रहेनन् पत्रकार न्यौपाने
काठमाडौं: मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा साँझ उनको निधन भएको हो ।
उनी नेपाल आर्थिक पत्रकार समाजमा पूर्वउपाध्यक्ष एवं कारोबार राष्ट्रिय दैनिकका पूर्वसम्पादक थिए । त्यसअघि उनले कान्तिपुर दैनिकमा पनि सेवा गरेका थिए । न्यौपानेका पत्नी, एक छोरा र एक छोरी छन् । स्वर्गीय न्यौपानको शनिबार राति पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।
न्यौपानेको मस्तिष्क स्नायुसम्बन्धी रोगका कारण झन्डै एक वर्षदेखि उपचार भइरहेको थियो ।'एनाप्लास्टिक एस्ट्रोसिटोमा' भनिने स्नायु प्रणालीसम्बन्धी रोग लागेपछि उनी एक वर्षदेखि भारतको मेदान्त अस्पतालमा उपचार गराइरहेका थिए ।
स्वास्थ्यमा राम्रो सुधार भइरहेका बेला विजया दशमीका दिन एक्कासि बेहोस भएर ढलेपछि उनलाई पुनः मेदान्त लगिएको थियो । उनलाई अस्पतालले नेपालमा उपचार गराउनु भन्दै फिर्ता गरिदिएको थियो ।