रगत अभाव
मुलुकका अत्यधिक, आधुनिक र सुविधासम्पन्न अस्पताल राजधानीमा छन् । सानो हिस्सा तुलनात्मक रूपमा सुविधा र भौतिक पूर्वाधारसम्पन्न आधादर्जन भन्दा कम सहरी क्षेत्रमा सीमित छन् । फेरि पनि सक्नेहरू संकटमा पर्दा अथवा राम्रो उपचारको आसमा ऋण नै काढेर भए पनि काठमाडौं पुग्ने गर्छन् । अर्कोतिर अधिकांश ग्रामीण महिलामा रक्तअल्पताको समस्या रहेको तथ्यहरूले देखाउँछन् ।
गम्भीर प्रकृतिका र शल्यक्रियामार्फत उपचारका मामिलामा ‘रगत' को आवश्यकता पर्ने हुनाले ‘ल्बड बैंक' स्थापना भएका छन् राजधानी र बाहिर पनि । रेडक्रसद्वारा सञ्चालित रक्त केन्द्रहरूले ‘रक्तदान' द्वारा निकै समयसम्म आवश्यक सेवा दिँदै आएका छन् । तर अहिले बिरामीको चाप, त्यही अनुपातमा शल्यक्रिया अनि बढी संख्यामा बच्चा अस्पतालमा जन्माउने आमाहरू भर्ना हुने हुँदा रगतको आवश्यकता तथा माग र आपूर्तिका बीच अन्तर बढ्न गएको छ ।
तर विगत केही दिनदेखि काठमाडौंका अस्पतालहरूमा भर्ना हुनेहरूको सबभन्दा ठूला आसाको केन्द्र ‘केन्द्रीय रक्त सञ्चार केन्द्र' रगतको चरम अभावको अवस्थामा छ । त्यसको प्रत्यक्ष मार बिरामीमा पर्छ र कतिपय मामिलामा समयमा शल्यक्रिया नहुँदा उनीहरूको ज्यान थप जोखिममा परेको छ । अर्कोतिर शल्यक्रियाको समय लम्बिँदा बिरामीका आफन्तमा थप आर्थिकबोध बढ्न गएको छ । यो संवेदनशील मानवीय समस्या हो र अमूल्य मानव जीवन रक्षामा समाज आफ्नो दायित्वबाट वञ्चित हुन सक्दैन ।
केन्द्रलाई खराब व्यवस्थापनका लागि दोष दिन सकिन्छ, केही हदसम्म सत्यता हुन सक्छ त्यसमा । तर त्यो एकमात्र कारण हैन अहिले रगतको अभावका लागि । स्वयंसेवी ‘स्पिरिट' र आचरण, अनि अर्काको जीवन रक्षालाई आफ्नो दायित्व मान्ने जमात तयार नहुँदासम्म रगत दिन कमै व्यक्ति तयार हुने गर्छन्, आफन्तहरूलाई दिनैपर्ने अवस्थामा बाहेक ।
सेवाभाव नहुँदा व्यावसायिक तथा तत्काल आर्थिक लाभका लागि गुणस्तरहीन रगत बेच्ने गरेका घटना पनि प्रशस्त हुने गरेका छन् । पक्कै पनि बिरामीका आफन्तले सकेसम्म रगतको जोहो गर्ने व्यवस्था हुँदा त्यसले ‘बिरामी' लाई परनिर्भरता र अनिश्चिततामा धकेल्दैन ।
तर त्यो सम्भव नभएको अवस्थामा रक्तदान निरन्तरता र रक्तदाताले सम्मान पाउने अवस्था सिर्जना गर्नु पनि त्यत्तिकै आवश्यक छ । रगत दान कति समयको अन्तरमा हुँदा राम्रो हुन्छ र त्यसले स्वास्थ्यमा कस्तो प्रभाव पार्छ, यी सबै विषयबाट रेडक्रससँगै स्कुल पाठ्यपुस्तकमा ‘पाठ' समावेश गरिएमा त्यसले अरूको जीवन रक्षामा युवा तथा विद्यार्थीलाई प्रोत्साहित गर्ने छ । त्यस्तै बराबर रक्तदान गर्नेहरूलाई सरकार र समाजका विभिन्न निकाय तथा अस्पतालहरूले समेत सम्मान गर्न थालेमा त्यसले धेरैलाई प्रोत्साहित गर्ने छ ।
रक्तदान गर्नेहरूको संख्या मुलुकमा कम छैन, तर उनीहरूको व्यवस्थित र व्यापक सञ्जाल नहुँदा अनि अरूको जीवन रक्षामा उनीहरूको योगदानलाई समाज र सरकारले उचित कदर गर्न नसक्दा पनि अहिलेको अभावको स्थिति उत्पन्न भएको हो । त्यो सँगसँगै ब्लड बैंक सञ्चालन गर्ने रेडक्रसले अभाव हुनुअघि नै नियमित अपिल जारी गर्दा यस्ता समस्याको समाधान समयमै हुनेछ ।
साथै ठूलो ‘कर्पोरेट कार्यालय' र मानवीय संगठनहरूको ‘रेटिङ ' तथा उनीहरूलाई सरकारले दिने सुविधाको एउटा आधार उनीहरूको संस्थाद्वारा या मार्फत गरिने ‘रक्तदान' लाई बनाइयो भने त्यसले पनि वर्तमान समस्याको समाधानमा सहयोग पुर्याउने छ ।