संविधान कार्यान्वयन गर्न प्रेरणा मिलोस्ः राष्ट्रपति
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै नेपालको संविधान कार्यान्वयन गर्ने दिशामा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।
सूर्य देवता र छठ माताको पूजाआराधना गरी मनाइने नेपालीको महान् पर्व छठका अवसरमा शुभकामना दिँदै राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेकी छन् ।
'धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवारिक जमघट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अवसर जुटाई राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा महत्त्वपूर्ण योगदान पुर्याएका छन्', सन्देशमा भनिएको छ ।
त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले छठ पर्वका माध्यमबाट नेपालीबीच सद्भाव, सहिष्णुता, भ्रातृत्व र बलियो एकता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । संविधान कार्यान्वयन क्रममा देखिएका असन्तुष्टिलाई आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट सम्बोधन गर्दै निर्धारित समयभित्र विभिन्न तहका निर्वाचन सम्पन्न गरेर संविधानलाई पूर्ण कार्यान्वयन गर्न तथा समृद्ध नेपाल निर्माणको चाहना पूरा गर्न सबै नेपालीलाई एकताबद्ध भएर लाग्न प्रेरित गरोस् भन्ने कामना उनले गरेका छन् ।
यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहालले देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सूर्य उपासनाको छठ पर्वले राष्ट्र निर्माणमा एकजुट भएर लाग्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । सन्देशमा प्रधानमन्त्रीले सबै धर्म, संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको स्मरण गराउँदै संविधान कार्यान्वयन गर्दै समृद्ध नेपाल निर्माणको मार्गमा अग्रसर भएको वर्तमान सरकारलाई साथ दिन सम्बद्ध सबै पक्षसँग आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताबीच एकता र आत्मीयता आवश्यक रहेको बताएका छन् । छठका अवसरमा दिएको शुभकामना सन्देशमा उनले छठले हरेक जात, धर्म, क्षेत्र र समुदायका नेपालीलाई एकताको सूत्रमा उनेर प्रगतिको बाटोमा बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले शान्त र समुन्नत नेपाल निर्माणका लागि प्रत्येक नेपालीको काँधमा थप जिम्मेवारी आएको बताएका छन् । छठ पर्वका अवसरमा उनले शनिबार जारी गरेको विज्ञप्तिमा मुलुक इतिहासकै महत्त्वपूर्ण मोडमा उभिएकाले सबै नेपालीले संघीय लोकतान्त्रिक गणतन्त्र सफल कार्यान्वयनका लागि प्रयत्न गर्नुपर्ने बताएका छन् । 'नेपालको नयाँ संविधान जारी भई लोकतान्त्रिक आन्दोलनमार्फत प्राप्त उपलब्धि कार्यान्वयन र संस्थागत गर्ने क्रममा हामी सबै प्रयत्नरत छौं', विज्ञप्तिमा भनिएको छ, 'संविधान कार्यान्वयनका लागि सबैजना आआफ्नो क्षेत्रमा इमानदार रहनुपर्छ ।'
देउवाले लोकतान्त्रिक पद्धतिमा मात्र सबै धर्मको संरक्षण हुने भएकाले लोकतन्त्र संवद्र्धन र संरक्षणमा सबैको सहयोग, सद्भाव र एकता आवश्यक रहेको बताएका छन् । 'छठजस्तो पवित्र धार्मिक पर्वले देश र जनताप्रतिको यो जिम्मेवारी बहन गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु र अति श्रद्धासाथ मनाइने यस पर्वमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्दछु', विज्ञप्तिमा भनिएको छ ।