सिनेमा उद्योगमा क्यूएफएक्सको क्रान्ति

सिनेमा उद्योगमा क्यूएफएक्सको क्रान्ति

काठमाडौः नकिम उद्दिन ताइवान पढ्दा मल्टिप्लेक्स धाउँथे । ताइपेज सहरको एउटा ब्लकमा झन्डै दुई सय मल्टिप्लेक्स थिए । व्यवस्थित हलमा हलिउड सिनेमा हेर्नुको मज्जा बेग्लै थियो । तर, पढेर फर्किँदा नेपालमा स्तरीय हल थिएनन् । सानोमा बुवा आमाको हात समाएर जाने हल पुराना र थोत्रा भइसकेका थिए ।

दुर्गन्धित हलमा कोच्चिएर सिनेमा हेर्नुपर्ने बाध्यता थियो । सिनेमा पनि ठोकठाक गरेर बनाएका गुणस्तरहीन हुन्थे । हलमा असभ्य भाषाको प्रयोग हुन्थ्यो । अंग्रेजी सिनेमा लाग्दैनथे । उद्दिनले विदेशको अनुभव लिन पाएनन् । उनी एकदिन श्रीमतिसँग सिनेमा हेर्न गएका थिए । इन्ज्वाए गर्न गएका दुवै जनाले नमिठो अनुभव लिएर फर्किनुपर्‍यो । ‘परिवारका स्त्री सदस्यसँग सिनेमा हेर्न नमिल्ने अवस्था थियो', उनी सम्झन्छन् । त्यो बेला कहिल्यै सिनेमा नेहेर्ने भन्दै निस्किएका थिए ।

तर, सिनेमाका सौखिन उद्दिन यत्तिकै बस्न कहाँ सक्थे र ! आफै सफा र व्यवस्थित हल बनाएर सिनेमा देखाउन कस्सिए । व्यवस्थित हलमा सिनेमा देखाउन सकियो भने अरुले पनि हेर्छन्, आफूले पनि हेर्न पाइन्छ भन्ने उनको सोचाइ थियो । नभन्दै भाष्कर ढुंगाना र राजेश सिद्धीसँग मिलेर २००१ देखि काम सुरु गरे । सेलुलाइड प्रविधिबाट सिनेमा देखाउन सुरु भएकोमा अहिले ‘फोर के' प्रविधि भित्रयाइसकेका छन् ।

क्यूएफएक्स सिनेमा चर्चित ब्रान्ड बनिसकेको छ । नेपालीका स्तरीय हलमा राम्रा फिल्म हुर्ने रहर पूरा भएको छ । उद्दिनको समूहले नयाँनयाँ प्रविधि भित्र्याएर अन्तर्राष्ट्रियस्तरका हल चलाइरहेको छ । नेपालमा मल्टिप्लेक्स कल्चर भित्र्याउने श्रेय पनि यही समूहलाई जान्छ । क्यूएफएक्सले नेपालीको फिल्म हेर्ने संस्कृति नै बदलिएको छ । स्वदेशमै विदेशी सिनेमा हेर्न पाइन्छ ।

नेपाली सिनेमा उद्योगमा क्यूएफएक्सले क्रान्ति नै ल्यायो । नेपाली सिनेमाको गुणस्तरमा व्यापक परिवर्तन भयो । नेपाली सिनेमा पनि ‘फोर के' क्यामेराबाट खिच्न थालियो । उद्दिन सम्झन्छन्, ‘सुरुवातमा यो व्यवसाय यती ठूलो होला भन्ने लागेको थिएन ।' अहिले सातवटा हलमा १५ वटा पर्दा सञ्चालनमा छन् । चितवन, नेपालगन्ज, पोखरा क्यूएफएक्स पुगिसकेको छ । कतिपय ठाउँमा विस्तारको तयारी भइरहेको छ । स्वदेशमा मात्र होइन, विदेशबाट समेत क्यूएफएक्सको माग हुन थालेको छ ।

