जीर्ण बन्दै इतिहास बोकेको जाजरकोट दरबार

जीर्ण बन्दै इतिहास बोकेको जाजरकोट दरबार

जाजरकोट: ऐतिहासिक तथा पुरातात्विक महत्वको जाजरकोट दरबार अति जीर्ण भएको छ। सरकार र सरोकारवाला निकायले ध्यान नदिँदा २४८ वर्ष पुरानो यो दरबार जीर्ण भएको हो।

मर्मतर सम्भार नहुँदा दरबारको ऐतिहासिक महत्व र कलात्मकतासमेत हराउँदै गएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए। दरबार भत्किने अवस्थामा पुगेपनि यसको संरक्षण एवम् संवद्र्धनका लागि राज्य र अन्य सरोकारवालाले केही नगरेका कारण दरबारको अस्तित्व नै सङ्कटमा परेको उनले बताए। अहिले यो दरबारमा जिल्ला प्रशासन कार्यालय रहेको छ।

दरबार जीर्ण भएर कुरुप देखिएपनि यस्तमा कसैको चासो छैन। गोरखाका राजा पृथ्वीनारायण शाहका मित अर्थात् जाजरकोट राज्यका छैटौँ राजा हरि शाहले १८२५ सालमा यो दरबार निर्माण गरेका थिए। साततले यो दरबार १९९० सालको भूकम्पपछि चार तला बनाइएको थियो। सरकारले २०१७ सालमा राजारजौटाहरु उन्मूलन गरेपछि राजा बस्न छोडेको यो दरबारका सबै महत्वपूर्ण एवम् ऐतिहासिक वस्तु अहिले हराइसकेको स्थानीय इतिहास र संस्कृतिका खोजकर्ता बताउँछन्।

हाल जिल्ला प्रशासन कार्यालय रहेको उक्त दरबार जाजरकोटी राजा प्रकाशविक्रम शाहले २०४२ सालमा तत्कालीन जिल्ला पञ्चायतलाई रु ६० हजारमा बिक्री गरेका थिए। राजा रजौटा उन्मूलन र दरबार बिक्रीपछि पनि गणतन्त्र स्थापना नहुने बेलासम्म जाजरकोटका राजाले राजाको मान्यता पाइरहे पनि दरबारको संरक्षण एवम् सम्वद्र्धनमा कुनै चासो दिइएन्। दरबारमा रहेका मूल्यवानका वस्तु राजाकै सन्तानले अहिले पनि आफ्ना घरमा राखेको सरोकारवालाहरु बताउँछन्।

जाजरकोट, रुकुम र सल्यानका जनताले रुकुमको चौरजहारीबाट इँटा बोकेर निर्माण गरेको यो दरबार अहिले जीर्ण भए पनि कसैले चासो र सरोकार नराख्नु दुःखको कुरा भएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष कमान खड्काले बताए। 'पहिले दरबार प्रवेशद्वारमा निर्माण गरिएका कलात्मक ढोका एवम् बगैँचा पनि भत्किएका छन्, अहिले पूरै दरबार जीर्ण बन्दा पनि संरक्षणको चिन्ता कसैलाई छैन,' खड्काले भने।

इतिहासमा नेपाल एकीकरणका बेला जाजरकोट राज्यले पुर्‍याएको योगदानको सम्झना गराउने सबै वस्तु राजाका सन्तान भाइभारदार र अन्यले बेपत्ता बनाएका कारण आज दरबारको शोभा हराएको छ। दरबारको सातौँ तलामा रहेको नारायणथानको मन्दिरका तीन वटा अति प्राचीन मूर्तिमध्ये एउटा हनुमानको मूर्ति द्वन्द्वकालमा हराएको थियो। अन्य दुई वटा मूर्ति भने रानागाउँको कालिका मन्दिर र पीपलडाँडाको गणेश मन्दिरमा राखिएको छ।

हुम्ला र चीनको बीचमा रहेको ताक्लाकोट अक्रमण गरी जाजरकोटी सेनाले जितेको छालाको तोप र केही अन्य हतियार राष्ट्रिय सङ्ग्रहालय छाउनीमा रहेको नागरिक अगुवा शाहले बताए। नेपाल बाइसी र चौबिसी राज्यमा विभाजित भएका बेला बाइसी राज्य अन्तर्गत निकै शक्तिशाली मानिएको जाजरकोट राज्यका संस्थापक राजा जगतिसिंह मेदिनी वर्मा पछिका राजा विजय सिंहको घोडाले मन पराएको जाजरकोट खलङ्गाको पीपलडाँडामा अवस्थित यो दरबारको निर्माण भक्तपुरका चर्चित कालीगढ नाक्चेको ढाँचामा आधारित थियो।

सहायक प्रजिअ जनकराज शर्माले दरबार पुनःनिर्माणका लागि आफूहरुले पटक पटक पुरातत्व विभागमा पत्र पठाएपनि अर्थ मन्त्रालयलबाट बजेट निकासा नभएका कारण योजना अघि नबढेको बताए। उनले दरबार पुनःनिर्माण गर्न झन्डै रु १३ करोड लाग्ने जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.