम्मीले सुरुमा चित्त दुखाउनुभयो । आमालाई त आफे सन्तान जेजस्तो भए पनि माया लागिहाल्छ नि', उनले भनिन्, 'तर परिवारमा सँगै बस्ने दाइहरू भने मसँग बोल्नुहुन्न । त्यसैले दिदीबहिनीसँगै तिहार मनाउने योजना बनाएको छु ।' तर दाइ नबोले पनि आफूलाई फरक नपर्ने उनको भनाइ छ ।

'नागरिकता, पासपोर्टका लागि मात्रै होइन, पहिचान र अधिकारका लागि लडेको मान्छे म', एनीले थपिन्, 'दाइहरू चाहन्थे, मैले लिंग परिवर्तन नगरूँ । पहिचान नखुलाओस् । तर सानो भइन्जेल पो म को हुँ भन्ने थाहा थिएन । थाहा पाएपछि त पहिचान खोज्नु स्वाभाविक हो नि ।'

 

तिहार मान्न घर आएका बेला दाइहरू नबोलेकाले उनलाई अलि खल्लो भने लागेको छ । आफूले पहिचान लुकाएर एउटी केटीसँग विवाह गरेको भए त्यो केटीको जिन्दगी बर्बाद हुने उनको बुझाइ छ । 'यो कुरो समाजले बुझ्दैन । यस्ता कुरा मजस्ता मान्छेले लुकायो भने समाज कसरी परिवर्तन हुन्छ ? ', उनको प्रश्न छ ।

यसपालिको तिहारमा रंगोली बनाउन, देउसीभैलो खेल्न घर फर्केको उनी बताउँछिन् । 'काठमाडौंका साथीहरूसँग खासै समय हुँदैन तर यहाँ स्कुल कलेजका साथीहरू भएकाले रमाइलो हुन्छ', उनी कारण खुलाउँछिन् ।

एनी लामाको आनीबानी बच्चादेखि केटीको जस्तै भएकाले सबै कुरा साथीहरूले सजिलै लिए । तर, छिमेक र समाजले यसो भन्यो उसो भन्यो भनेर आमाले सुनाउँदा उनलाई नरमाइलो लाग्छ । फेसन डिजाइनसम्बन्धी कोर्स गर्दै गरेकी एनीले समाजमा पहिचान खुलाएका नखुलाएका सबै तेस्रोलिंगीलाई दीपावलीको शुभकामना दिएकी छन् ।

उनको विचारमा कसैले तेस्रोलिंगी भएकै कारण हेप्ने, हेला गर्ने गरेको भए चाडपर्वले नजिक बनाउनसक्छ । सम्बन्ध सुमधुर बनाउन सहयोग गर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.