एएफसी सोलिडारिटी कप फुटबल: टिमोर लिस्टेसँग नेपाल गोलरहित बराबरीमा रोकियो (भिडियो)
काठमाडौं:मलेसियामा जारी ‘एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिता’मा नेपाल आफ्नो पहिलो खेलमा टिमोर लिस्टेसँग गोलरहित बराबरीमा रोकिएको छ ।
मलेसियाको कोचिङको सारावक नेगारी रंगशालामा शनिबार साँझ भएको खेलमा टिमोरले नेपाललाई गोलरहित बराबरीमा रोकेको हो। प्रतियोगिताकै कमजोर टिम मानिएको टिमोरसँग गोलरहित बराबरीमा रोकिएपछि अब नेपालले सेमिफाइनलको यात्रा तय गर्न अर्को खेलको नतिजा कुर्नु पर्ने भएको छ।
नेपालले खेलमा केही गोल गर्ने माैका पाएपनि त्यसलार्इ सदुपयोग गर्न सकेन। नेपालका स्टार स्ट्राइकर नवयुग श्रेष्ठको प्रहार पोलमा लागेर फर्किनु नै नेपालका लागि दुर्भाग्यपूर्ण सावित भयो। तर, नेपालले अाफूभन्दा कमजोर मानिएको टिमोर लिस्टेविरुद्ध अाक्रामक खेल पस्कन सकेन।
समूह ‘ए’ मा रहेको नेपालले शनिबारको खेलमा टिमोर लिस्टेलार्इ पराजित गर्न सकेको भए सेमिफाइनलको यात्रा तय गर्ने थियो। नवयुग श्रेष्ठ र विमलघर्ती मगरलाई अग्रपंक्तिमा रहे पनि नेपालले जित निकाल्न सकेन ।
नेपालले प्रहार गरेका उत्कृष्ट दुई प्रहार टिमोरको गोल पोस्टमा लागेर गोल हुन सकेन । दोस्रो हाफमा नेपालले फरवाड परिवर्तन गरे पनि गोल हुन सकेन । ६४ मिनेटमा नवयुगको ठाउँमा भरत खवास र ७७ मिनेटमा अन्जन विष्टको ठाउँमा अनिल गुरुङ मैदान छिरेका थिए ।
फरवार्ड लाइन परिवर्तन भए पनि नेपालले गोल गर्न सकेन। सोलिडारिटी कपको समूह ‘ए’ मा नेपाल र टिमोर लिस्टेसँगै ब्रुनाई छन्। नेपालले आफ्नो अन्तिम खेल कात्तिक २३ गते ब्रुनाईसँग खेल्नेछ ।
खेलको भिडियो हेर्नुस्: