नेपालीको ‘ब्लाक क्याप

नेपालीको ‘ब्लाक क्याप

काठमाडौः ‘मसँग अझै समय बाँकी छ । यो अवधिमा हन्डेड पर्सेन्ट दिएर मेहनत गर्छु । एक दिन ‘ब्लाक क्याप' बनेरै छाड्छु', यसो भन्दै गर्दा हँसिलो उनको अनुहारमा झनै चमक देखिन्थ्यो । उनको आत्मविश्वासले हामीलाई पनि उत्साहित बनायो ।

अन्तर्राष्ट्रिय क्रिकेटको एक शक्तिराष्ट्र न्युजिल्यान्डको राष्ट्रिय टोलीका सदस्यका लागि प्रयोग गरिने उपमा ‘ब्लाक क्याप' प्राप्त गर्न जोकोहीलाई सम्भव छैन । नेपाली युवाका लागि त त्यो परको विषय हो । जन्मेको १५ महिनामै न्युजिल्यान्ड पुर्‍याइएका अनुभव थापा यस्ता युवा हुन्, जसले त्यो अवसर पाएका छन् । उनीसँग अन्तर्राष्ट्रिय खेलकुदमा नेपाली प्रतिभालाई चिनाउने सम्भावना छ ।

छोटो बिदामा जन्मभूमि नेपाल आएका अनुभव अन्नपूर्ण मिडिया नेटवर्कको नवौं तलामा प्रायः सबैका लागि असम्भव मानिने त्यही ब्लाक क्याप सपना हामीलाई सुनाउँदै थिए । उनले आफ्नो उद्देश्य र योजनाको दायरा पनि बुझेका छन्, ‘ब्लाक क्याप बन्न सजिलो छैन ।

त्यसमाथि हामी जस्तो गैरआवासीयलाई मुस्किल छ । तर त्यसका लागि कुनै कसर बाँकी राख्दिन । त्यति गर्दा पनि ब्लाक क्याप बन्न सकिन भने म दुःखीचाहिँ हुन्न । किनकि त्यसका लागि मैले १०० प्रतिशत मेहनत गरेको हुँ भन्ने मलाई थाहा छ', उनले भने ।

अनुभव न्युजिल्यान्डको क्रिकेट धानेको अकल्यान्डको क्रिकेटबाट खारिएका प्रतिभा हुन् । उनी अकल्यान्डबाट न्युजिल्यान्डको यू-१७ र यू-१९ राष्ट्रिय च्याम्पियन मात्रै बनेनन्, इङ्ल्यान्डमा समेत पुगेर काउन्टीभित्रको प्रतियोगिता खेल्ने अवसर पाए । अनुभव सन् २०१३ मा यू-१७ तथा सन् २०१४ मा यू-१९ राष्ट्रिय च्याम्पियन बनेका थिए ।

१० वर्षको उमेरमा केन्द्रीय अकल्यान्डको एल्लर्सली क्रिकेट क्लबमा आबद्ध उनी त्यसयता अकल्यान्ड क्रिकेटको विभिन्न संरचना हुँदै यू-१७ र यू-१९ को राष्ट्रिय च्याम्पियन बनेका हुन् । अकल्यान्ड निकै बलियो क्रिकेट संरचना भएको सहर हो । ‘केन्द्रीय अकल्यान्डको टोलीमा पर्न पनि विभिन्न प्रतियोगिता र छनोट चरण पार गर्नुपर्छ । त्यसपछि अकल्यान्ड स्तरीय क्रिकेट प्रतियोगितापछि मात्रै टोलीमा पर्न सकिन्छ', अनुभव भन्छन् ।

उनले अकल्यान्ड स्तरीय यू-१४, यू-१५ र यू-१६ को प्रतियोगिता समेत खेले । तर अकल्यान्डमा यू-१७ देखि मात्रै राष्ट्रिय प्रतियोगिता आयोजना हुन्छन् । त्यसभन्दा कम उमेरका राष्ट्रिय प्रतियोगिता क्लबहरू मिलेर आयोजना गरिने हुन् ।

तिनै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकै आधारमा अनुभवले न्युजिल्यान्डबाट इङ्ल्यान्डको हर्टफोर्डसायर काउन्टीभित्रको क्रिकेट खेल्ने अवसर पाए ।

