आर्सनल उत्कृष्ट लयमा
लन्डनः आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको तालिकामा शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा आर्सनलले सन्डरल्यान्डलाई ४-0 गोलले हरायो ।
सन्डरल्यान्डको मैदानमा भएको खेलमा आर्सनलका एलेक्सिस सान्चेज र ओलिभर गिरोडले दुई दुई गोल गरे । आर्सनल सबै प्रतियोगितामा गरी १४ खेलयता अपराजित छ । यस यात्रामा उसले १२ जित र तीन बराबरीको नतिजा निकालेको छ ।
आर्सनल घरेलु लिगमा नौ खेलयता अपराजित छ । आर्सनल अन्तिमपटक घरेलु लिगमा लेस्टरसँग ४–३ गोलले पराजित भएको थियो । आर्सनल १० खेलबाट २३ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ ।
दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको नौ खेलबाट २० अंक छ । नौ खेलबाट २० अंक नै भएको लिभरपुल तेस्रो स्थानमा छ । नौ खेलपछि चेल्सी र टोट्टनहामको समान १९ अंक छ । दोस्रो हाफमा बराबरीमा फर्किएको सन्डरल्यान्डविरुद्ध आर्सनलले अन्तिम समयमा उत्कृष्ट प्रदर्शन गरेको थियो । सान्चेजले १९औं मिनेटमा भ्रमणकारी टोलीलाई अग्रता दिलाएका थिए ।
एलेक्स अक्सलेड च्याम्बरलिनको पासमा सान्चेजले गोल गरेका थिए । सन्डरल्यान्डले ६५औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो । सन्डरल्यान्डका जर्माइन डिफोएले पेनाल्टीमार्फत गोल गरेका थिए ।
तर, ७१औं मिनेटमा आर्सनलले पुन अग्रता लिएको थियो । यसपटक गिरोडले कायरन गिब्सको पासमा गोल गरेका थिए । त्यसको पाँच मिनेटपछि गिरोडले अग्रता दोब्बर बनाएका थिए । मेसुट ओजिलको पासमा उनले गोल गरेका थिए ।
एकपछि अर्को गोल गर्दै हावी भएको आर्सनलले ७८औं मिनेटमा गोल थप्दै खेलमा अग्रता ४–१ गोलले बढाएको थियो । सान्चेजले एरोन राम्सीको पासमा गोल गरेका हुन् । प्रतियोगितामा सर्वाधिक गोलकर्ताको सूचीमा सान्चेज शीर्ष स्थानमा रहेका चेल्सीका डिएगो कोस्टाभन्दा एक गोलले पछाडि छन् ।
चिलीलाई पछिल्ला दुई कोपा अमेरिकाको उपाधि जिताउन महŒवपूर्ण भूमिका खेलेका सान्चेजले जारी घरेलु लिगमा ६ गोल गर्नुका साथै तीन गोलमा एसिस्ट गरेका छन् ।