मुखर्जी यात्राको सन्देश

मुखर्जी यात्राको सन्देश

झन्डै दुई दसकको अन्तरपछि भारतका राष्ट्र प्रमुख औपचारिक नेपाल यात्रामा आएका छन् । संयोगले राष्ट्रपति प्रणव मुखर्जी नेपाल मामिलासँगै नेपाल भारत सम्बन्धको उतारचढावका साक्षी मात्र हैन, त्यसका प्रमुख कारक र कर्ता पनि रहिआएका छन्, भारतीय कांग्रेस नेतृत्वको सरकारमा विदेशमन्त्रीका रूपमा । नेपालको राजनीतिक, प्रशासनिक तथा सामाजिक स्वरूप प्रभावित गर्ने गरी आएको बाह्रबुँदेमा मुखर्जीको महत्त्वपूर्ण भूमिका सर्वविदितै छ ।

१७ हजार नेपालीको ज्यान लिएको सशस्त्र विद्रोहको पक्ष या माओवादीलाई शान्तिप्रक्रियामा ल्याउने हदसम्मको भूमिकाको लागि भारतले पटकपटक नेपालमा स्वागत र स्याबासी पाएको छ । तर त्यसपछि नेपालको आन्तरिक राजनीतिमा केही अलोकप्रिय नेताहरूलाई च्यापी भारतीय प्रशासन तथा कूटनीतिका पदाधिकारीहरूद्वारा भएको खुला हस्तक्षेपका कारण नेपालमा भारत अत्यन्तै अलोकप्रिय भएको छ । ढिलै भए पनि भारतका वैदेशिक तथा सुरक्षा मामिलाका विज्ञहरूले नेपालको आन्तरिक राजनीतिमा भारतको संलग्नताको आलोचना गर्न थालेका छन् ।

लोकतन्त्र या प्रजातन्त्रका नाममा भारतीय पक्षले दिएको सहयोगलाई राजनीति र संविधान लेखनको सार्वभौम हैसियत तथा त्यसका मूल्यविपरीत प्रयोग गर्ने कोसिस अन्ततः प्रत्युत्पादक हुनेछ । सम्भवतः अहिले नेपाल भारत सम्बन्धका तीता भोगाइ त्यसको प्रमाण हो । मुखर्जी भारतीय राजनीतिमा विभिन्न अनुभव बटुलेका कुशल राजनेता हुन् र राष्ट्रपतिको हैसियतमा रहँदा उनका भूमिका तथा हैसियतले ठूलो नैतिक अर्थ राख्छ ।

बाह्रबुँदेका अपेक्षित र दुईपक्षीय हिसाबले सकारात्मक पक्षलाई अगाडि बढाउँदा-बढाउँदै त्यसले नेपालको राजनीतिमा अझ नेपाली जनताको भूमिका खोसेको छ, महत्त्वपूर्ण विषयहरू र निर्णय प्रक्रियामा । त्यस्तै त्यसपछिको 'संघीयता' पक्ष र विपक्षको अभियानमा नेपालको सीमावर्ती क्षेत्रका केही नेताहरूलाई अभिभावकत्व प्रदान गरेर त्यहाँका जनताबीच भारत अलोकप्रिय बन्न पुगेको छ । अर्को अर्थमा बहुआयामिक र ऐतिहासिक तथा सांस्कृतिक आयामबारेको नेपाल भारत सम्बन्ध अत्यन्त संकुचित बन्न पुगेको छ । भारतको सीमा रक्षामा रगत बगाउनेहरू र तिनका आफन्तको बलिदानलाई यो 'सीमित भूगोल र सम्प्रदाय' सँग जोडिएको कूटनीतिले अवमूल्यन गरेको छ ।

राजनीतिक या सरकारको नेतृत्वको स्थायित्व र अस्थिरताले पक्कै पनि मुलुकको आन्तरिक सुरक्षा, सार्वजनिक सुरक्षा र आर्थिक समृद्धिका अवसरमाथि प्रतिकुल असर पार्दछन्, तर बाहिरबाट चाहेर मात्र नेपालमा राजनीतिक स्थायित्व आउँदो रहेनछ भन्ने प्रमाण विगत १० वर्षले प्रस्तुत गरेका छन् । भूकम्प र त्यसपछिको नाकाबन्दीपछि राष्ट्रपति मुखर्जीको नेपाल यात्रा भएको छ । त्यसैले यदि पहिलेको जस्तै विश्वास, आदर अनि समझदारीको सम्बन्ध बनाउन भारतले कूटनीतिक मर्यादाको लक्ष्मण रेखालाई व्यवहारतः सम्मान गर्न सकेमा स्थिति तथा सम्बन्धले निकै सहजता पाउनेछ ।

मुखर्जी भ्रमणमा सार्वजनिक बिदा दिएर र सार्वजनिक गतिविधि, सवारी आवतजावत अनि परीक्षार्थी विद्यार्थीहरूको अधिकारप्रति आतिथेय सरकार संवेदनहीन हुँदा त्यसबारे केही आलोचनात्मक टिप्पणी आउनेछन्, आगामी केही दिनसम्म । तर मुख्य विषय दुई राष्ट्रबीचको सम्बन्धका आधार र पञ्चशीलका सिद्धान्तप्रतिको आदर हो ।

त्यस अर्थमा नेपालको आन्तरिक राजनीतिका पक्ष-विपक्षसँगको भारतको सम्बन्ध अनि भारतीय मध्यस्थतामा भएको बाह्रबुँदेपछि यहाँ अभ्यासमा ल्याइएको निषेध र बहिष्कारको राजनीतिप्रति भारतकै धारणा के भन्नेबारे पनि नेपालीहरू जान्न उत्सुक छन् । यससँगै भारतीय परियोजना कार्यान्वयन पक्षलाई कसरी विश्वसनीय बनाउने ? त्यो अर्को पक्ष हुनेछ यो यात्राको सफलता जाँच्न ।

तर भ्रमणका एजेन्डा र नेपाली संस्कृति फरक-फरक विषय हुन् । नेपाल सुसंस्कृत र प्राचीन सभ्यताको भूमि हो । ऊ भारतको हितैषी र आफ्नो परम्पराप्रति गर्व गर्ने मुलुक हो । त्यस अर्थमा उनको स्वागत नेपालको 'अतिथि देवो भव' संस्कृति र त्यसबाट निर्देशित कूटनीतिको निरन्तरता र मुखर्जीका अधिकार तिनै हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.