एएफसी सोलिडारिटी कपमा नेपाल आज टिमोर लिस्टेसँग भिड्दै

एएफसी सोलिडारिटी कपमा नेपाल आज टिमोर लिस्टेसँग भिड्दै

काठमाडौं: मलेसियामा जारी 'एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिता' मा नेपालले आफ्नो पहिलो खेल शनिबार टिमोर लिस्टेसँग खेल्दै छ । सोलिडारिटी कपको समूह 'ए' मा नेपाल र टिमोर लिस्टेसँगै ब्रुनाई पनि छ । टिमोर लिस्टे भने आफ्नो पहिलो खेलमा ब्रुनाईसँग ४-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । नेपाल र टिमोर हालसम्म दुईपटक आमनेसामने भएकोमा ती दुवै खेलको नतिजालाई नेपालले आफ्नो पक्षमा पारेको थियो । ती दुई खेलमा नेपालले टिमोरविरुद्घ सात गोल गरेको थियो भने केवल एक गोल खाएको थियो ।

नेपाली टोलीका प्रशिक्षक ग्योतुकी कोजीले पहिलो खेलमा ब्रुनाईसँग पराजित भए पनि आफूले टिमोर लिस्टेलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा नलिएको बताएका छन् । 'टिमोरले पहिलो खेलमा जस्तो खेले पनि हामीले भने उसलाई कमजोर प्रतिद्वन्द्वीका रूपमा लिएका छैनौं । सिमसिमे वर्षाबीच भएको उक्त खेलमा टिमोरले स्वभाविक प्रदर्शन गर्न नसकेको हुन सक्छ । त्यसैले शनिबारको खेलमा पनि हामी आफ्नो पूर्ण क्षमतासहित मैदानमा ओर्लने छौं', कोजीले भनेका छन् ।

प्रशिक्षक कोजुले आफ्नो टोली दुवै खेलमा विजयी हुने दाबी पनि गरे । 'हामी मलेसिया आएदेखि नै नियमित रूपमा अभ्यास गरिरहेका छौं र यहाँको मौसमसँग अभ्यस्त हुने प्रयासमा छौं । यहाँको चिस्यानयुक्त मैदानमा खेल्नु पक्कै पनि फरक अनुभव हुनेछ', उनी भन्छन् । नेपालले आफ्नो अन्तिम खेल कात्तिक २३ गते ब्रुनाईसँग खेल्नेछ । सोही समूहमा रहेको बंगलादेशले प्राविधिक कारण देखाउँदै अन्तिम समयमा आएर नखेल्ने निर्णय गरेपछि दोस्रो चरणमा पुग्न नेपालका लागि केही सहज हुने देखिएको छ । समूहगत चरणमा नेपालले एक खेल जिते सेमिफाइनलको यात्रा तय गर्नेछ ।

टिमोरका प्रशिक्षक फाबियो डा सिल्भा पनि मौसमको विषयले चिन्तित देखिएका छन् । 'नेपाल हाम्रा लागि कडा प्रतिद्वन्द्वी हो भन्ने कुरा मैले राम्ररी बुझेको छु तर, त्योभन्दा पनि बढी खेल हुने दिनको मौसम कस्तो होला भन्ने चिन्ताले मलाई सताएको छ', उनी भन्छन् । वर्षाकै कारणले ब्रुनाईविरुद्घको खेलमा आफ्ना खेलाडीले स्वाभाविक प्रदर्शन गर्न नसकेको दाबी पनि गरे ।

प्रतियोगिताको समूह 'बी' मा श्रीलंका, लाओस, मकाउ र मंगोलियाबीच प्रतिस्पर्धा हुनेछ । लिग कम नकआउटका आधारमा खेलिने उक्त प्रतियोगितामा समूहका दुई उत्कृष्ट टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेल कात्तिक २७ र फाइनल खेल कात्तिक ३० गते खेलिनेछ । एएएफसीले एएफसी च्यालेन्ज कप आयोजना गर्न छाडेपछि त्यसैको सट्टामा यस वर्षदेखि सोलिडारिटी कप आयोजना गर्न लागेको हो ।

एएफसीले सन् २०१८ को विश्वकप छनोट र सन् २०१९ को एसिया कप छनोट चरणबाट बाहिरिएका टोलीलाई सोलिडारिटी कपमा सहभागी गराउन लागेको हो । विश्वकप छनोटका लागि भएको प्रारम्भिक छनोट खेलमा नेपाली टोली भारतसँग पराजित हुँदै बाहिरिएको थियो । नेपाली राष्ट्रिय टोलीले आठ महिनापछि औपचारिक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । नेपालले आठ महिनाअघि बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु गोल्ड कप र भारतको गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) को उपाधि जितेको थियो ।

नेपाली टोलीमा विकेश कुथू, किरनकुमार लिम्बू र विशाल श्रेष्ठ गरी तीनजना गोलरक्षक छन् । यसैगरी रक्षकमा रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र रञ्जित धिमाल रहेका छन् । मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन विष्ट, सुजल श्रेष्ठ र राजेन्द्र रावल रहेका छन् । स्ट्राइकरमा भने विमल घर्तीमगर, रञ्जन विष्ट, अनिल गुरुङ, सुमन लामा, नवयुग श्रेष्ठ र भरत खवास छन् । नेपाली टोलीका अन्य दुई प्रशिक्षकमा राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षक उज्ज्वल मानन्धर छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.