विदा दिने निर्णय मैलै एक्लै गरेको होइन : प्रचण्ड
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट निलम्बित लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न दलहरु एकै ठाउँमा उभिने दाबी गरेका छन्।
उनले प्रमुख तीन दलबीच कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने विषयमा सहमति भएको पनि बताए।शुक्रबार बिहान संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले भने,‘ महाअभियोग आफैमा नकारात्मक विषय हो। लोकमान प्रकरणमा तीन दलबीच सहमति बनेको छ। यसबारे मधेसबादी दलहरु पनि सकारात्मक छन्। यसलाई जसरी भएपनि सकारात्मक निष्कर्षमा पुर्याउँछौं।’
प्रधानमन्त्री प्रचण्डले दलहरुबीचमा फाँटो आउने अवस्थामा पनि विद्यार्थी संगठनबीचको एकताले आफूहरुलाई सकारात्मक बल प्रदान गर्दै आएको बताएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए।
‘तपाईहरु(विद्यार्थी संगठन)को एकताले दलहरुलाई एकठाउँमा उभिन बल पुर्याउँदै आएको छ।यो एकताले मलाई खुशी तुल्याएको छ,’प्रधानमन्त्री प्रचण्डको भनाई उदृत गर्दै लामिछानेले भने।
फरक प्रसंगमा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउँदा दिइएको सार्वजनिक विदा सवैको सहमतिमा निर्णय गरिएको बताए। उनले भने,‘मैले नै एकलरुपमा बिदा दिएको जसरी हल्ला भएको छ। सबैसँग छलफल गरेर निर्णय गरिएको हो। अहिले निर्णय भइसक्यो बरु पछि समिक्षा गर्न सकिन्छ। विदा दिने निर्णय मैले एक्लै गरेको होइन। सबैसँग परामर्श र छलफल भएको छ।'
कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोग प्रस्ताव पारित गर्न दबाब दिँदै आएको संयुक्त विद्यार्थी संगठनको टोलीले शुक्रबार प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्डलाई भेटेको हो। यसअघि विद्यार्थी संगठनको संयुक्त टोलीले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती मगर लगायतलाई भेटेर कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्न दबाब दिएको थियो।