यसरी सुरु भयो

उद्दिनको समूहले सबैभन्दा पहिला जय नेपाल हल भाडामा लिए । पुरानो हललाई रेनोभेट गरी सफा र व्यवस्थित बनाए । पहिलो सिनेमा ‘पाइडर म्यान' प्रदर्शन गरेको उनी सम्झन्छन् । त्यो बेलासम्म नेपालमा अंग्रेजी सिनेमाको नाम निसाना थिएन । एकाध चोरीका अंग्रेजी फिल्म देखाइन्थ्यो । ‘वैधानिक रूपमा रोयल्टी तिरेर अंग्रेजी सिनेमा देखाउने परिपाटी हामीले सुरु गरेका हौं', उनले भने । स्पाइडर म्यान चल्यो, त्यसपछि फिल्म चलेनन् । ६÷७ महिना सिनेमा नचलेपछि गलत व्यवसायमा हात हालेजस्तो लाग्यो । ‘तर, हिन्दी फिल्म देखाउन थालेपछि फर्किएर हेर्नु परेन', उनी भन्छन्, ‘व्यवसायले पिकअप लिन थाल्यो ।'

फिल्म देखाउन एउटा हलले पुग्न छोड्यो । एक÷एक हप्तामा नयाँ सिनेमा आउँथे । चलिरहेका फिल्म हटाएर नयाँ लगाउन नमिल्ने नियम थियो । त्यसपछि कुमारी हल भाडामा लिएर रेनोभेट गरी दुईवटा पर्दाको हल तयार गरियो । जय नेपालमा फिल्म रिलिज गर्ने र पुरानो भएपछि कुमारी सिफ्ट गर्न थालेको उद्दिन बताउँछन् ।

दुवै हलमा हिन्दी र अंग्रेजी सिनेमा चल्थे । ठोकठाक गरेर बनाइएका गुणस्तरहीन चलचित्रलाई प्रवेश थिएन । नेपाली सिनेमा पनि ठोकठाक गरेर बनाइन्थे । त्यही भएर इन्ट्री पाउँदैनथे । उद्दिनको समूहले सन् २००६ तिर हलमा सेलुलाइड प्रविधि हटाएर डिजिटल प्रविधि भित्र्यायो । त्यो बेला हलिउडले न्यूनतम ‘टु के' प्रविधि तोकिसेको थियो । अंग्रेजी फिल्म चलाउन ‘टु के' प्रविधिको हल चाहियो । यो प्रविधि निकै महँगो थियो ।

विस्तारै विश्वभर सिनेमा उद्योगमा ‘टु के' प्रविधि अपनाउन थालियो । विश्वव्यापी रूपमा प्रयोग हुन थालेपछि यो प्रविधि सस्तिँदै गयो । नेपालमा सन् २००८ मा ‘टु के' प्रविधि भित्राएको उद्दिन बताउँछन् । सिभिल मलबाट ‘टु के' प्रविधि भित्रियो । जय नेपाल र कुमारी हलमा पनि ‘टु के' प्रविधि राखियो । भर्खरै खुलेको पुल्चोकको लविम मलमा लेटेस्ट प्रविधि ‘फोर के' राखिएको छ ।

क्यूएफएक्स सुरुवात

सिभिल मलको मल्टिप्लेक्सबाट क्यूएफएक्स ब्रान्ड जन्मिएको हो । नकिमले सुरु गरेको पहिलो मल्टिप्लेक्स पनि यही हो । कमलपोखरीको सिटी सेन्टरमा तीनवटा पर्दा बन्दै थियो । हल चलाउन व्यवस्थापनले आग्रह गर्‍यो । ‘तर, अन्तिममा भारतको बीग मुभिजसँग सम्झौता गरेछ', उनी सम्झन्छन् । सिभिल मलमा पनि मल्टिप्लेक्स बनाइँदै थियो । ‘हामीले सिभिल मलसँग सम्झौता ग¥यौं, राम्रो आर्किटेक हायर गरेर डेकुरेसन गर्‍यौं', उनले भने ।

मल्टिप्लेक्स हल तयार भयो । तर, नाम के राख्ने ? यसअघि जय नेपाल र कुमारी चलचित्र मन्दिर राखिएको थियो । ‘मल्टिप्लेक्समा जाँदा नामको अभाव खड्कियो, प्रर्दशन व्यापार चिनाउने आफ्नै ब्रान्डको आवश्यकता भयो', उनले भने । सिभिल मलमा क्यूएफएक्स ब्रान्डबाट हल लञ्च भयो । त्यसपछि क्यूएफएक्स जय नेपाल र क्यूएफएक्स कुमारी हल नामाकरण भयोे । सबै हल क्यूएफएक्स ब्रान्डबाट चलाइरहेको उनको भनाइ छ ।

