दीपावलीभित्रको प्रकाशको बोध
हाम्रो संस्कृति हाम्रो पहिचान हो । हाम्रो पहिचानले जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो कर्तव्यबोध र आफू,छु या हुनुबाट बिचलित बनाउन सक्दैन । राजनीतिक उतारचढाव,देशको विषम परिस्थिति र प्रभावबाट गुज्रिँदै गर्दा पनि आफ्नो संस्कृति, पहिचान, पर्व र मूल्यमान्यताबाट हामी अलग भएका छैनौं ।
सबै परिस्थितिलाई सकारात्मकरूपबाट ग्रहण गर्दै संयमित रूपमा दसैं मनाएर शुभ दीपावलीको प्रतिक्षामा छौं । मनसुनले पनि आफ्नो उतारचढावबाट वि श्राम लिएर शरद ऋतुको मौसम, न जाडो,न गर्मी, शान्त शीतल वायुको प्रवाह । वायुमण्डलमा प्रदूषणको कमी, स्वच्छ, सफा वातावरण त्यसै पनि उत्सवमय बनेको प्रकृति यसैमा समाहित भएर आएको छ दीपावलीको पर्व ।
दीपावली वर्षमा एकपटक आउने पाँच दिनको पर्वमा मात्र सीमित नभइकन यसले मनुष्य,जीवन र जगतको तादात्म्यतालाई अरू गहिराइमा लिएर जान इशारा गरेको हुन्छ । दीपावलीले पाँच दिन घर झिलिमिली पार्ने सन्देश मात्र दिएको छैन । हरेक वर्ष दीपावली आउँछ,घर झिलिमिली पार्छौं, शुभकामना आदानप्रदान गर्छौ,पाँच दिनको छुट्टी मनाउँछौं अनि बाँकी ३६० दिन हामी फेरि व्यस्त र अन्धकारमय जीवनतिर धकेलिन्छौं थाहा पाएर या थाहा नपाईकन । दीपावली बत्तीको चाड मात्र होइन । सन्त महावीरले बुद्धत्व प्राप्त गरेको दिन दीपावली भनेर उल्लेख गरिएको पाइन्छ । दीपावलीले हामीलाई त्यो गहिराइको अनुभूति दिलाउन खोजेको हुन्छ, त्यो स्थितिमा लैजान खोजेको छ ।
हामीले हाम्रो मौलिक गुण बिर्सेर, आफूलाई बिर्सेर र संसारकै भागदौडमा बेहोसीपूर्वक व्यस्त हुँदा ‘अप्पदिपो भव’ को मर्मलाई आत्मसात गर्ने जरुरी नै सम्झेनौं । हामीले बुझिसकेको, देखिसकेको र जानिसकेको अवस्था हो संसारमा रहिन्जेल, कर्मयोगमा व्यस्त हुँदा संसारको भागदौडको सामना गर्नैपर्छ । तर जो व्यक्तिले संसारको भागदौडमा पनि आफ्नो याद गरेको हुन्छ त्यो नै वर्षभरिका ३६५ दिनलाई दीपावली र उत्सवमय बनाउन सफल हुन्छ ।
हाम्रा चाडपर्व र संस्कृतिले कुनै कठिन परिभाषा र चलन दिएका छैनन् । हरेक ऋतु, हरेक पर्व र हरेक संस्कृतिले आफूलाई नबिर्स, कर्मयोगको बीचमा आफूभित्र पनि हेर । बाहिरको दीपले कहिलेसम्म तिमीमा प्रकाश छर्न सक्छ ? तिमी स्वयं जाग । आफ्नोभित्र नियाल । त्यहाँ तिम्रो दीप जलिरहेको छ ,त्यहाँ होश छ,त्यहाँ शान्ति छ ,त्यहाँ आनन्द छ । बाहिरको संसारमा कोलाहल, भागदौड, लोभ, मोह, ईष्या,द्वेष मात्र छ किनकि त्यो संसार हो । संसारमा कोही पनि व्यक्ति जाग्न सक्दैन यदि त्यो कोलाहलमा पनि जाग्न सक्यो भने त्यो महान व्यक्ति हो,स्वयं जागृत व्यक्ति हो यही सामान्य सन्देश हाम्रा चाडपर्व, ऋषिमुनीहरूका उद्गारबाट व्यक्त भएका हुन् ।
