हेलिकप्टर नउड्दा बिरामीलाई सास्ती

हेलिकप्टर नउड्दा बिरामीलाई सास्ती

काठमाडौं: भारतीय राष्ट्रपति प्रणव मुखर्जीको पोखरा र जनकपुर भ्रमणका बेला शुक्रबार सरकारले हवाई उडान ठप्प पार्दा गम्भीर अवस्थाका बिरामी थप उपचारका लागि राजधानी आउनबाट वञ्चित भएका छन् ।

उडान अवरुद्ध हुँदा सडक दुर्घटनामा परी गम्भीर घाइते बनेका ४७ वर्षीय कौशल्यन्द्र साह धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट काठमाडौं आउन नपाएका हुन् । दुर्घटनाका कारण संवेदनशील अंगमा गम्भीर असर पुगेका साहलाई थप उपचारका लागि हेलिकप्टरमा राजधानीको बयोधा अस्पताल ल्याउने तयारी परिवारले गरेको थियो । तर सरकारले उडान रोकेपछि प्रतिष्ठानकै आईसीयूमा राखेर उपचार गरिएको छ ।

बयोधा अस्पतालको आकस्मिक मेडिकल सेवाका म्यानेजर सगुन कायस्थले जतिसुकै प्रयास गरे पनि सुरक्षाको कारण देखाएर सञ्चालकले हेलिकप्टर उडाउन नमानेको बताए । 'हेलिकप्टर चार्टरका लागि बिरामीका आफन्तबाट बिहीबार राति फोन आएको थियो । हामीले शुक्रबार बिहानै हेलिकप्टर पठाउने प्रतिवद्धता पनि गरेका थियौं तर अनुमति नभएको भन्दै हेलिकप्टर उडाउन कोही पनि मानेनन्,' कायस्थले अन्नपूर्णसँग भने ।

साहका आफन्त हेलिकप्टर व्यवस्था गर्न काठमाडौं नै आइपुगेका थिए । तर दिनभरि हारगुहार गर्दा पनि हेलिकप्टर नपाएपछि उनीहरू निरास भएर धरान फर्किएका छन् । 'बिरामी सिकिस्त भएपछि काठमाडौं ल्याएर ठीक हुन्छ कि भन्ने आसले हेलिकप्टरमा ल्याउन खोजेका थियौं तर जतिसुकै प्रयास गरे पनि पाएनौं,' कौसल्यन्द्रका भिनाजु आनन्द साहले भने, 'बिरामीलाई के हुने हो भन्ने चिन्तामा छौं, हेलिकप्टर गए शनिबार बिरामी ल्याउने थियौं ।'

प्रतिष्ठानका उपकुलपति डा. बलभद्र दासले साहको अवस्था गम्भीर रहेको बताए । साहको मिर्गौलासमेत फेल भएकाले डायलासिस गरिरहेको उनले जानकारी दिए । उनका अनुसार शुक्रबार नै पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएकी एक महिलालाई पनि हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याउने तयारी भएको थियो । तर उडान अनुमति नपाएकाले उनी पनि उतै रोकिएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.