क्यूएफएक्समा सिनेमा चलाउन निश्चित शर्त बनाइयो । ‘ठोकठाक गरेर बनाइएका फिल्म प्रदर्शन गरेनौं', उनले भने, ‘क्यूएफएक्समा सिनेमा चलाउन ‘टु के' प्रविधिको क्यामेराबाट फिल्म खिच्नुपर्छ । यही शर्तका कारण अहिले नेपाली पनि ‘टु के' प्रविधिमा खिच्न थालिएको छ । नेपाली फिल्मको गुणस्तरमा धेरै सुधार आएको छ ।

उद्दिनले क्यूएफएक्स देशभर पुर्‍याउने लक्ष्य राखेका छन् । कतिपय ठाउँमा आफ्नै लगानी र कतिपय ठाउँमा फ्रेन्चाइज मोडलमा हल विस्तार गरिरहेको उद्दिनले बताए । ‘हल विस्तार गर्नु छ, सहुलियत ऋणको सुविधा छैन्, लगानी अभावले फ्रेन्चाइज मोडल रोज्यौं, अरुको भौतिक संरचनामा हाम्रो ब्रान्ड र म्यानेजमेन्ट', उद्दिनले भने । नारायणगढमा क्यूएफएक्स जल्मा, नेपालगन्जमा क्यूएफएक्स बागेश्वरी फ्रेन्चाइज मोडलमा सञ्चालित हल हुन् । पोखरा ट्रेड मलको सिनेप्लेक्स पनि क्यूएफएक्सले टेकओभर गरिसकेको छ ।

.क्यूएफएक्स सिनेमा चर्चित ब्रान्ड बनिसकेको छ । नेपालीका स्तरीय हलमा राम्रा फिल्म हुर्ने रहर पूरा भएको छ ।
.दोस्रो चरणमा क्यूएफएक्लाई देश बाहिर लैजाने योजना छ । भुटान, सिक्किम र कम्बोडियामा क्यूएफएक्स ब्रान्ड लैजान सकिन्छ ।
.नेपालमा ‘टु के' क्यामेराबाट खिचिएको पहिलो फिल्म हो, कागवेनी । तर, फिल्म प्रर्दशन गर्न डिजिटल हल थिएनन् ।
.नेपाली फिल्मको गुणस्तर सुधारमा क्यूएफएक्सको ठूलो भूमिका छ ।

यही समूहले ललितपुरको पुल्चोकस्थित विशाल बजारको भवन किनेर लाविमा मल सञ्चालनमा ल्याएको छ । लाविमा क्यूएफएक्सका तीनवटा पर्दा छन् । तीनवटै पर्दामा ‘फोर के' प्रविधि जोडिएको छ । ‘लाविममा ठूलो लगानी छ, त्यसैले अलि अप्ठ्यारोमा छौं', उनले भने । ठमेलको निर्माणाधीन छायाँ सेन्टरमा पनि तीन पर्दाको क्यूएफएक्स मल्टिप्लेक्स सञ्चालन हुँदैछ ।

विस्तार योजना

राजधानी बाहिर पनि क्यूएफएक्सका दर्शक बढेका छन् । बाहिरबाट हल चलाइदिन धेरै प्रश्ताव आइरहेको उद्दिनले सुनाए । राजधानी बाहिर पनि राम्रै रेस्पोन्स देखिएको छ । राम्राराम्रा मल बनिरहेका छन् । सबैले क्यूएफएक्सको फ्रेन्चाइज लिन खोजिरहेका छन् । क्यूएफएक्सको माग देशभर बढिरहेको छ । एक डेढ वर्षभित्र देशभर क्यूएफएक्स पुर्‍याउने लक्ष्य छ ।

त्यतिबेला कम्तीमा १० वटा नयाँ हल थपिनेछन् । बुटलल, भैरहवा, पोखरा, नेपालगन्ज, चीतवन, विर्तामोड, इटहरी, धरान, धनगढीलगायतका धेरै सहर छन् जहाँ मल्टिप्लेक्स चल्छन् । केही सहरमा मल्टिप्लेक्स खुलिसकेका छन् ।

