प्रचण्ड सरकारविरुद्ध आन्दोलनमा उत्रने उपेन्द्र यादवको चेतावनी
इनरुवाः सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन नभए सरकारविरुद्ध आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
सुनसरीको लौकही गाविसमा समाजवादी विद्यार्थी फोरम नेपाल, सुनसरीले गरेको म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी–कांग्रेस सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।
सरकारले देखावटी प्रक्रियास्वरुप संविधान संशोधनको प्रक्रिया अघि बढाउने सङ्केत गरेकोतर्फ इङ्गित गर्दै अध्यक्ष यादवले आफूहरुले उठाउँदै आएको माग सम्बोधन नभए आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।
अध्यक्ष यादवले सरकारले अघि बढाउन लागेको संविधान संशोधनको प्रक्रियाप्रति विश्वास गर्ने वातावरण बन्न नसकेको समेत बताए ।
नेता यादवले दाहाल नेतृत्वको सरकारले छठलगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिए पनि मधेसका मुद्दा सम्बोधन हुनेमा आफूहरु विश्वस्त नरहेको बताए । रासस