आज हाम्रो जीवनमा आएको दुःख र असहजता अनि राष्ट्रले भोग्नुपरेको कष्टकर परिस्थिति करुणा, मैत्री, अहिंसा र प्रेमको अभावको कारण हो । प्रेम र करुणाको दीप प्रत्येक व्यक्तिभित्र जाग्न सकेमा मात्र नेपाल राष्ट्र मात्र होइन विश्वभर मनुष्यजाति खुसी, सुखी र आनन्दित रहन सक्दछन् ।
तर मानिस विचारको धनी भएकोले सामान्य कुरा छोडेर कठिन यात्रामा संसार जित्न दौडेको छ । विचारले रमनले जताजता लैजान्छ त्यतैत्यतै दौडिरहेछ, उसलाई एकछिन पनि स्वयंतिर फर्केर हेर्ने फुर्सद छैन । करुणा, मैत्री (मैत्रेयी ), मुदिता (प्रशन्नता ), उपेक्षा (नराम्रो चिज, पाप कर्म लाई जहाँको त्यहीं छोडिदिने, आफूले वास्ता सम्म नगर्ने ) जस्ता सूत्रलाई जीवनको मन्त्र बनाउने इशारा गरेका थिए हाम्रा सन्तहरूले, हाम्रा संस्कृतिले ।
तर हामीले वास्तविकता र जे कुरो हामीलाई सिक्नु र अवलम्बन गरेर उत्सवमय जीवन बिताउनु थियो त्यो सूत्र नै ख्याल गरेका छैनौं । हाम्रा जीवन जिउने सूत्र हामीले आत्मसात गरेका छैनौ त्यसैले जति पर्व आएर गए पनि हाम्रो जीवनमा दुःखको अनुभूति, सिकायत फेरि उस्तै नै रहन्छ । राजनीतिक मोहले पदीय मोह बढ्नु, आफ्नो मात्र स्वार्थ देख्नु ,सामान्य व्यक्तिको दैनिक जीवनको अवमूल्यन गरिनु प्रेम र करुणा अनि भित्री दृष्टिको कमीको कारण हो ।
मनुष्य आध्यात्मिक गुणले सम्पन्न प्राणी हो । आध्यात्मिक गुण त्यो गुण हो जुन बेला जे परिस्थिति आउँदा पनि शान्ति,करुणा र अहिंसालाइ ख्याल गरेर कर्म गर्न प्रेरित गरेको हुन्छ । प्रेम र करुणा घटित भएपछि व्यक्ति शान्त, दयालु, प्रेमल र स्वयंभित्र नियाल्न सक्ने बन्छ । बाहिरको सम्पन्नतामा क्षणिक रमाउने व्यक्ति अब भित्र देख्न सुरु गर्दछ । भित्र धनी, गरिब, सानो–ठूलो,मेरो भन्ने भेदभाव हुँदैन । सबैलाई समान देख्ने गुणको विकास हुन्छ यही नै आध्यात्मिकता हो ।
ध्यानको माध्यमबाट मात्र जीवन ऊर्जा सकारात्मक दिशामा प्रवाहित हुन्छ र सकारात्मक जीवन ऊर्जाको उपयुक्त व्यवस्थापनबाट मात्र व्यक्तिले गतिशीलता, प्रेम एवं गहिरो तृप्तिको अनुभूति गर्न सक्छ उसको जीवनमा वर्षभर नै उत्सव र पर्व मनाउनुको औचित्य रहनेछ ।
ध्यानबाट मात्रै व्यक्ति आफूभित्रबाटै रूपान्तरित हुन्छ र जीवनभर सिर्जनशील एवं निर्माणमुखी काममा प्रेरित हुन्छ अध्यात्मलाई केन्द्रमा राखेर जीवन सूत्रको अवलम्बन गर्ने हो भने न व्यक्ति न त राष्ट्र नै असहजतामा जान्छ । आज हाम्रो जीवनमा आएको दुःख र असहजता अनि राष्ट्रले भोग्नुपरेको कष्टकर परिस्थिति करुणा, मैत्री, अहिंसा र प्रेमको अभावको कारण हो । प्रेम र करुणाको दीप प्रत्येक व्यक्तिभित्र जाग्न सकेमा मात्र नेपाल राष्ट्र मात्र होइन विश्वभर मनुष्यजाति खुसी, सुखी र आनन्दित रहन सक्दछन् ।