ट्रम्पले मञ्चमा बोल्दा-बोल्दै आक्रमणः सुरक्षाकर्मीले जोगाए (भिडियो)
एजेन्सीः अमेरिकी राष्ट्रपतीय चुनावका रिपब्लिक उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावी सभालाई सम्बोधन गर्दागर्दै आक्रमणको प्रयास भएको छ ।
अमेरिकाको नेवादाको रेनोमा आयोजित चुनावी र्यालीलाई सम्बोधन गर्दैगर्दा एक व्यक्तिले ट्रम्पमाथि आक्रमणको प्रयास गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
संदिग्ध व्यक्तिले आक्रमणको प्रयास गरेको भन्दै ट्रम्प भाषण रोकेर त्यसतर्फ हेर्न थालेको भिडियोमा देखिन्छ । ट्रम्पमाथि आक्रमण प्रयास भएको भनिएको भिडियोमा उनले भाषण रोकेर हेरे लगत्तै सुरक्षाकर्मीले उनलाई मञ्चबाट दुईतर्फ समातेर भित्र लगेका छन् ।
यसरी ट्रम्पले भाषण रोकेपछि एक व्यक्ति मञ्चबाट भीडतर्फ दौडिएपछि सुरक्षाकर्मीले पक्राउ गरेका छन् । उक्त व्यक्तिलाई सुरक्षाकर्मीले भुईंमा लडाएर खानतलासी गरेको छ ।
आक्रणकारी भनिएका व्यक्तिको साथमा हतियार भने नभएको समाचारमा जनाइएको छ । सुरक्षाकर्मीले सभा नियन्त्रणमा लिए लगत्तै ट्रम्पले पुनः भाषण गरेका छन् । सुरक्षाकर्मीको चलाखीप्रति खुशी व्यक्त गर्दै ट्रम्पले धन्यवाद दिए ।
ट्रम्पमाथिको आक्रमण प्रयास लगत्तै उनका छोरा ट्रम्प जुनियरले ट्वीट गर्दै आफ्ना पिता अमेरिकी नागरिकका लागि डटिरहेको उल्लेख गरेका छन् । उनको ट्वीटमा भनिएको छ, ‘मेरो पिता डटिरहनुभएको छ, उहाँ तपाईंहरुका लागि निरन्तर लडिरहनुहुन्छ, त्यो कुरा आज देखिएको छ ।’
उनले परिवारका तर्फबाट सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचन नजिकिदै गर्दा डेमोक्रयाटिक उम्मेदवार हिलारी क्लिन्टन र रिपब्लिकन उम्मेदवार ट्रम्पबीच चर्को प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
अमेरिकामा राष्ट्रपतिको चुनाव मंगलबार हुँदै छ ।