प्रहरी कार्यालयमा सामूहिक भाइटिका

प्रहरी कार्यालयमा सामूहिक भाइटिका

राजविराजः हिन्दुहरुको दोश्रो ठूलो पर्व तिहारको अन्तिम दिन घर जान नपाएका प्रहरीले मंगलबार जिल्ला प्रहरी कार्यालयमै सामूहिक भाइटिका लगाएर मनाएका छन् ।

बिदा नपाएर घर जान नपाएका जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरीहरुले राजविराजमा हर्सोल्लासका साथ श्रद्धा, आस्था र निष्ठाका साथ भाइटिका लगाएर मनाए ।

दिदीबहिनीले सामुहिक रुपमा सप्तरङ्गी टिका र सयपत्री फुलको माला लगाइ दिएर दाजुभाईको दिर्घायू र पदोन्नतीको कामना गरे भने दाजुभाईले सुरक्षा र स्वास्थ्यको प्रार्थना गरे । टीका लगाइदिएपछि प्रहरी दिदीबहिनीले प्रहरी दाजुभाईलाई सेलरोटी, दहीलगायतका खानेकुरा दिए र दाजुभाइले दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा दिई सम्मान प्रकट गरे ।

नेपाली मौलिक धर्म संस्कृतिको जगेर्ना गर्ने तथा घर जान नपाएकाहरुको न्यास्रोपन हटाउन सामुहिक भाइटिकाको आयोजना गरिएको प्रहरी उपरिक्षक भिमप्रसाद ढकालले बताए ।

ढकालका अनुसार कार्यक्षेत्रमै रहेर पनि आफ्नो धर्म, संस्कृति, परम्परा र रितीरिवाजको जगेर्ना गर्ने तथा रमाईलो जमघटसँगै गाउँघरको झल्को मेटाउने प्रयासस्वरूप कार्यक्रम गरिएको हो । भाइटिका समारोहपछि उनीहरुले सँगै खानपिन गरी देउसी भेलो गाउँदै नाचे ।

टिका समारोहमा सहभागी प्रहरीहरुले प्रहरी सेवामा प्रवेशपछि भाइटिका लगाउन नपाएको दुखेसो गरे । सोलुखुम्बु काकु २ का प्रहरी हवल्दार अर्जुन राईका दिदीबहिनी काठमाडौं र सुनसरीमा भएकोले जागिर खाएको १३ वर्षमा जम्मा एक पटक मात्र टिका लगाउन पाएको बताए ।

निधार खाली राख्नुभन्दा जहाँ बस्यो त्यहीं भाइटिका मनाएर दाजुभाई र दिदीबहिनी बिचको प्रेममय सम्बन्धलाई रंगहरु जस्तै सँधै गाढा, ताजा र प्रज्वल बनाउनु पर्ने सखुवासभा खाँदवारी ३ की प्रहरी सुनीता कार्की बताउँछिन् ।

उनले पनि जागिर खाएको चार वर्षमा टिका लगाउन पाएकी थिइनन् भने भोजपुर हेलाउछौ ७ की छिरिङ डोल्मा तामाङका दाजु मलेशियामा भएकाले तीन वर्षदेखि टिका लगाउन पाएकी थिइनन् । सुनसरी डुम्राहा ३ घर भएकी प्रहरी आशाकुमारी चौधरीका दाजु झापामा सशस्त्र प्रहरी बलमा कार्यरत भएकाले दुबैलाई विदा पाउन गाह्रो छ । दाजुभाई दिदीबहिनीबीच भेटघाट हुने अवसरका रुपमा रहेको भाइटीकामा नयाँ सम्बन्ध जोडन पाएकोमा चौधरीले खुशी व्यक्त गरिन् ।

उदयपुर जोगिदह ७ की प्रहरी बुनु दाहालकी दुई दाजुमध्ये एक जना इलाममा प्रहरी सेवामा कार्यरत र अर्का मलेशियामा रोजगार रहेकाले तीन वर्षदेखि टिका लगाउन पाएकी थिइनन् भने झापाको पृथ्वीनगर ३ घर भएका प्रहरी राजेश तामाङले पाँच वर्षदेखि टिका थाप्न पाएका थिएनन् ।

घर जान नपाए पछि पहिलो पटक उनीहरुले आफुसँगै कार्यरत प्रहरीहरुलाई दाजुभाई, दिदीबहिनी मानेर टिका ग्रहण गरे । झापा ज्यमिरगढी १ का राम सरेनकी तीन दिदीबहिनी झापाको केचना, घैलाडुब्बा र भारत विहारको किशनगञ्जमा छिन् । सुनसरीको इनरुवामा रहेकी मितदिदीकहाँ पनि जान नपाए पछि सरेनले पनि आफुसँगै कार्यरत प्रहरी दिदीबहिनीको हातबाट टिका थापे ।

देश र जनताको सेवामा गर्व गर्दै उनीहरु वर्ष दिनको चाडपर्व रमाइलो गरी मनाउनु पर्ने बताउँछन् । सप्तरङ्गी टीकामा रङ्गिविरङ्गी भावनाहरु मिसिएकाले टिका ग्रहणपछि मनमा शान्ति मिलेको उनीहरुले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.