माहुरी चरनमै सिन्डिकेटः विषादी हालेर १८ लाख बराबरका माहुरी मारिए

माहुरी चरनमै सिन्डिकेटः विषादी हालेर १८ लाख बराबरका माहुरी मारिए

घोराहीः बाहिरी जिल्लाबाट चराउनका लागि दाङ ल्याइएका ७५ घार मौरी विषादीका कारण मरेका छन्। त्यसबाट माहुरी किसानलाई करिब १८ लाखभन्दा बढी क्षति भएको उनीहरुले बताएका छन्। माहुरीको घारमा कसले विषादी हालेको हो वा होइन भनेर विज्ञहरुको टोलीले छानबिन समेत थालिसकेको छ।

तोरी र चिउरी फूल्ने यो सिजनमा चितवन, नवरपरासी, कपिलवस्तु, रुपन्देही, काठमाडौं, सर्लाहीलगायत थुप्रै जिल्लाबाट यहाँ माहुरी चराउनका लागि किसानहरुले सबै घार माहुरी उठाएर ल्याउने गर्दछन्। तर, पछिल्लो समयमा जिल्लास्थित माहुरी पालक व्यवसायी संघले भने अन्यत्र जिल्लाका माहुरी किसानले यहाँ चरनका लागि ल्याउँदा आफूहरुसँग समन्वय नगरेको आरोप लगाएका छन् । ‘जर्वजस्ती गरिए भारतीय सरह व्यवहार हुने’ आसयको पत्र दाङ जिल्ला माहुरी पालक संघले केन्द्रको महासंघलाई पठाएको थियो। त्यसमा अन्यत्र जिल्लाका माहुरीहरु यहाँ चराउन नदिने चेतावनी दिइएको थियो।

तर, केही दिनअघि चितवनबाट दाङको रामपुर क्षेत्रमा चराउन ल्याइएका माहुरीहरु एकाएक मारिएपछि माहुरी किसानहरु आतंकित भएका छन्। पीडितहरुले जिल्लामा माहुरी चराउन ल्याएकै कारण रिसिइबीले गर्दा माहुरी मारिएको आरोप पनि लगाएका छन्। चितवन भरतपुरका किसान विष्णुप्रसाद भुसालका ५९ र चितवन भरतपुर १रामनगरका डा.खेमराज न्यौपानेका १६ घार माहुरी शुक्रबार मारिएका हुन्। घारका माहुरी पूरै रित्तिएका छन् ।

मरेका ती माहुरीहरुलाई शुक्रबार नै जिल्ला कृषि कार्यालय, प्रशासन तथा जिल्ला प्रहरी कार्यालयको रोहबरमा जलाइएको छ। ‘घारमै बिष छर्किएको जस्तो देखिन्छ’ पीडित माहुरी किसान भुसाल भन्छन् ‘नत्र यसरी घारका सबै माहुरी एकै पटक मरेको कुनै कारण आजसम्मै छैन ।’ उनका अनुसार यहाँका माहुरी किसानहरुले पहिला पनि माहुरी नल्याउन चेतावनी दिएका थिए। ‘हामीले सिन्डीकुट तोड्न खोज्यौँ तर, त्यसको प्रतिफल अहिले लाखौंको क्षति ब्यहोर्नुपरेको छ’ उनले भने।

माहुरीकै विषयमा पिएचडी सकेका प्रध्यापक खेमराज न्यौपानेका अनुसार पनि यसरी घार नै सखाप हुने गरे माहुरी मर्नुको एउटामात्रै कारण हुन्छ, घारभित्रै माहुरी निसास्सिनु । तर, उनका अनुसार यहाँ राखिएका कुनै पनि घार निसास्सिने खालका छैनन् । ‘यो विरलै हुने घटना हो, यहाँ त सिधै विष छर्केर मारिएको छ’ उनले भने ‘घारमा एउटा पनि माहुरी नबाँच्नेगरी स्वाहा हुनु भनेको विषादी नै हो, अर्काे कारण हुनैसक्दैन ।’ उनी चितवन रामपुरस्थित कृषि क्याम्पसका प्राध्यापक पनि हुन् ।

