जनता र त्रिवेणी बैंक गाभिने
काठमाडौः जनता बैंक नेपाल लिमिटेड र त्रिवेणी विकास बैंक एक आपसमा गाभिने भएका छन् । मर्जर सम्बन्धी सम्झौतापत्रमा जनता बैंकको तर्फबाट अध्यक्ष उदय नेपाली श्रेष्ठ र त्रिवेणी बैंकको तर्फबाट अध्यक्ष लङ्क बहादुर केसीले हस्ताक्षर गरेका छन् ।
केन्द्रीय बैंकले अख्तियार गरेको वित्तिय नीति, वित्तिय क्षेत्रमा व्यर्होनु परेको प्रतिस्प्रर्धा, लगानिका अवसर आदि विषयलाई ध्यानमा राखी सवल पुँजी निर्माणपछि उत्कृष्ट बैंकको रूपमा स्थापित हुन मर्जर गरिएको बैंकले जनाएको छ ।
जनता बैंकको हाल चुक्ता पुँजी दुई अर्ब ६ करोड र त्रिवेणी बैंकको ८२ करोड रहेको छ । दुबै बैंकको हाल कायम पुँजीमा ५० प्रतिशतका दरले निष्कासन हुन लागेको हकप्रद र प्रस्तावित बोनस सेयर पश्चात मर्जर भई बन्ने बैंकको चुक्ता पुँजी करिब पाँच अर्ब पुग्ने जनाइएको छ ।
नेपाल राष्ट्र बैंकबाट तोकिएको समयमा आठ अर्ब पुँजी पुर्याउन बैंकले अन्य बैंक वा वित्तिय संस्थासँगको मर्जर वा प्राप्ति गर्ने तथा थप हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धी सम्पूर्ण विकल्प खुला राखिएको जनाएको छ । मर्जर पश्चात बैंकको शाखा संख्या ६५, निक्षेप ३५ अर्ब र ३२ अर्बको कर्जा लगानी पुग्ने बैंकले जनाएको छ ।