उनी ब्रोक्स बर्न क्रिकेट क्लबका लागि एक्लो विदेशी खेलाडीका रूपमा अनुबन्ध भएका थिए । वेस्ट इन्डिजका पूर्वक्रिकेटर टिनो बेस्टलगायत अन्य देशका नाम चलेका खेलाडी सहभागी प्रतियोगितामा समेत अनुभवले उत्कृष्ट प्रदर्शन दिए । ६ महिनाका लिग खेलेका जेन्युन अल राउन्डर अनुभवले टोलीका लागि ४८ विकेट लिँदै दुई सय ८० रनसमेत जोडेका थिए । सोही क्रममा उनी प्लेयर अफ द विकसमेत घोषित भएका थिए ।

इन्टरटेनमा भेटिएको उनको रेकर्डअनुसार प्रतियोगिताका क्रममा टिनो बेस्टको टोली एम्टहिल टाउनबाटविरुद्ध उनले उत्कृष्ट प्रदर्शन दिएका थिए । उनले नै पाँच विकेट लिएपछि असम्भव अवस्थामा पुगेको खेललाई ब्रोक्स बर्नले आफ्नो पक्षमा पारेको थियो । त्यही प्रतियोगितामा कुनै समयका उत्कृष्ट तीव्र गतिका बलर टिनो बेस्टको बलिङमा समेत उनले ब्याटिङ गरे । वेस्ट इन्डिजका पूर्वब्याट्सम्यान किर्क इड्वार्डस् तथा इङ्ल्यान्डका पूर्वक्रिकेटर मोन्टी पानेसरविरुद्ध पनि खेले ।

ट्रेनिङका क्रममा न्युजिल्यान्डका पूर्वकप्तान ब्रेन्डन म्याककुलम तथा पाकिस्तानी क्रिकेटर मोहम्मद हाफिजलगायतलाई समेत बलिङ गरिसकेका अनुभव नेपालका लागि पनि खेल्न इच्छुक रहेको सुनाउँछन् । ‘मैले राम्रो वातावरणमा क्रिकेट सिक्ने अवसर पाएँ', अनुभव भन्छन्, ‘मेरो योजना कुनै पनि अवस्थामा ब्लाक क्याप बन्ने हो । त्यसैले न्युजिल्यान्ड छाडेर त आउँदिन । अवसर पाएको अवस्थामा नेपालबाट पनि खेल्ने इच्छा पूरा गर्नेछु ।'

नेपाली क्रिकेटबारे भर्खरै जानकारी बटुल्न थालेका अनुभव सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टीट्वेन्टी विश्व कप खेलेपछि शून्यतातर्फ फर्किएको नेपाली क्रिकेटलाई फेरि त्यसतर्फ फर्काउन आफूले योगदान पुर्‍याउने बताउँछन् । ‘पहिलोपटक मैले बंगलादेश विश्वकपका क्रममा नेपाली क्रिकेटबारे सुनेको थिएँ ।

नेपाल विश्वकपको अघिल्लो चरण खेल्दै थियो । तर न्युजिल्यान्डमा समेत केही नेपाली नेपालले विश्वकप जितेजस्तै गरी खुसियाली मनाउँदै थिए', अनुभव सुनाउँछन्, ‘मैले नेपाली क्रिकेटबारे बुझेको धेरै भएको छैन । तर मलाई नेपालीको क्रिकेट क्रेज थाहा पाएको छु । मसँग अनुभव छ । त्यो अनुभवले आफ्नो देशको क्रिकेटलाई फेरि पुरानै खुसियालीमा फर्काउन सक्छु कि ? '

अकल्यान्डले आफ्नो यू-१७ र यू-१९ टोली छनोटका लागि सन् २०१४ बाट विशेष प्रक्रियामार्फत छनोट भएका १२ प्रतिभाशाली खेलाडीलाई विशेष प्रशिक्षणको कार्यक्रम डेभेलपिङ फ्युचर एसेस (डीएफए) सुरु गरेको छ । सो कार्यक्रमअन्तर्गत दुई वर्ष छनोट भएका खेलाडीलाई विशेष प्रशिक्षण दिइनेछ । अनुभव पनि उक्त कार्यक्रममा परेरका छन् । सानै उमेरमा उनले आफ्नो क्रिकेट करियर अघि बढाउन प्रायोजकसमेत पाइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.