जिल्ला कृषि कार्यालयले मरेका महुरीको ल्याव टेस्टका लागि कृषि अनुसन्धान केन्द्रमा स्याम्पल पठाइसकेको छ । माहुरीका घारमा कसले र किन विषदी हाल्यो ? भन्ने कुराको एकीन भएको छैन । तर, पीडित किसानहरुका अनुसार जिल्लामा चलेको सिन्डिकेटका कारण यस्तो क्षति भएको दाबी गर्छन् । ‘बाहिरका माहुरी यहाँ चराउन नपाइने चेतावनी दिएको पटकपटक सुनेका थियौँ तर, हामीले स्थानीयसँग समन्वय र सहकार्य गरेरै ल्याएका हौँ’ डा. न्यौपाने भन्छन् ‘हामीलाई धम्क्याउन र त्रास दिनका लागि यहाँकै किसानहरुको मिलोमतोमा यस्तो हुनसक्छ ।’

तर, जिल्लास्थित माहुरी पालक संघका अध्यक्ष विष्णु ओलीले भने बाहिरका किसानहरुलाई यहाँ माहुरी चराउनका लागि कुनै अवरोध नभएको दाबी गर्छन् । ‘पहिला जिल्लाकै माहुरी चरनको व्यववस्थापन गरौँ भन्नेमात्रै हाम्रो भनाई हो, स्थानीयसँग समन्वय गरेर चराउन ल्याउनलाई हामीले कुनै अवरोध गरेका छैनौँ ।’ उनले विषादी नै प्रयोग गरेर माहुरी मारिनु दुखद भएको पनि बताए।

‘यो दुखद् घटना हो विषादी नै हालेको पुष्टी त भएको छैन तर, यहाँ कुनै सिन्डिकेट छैन’ उनले भने ‘हामीले कसैलाई रोकतोक पनि गरेका छैनौँ ।’ महासंघले पनि जिल्लाभन्दा बाहिर माहुरी चराउन लैजाँदा त्यहाँका किसानहरुसँग समन्वय गरेर लैजान भनेको छ । यहाँको संघले भने चितवनका किसानहरुले आफूहरुसँग कुनै समन्वय नगरेको दाबी गर्छन् । ‘हामीसँग कुनै पनि सरसल्लाह नै नगरेर उहाँहरुले भटाभट माहुरी राख्न थाल्नुभयो जिल्लाकै स्थानीय किसानहरुले पनि बाहिरका माहुरीले गर्दा आफूहरु विस्थापित भएको गुनासो गर्नुभएको छ’ उनले भने ‘पहिला हाम्रो जिल्लाकै माहुरीको चरन व्यवस्थापन गरौँ अनि बाहिरका माहुरीलाई चराउन दिने भन्ने हाम्रो सल्लाह थियो ।’

दाङ मह उत्पादनका लागि देशकै पकेट क्षेत्र मानिन्छ । तोरी र चिउरी प्रशस्त हुने भएका कारण बाहिर किसानहरुले पनि वर्षाैदेखि जिल्लामा माहुरी चराउन ल्याउँदै आएका छन् । त्यसवाफत माहुरी चराउनेहरुले स्थानीय जग्गाधनी तथा सामुदायीक बनलाई प्रतिघार २ सय रुपैयाँ दिँदै आएका छन् । ‘हामीले स्थानीय, जग्गाधनी र, घरधनी अनि सामुदायीक बनलाई समेत पैसा तिर्ने र माहुरी चराउने सम्झौता गरेका छौँ तर, यहाँ यस्तो सिन्डिकेट चलिसकेको रहेछ’ पीडित किसान भुसाल भन्छन् ‘यस्तो त अपराधन नै भयो नि ।’

दाङमा करिब ३० हजार घार माहुरी धान्नसक्ने चरन क्षेत्र छ । तर, जिल्लामा करिब १५ हजार घारभन्दा बढी माहुरी छैनन् । ‘हामीले पनि बाहिर जिल्लामा माहुरी चराउन लैजानुपर्छ’ जिल्लाका एक माहुरी किसानले भने ‘अब हामीलाई अरु भन्दा पनि दाङका माहुरी पनि मारिने भए भन्ने चिन्ताले सताएको छ, माहुरी चराउन पनि सिन्डिकेट लगाउनु गलत हो ।’ २०औं वर्षअघि चितवनबाट माहुरी चराउन आएका किसानहरुले नै दाङ जिल्लामा पनि माहुरी पाल्न सिकाएको किसानहरुले बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.