दोस्रो चरणमा क्यूएफएक्लाई देश बाहिर लैजाने योजना छ । भुटान, सिक्किम र कम्बोडियामा क्यूएफएक्स ब्रान्ड लैजान खोजिरहेको उद्दिनले सुनाए । देशभित्रै मागअनुसार विस्तार नगरी विदेश जान नहुने उनको भनाइ छ । 'पूर्वदेखि पश्चिमसम्म क्यूएफएक्स पुगेपछि विदेश यात्रा तय गर्छौं', उनले भने ।

नेपाली फिल्ममा सुधार

नेपाली फिल्मको गुणस्तर सुधारमा क्यूएफएक्सको ठूलो भूमिका छ । उद्दिन आफूहरूकै कारण नेपाली सिनेमाको गुणस्तर सुध्रिएको दाबी गर्छन् । सन् ८० को दशकमा ठोकठाक र कपी गरेर फिल्म बनाइन्थ्यो । त्यो परिपाटी धेरै पछिसम्म रहिरह्यो । यस्ता फिल्म जय नेपाल र कुमारीका दर्शकले रिजेक्ट गरिसकेका थिए । मल्टिप्लेक्समा चल्ने त कुरै भएन । महँगो टिकट काटेर फिल्म हेर्नेको रोजाइमा ठोकठाक गरिएका फिल्म पर्दैनथे ।

क्यूएफएक्सले ठोकठाक गरेका फिल्म प्रर्दशन नगरेपछि नेपाली निर्माता सोच्न बाध्य भए । किनभने मल्टिप्लेक्सका दर्शक बढ्दै गइरहेका थिए । राम्रो कमाउन मल्टिप्लेक्समा प्रर्दशन गर्नुपथ्र्यो । यही कारण पनि निर्माताले गुणस्तर सुधारमा जोड दिन थालेको उद्दिन बताउँछन् । अहिले नेपाली फिल्म ‘फोर के' क्यामेराबाट खिच्न थालिएको छ । ‘नेपालमा जस्तो पनि फिल्म चलाइदिएमा निर्माताहरु ह्यान्डीक्यामबाट फिल्म खिच्न बेर लगाउँदैनौं', उनले भने ।

क्वालिटीमा सुधार आएपछि नेपाली फिल्म पनि मल्टिप्लेक्सका दर्शकले रुचाउन थालेका छन् । पशुपति प्रसाद, कबड्डी कबड्डी, छक्का पञ्जा लगायतका पछिल्ला फिल्म मल्टिप्लेक्सका दर्शकले खुबै रुचाए । अहिले निर्माता मल्टिप्लेक्समा चल्ने फिल्म बनाउन लागेका छन् । पुरानै ढर्रामा ठोकठाक गरेर बनाएका फिल्म चल्नेवाला छैनन् भन्ने बुझ्न थाले ।

आफैं सिनेमा निर्माण

नेपालमा ‘टु के' क्यामेराबाट खिचिएको पहिलो फिल्म हो, कागवेनी । तर, फिल्म प्रर्दशन गर्न डिजिटल हल थिएनन् । डिजिटल प्रविधि निकै महँगो थियो । भारतमा डिजिटल प्रविधिमा काम गरिरहेको यूएफओ मूभिजलाई बल्लबल्ल कन्भिन्स गराएर नेपालका १४ वटा चल्ने हलमा डिजिटल प्रविधि जडान गरी कागवेनी देखाएको उद्दिन सम्झन्छन् ।

कागवेनीपछि सानो संसार टु के प्रविधिमा बनाउँदा झन्डै २० देखि २५ हलमा डिजिटल प्रविधि जडान भइसकेको थियो । सानो संसार डिजिटल यात्राका लागि उदाहरण बन्यो । अनि छबी ओझाले पहिलो पटक ‘टु के' क्यामेरा भित्र्याएको उद्दिन सम्झन्छन् । अनि बिस्तारै अरुले पनि ‘टु के' प्रविधि अपनाउन थाले । ‘डिजिटल प्रविधि सक्सेस भएमा नेपाली फिल्मले फड्को मार्ने हाम्रो ठम्याई थियो, त्यसमा हामी सफल भयौं', उनले भने ।

क्यूएफएक्सको प्यारेन्ट कम्पनी टिम क्वेस्ट सिनेमा प्रर्दशन, निर्माण र वितरणमा संलग्न छ । नेपालमा डिजिटल प्रविधि स्थापित गराउन निकै संघर्ष गरेको यो समूहले भोलिका दिनमा अझ क्वालिटी सुधार गर्दै जाने लक्ष्य राखेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.