न विवाह, न विद्यावारिधि नै
काठमाडौंः अमेरिकामा कार दुर्घटनामा परी निधन भएपछि खनालदम्पतीले न छोराले विद्यावारिधि पाएको देख्न पाए, न त बुहारी भिœयाउनै । विवाहको मिति नजिकिँदै गर्दा एट्लान्टाको ग्रामीण क्षेत्र जेफर्सनमा शुक्रबार राति चिरञ्जीवी खनाल, श्यामा निरौला खनालसँगै हुनेवाला जेठी बुहारी प्रतिमा सुवेदी र आठ महिनाअघि भिœयाएकी कान्छी बुहारी ऋचाको पनि निधन भएपछि उनीहरूका सपना अधुरै रहेका हुन् ।
जेठो छोरा समीरको विवाहका लागि काठमाडौं अनामनगर निवासी खनालदम्पती अमेरिका पुगेका थिए । समीरको विवाहका लागि खनालदम्पतीले गरगहनासमेत लगेको जानकारी आफन्तजनले दिएका छन् । सोह्र श्राद्ध सकेलगत्तै खनालदम्पती अमेरिकामै छोराबुहारीसँगै दसैंतिहार मनाउन त्यसतर्फ लागेका थिए । एउटै कारमा रहेका दुई छोरा समीर र सुवास अहिले घाइते अवस्थामा अस्पतालमा छन् ।
‘न भान्जाले विद्यावारिधि गर्न पाए, न त बुबाआमाले उनको विवाह गरेर बुहारी भित्र्याउन नै पाउनुभयो’, श्यामाका मामाका छोरा मुकुलले मंगलबार अन्नपूर्णसँग भने । चिरञ्जीवी नायब सुब्बाबाट सेवानिवृत्त हुन् ।
एक दशकअघि अमेरिका गएका समीर जर्जियामा विद्यावारिधि गर्दै थिए । समीरले चलाएको निसानको अल्टिमा कार जर्जिया राजमार्गबाट उत्तरतर्फ जाँदै गर्दा ८८ राजमार्ग र २९६ राजमार्गको बीचमा ठूलो मालवाहक ट्रकसँग ठोक्किएको थियो । समीर र सुवास दुवै सकुशल रहेको मुकुलको भनाइ छ ।
समीरको करङमा समस्या देखिएको थियो भने सुवासका दुवै खुट्टाको शल्यक्रिया भइसकेको छ । सुवास आठ महिनाअघि नेपालमै विवाह गरेर अमेरिका गएका हुन् । डा. सुवास भने एमबीबीएस सकेर एमडीको अध्ययन गरिरहेका थिए । ‘समीरको एक महिनाभित्रै विवाह हुनेवाला थियो’, मुकुलले भने, ‘ऋचाकी हजुरआमाको वर्ष दिन पुग्न बाँकी रहेकाले ढिला भएको हो ।
प्रतिमा सुवेदीका अभिभावकसँग कुरा छिनेपछि दिदीभिनाजु जानुभएको हो । ऋचा झन्डै एक वर्षदेखि अध्ययनका लागि अमेरिकामै थिइन् ।’ कारको अगाडि दुई छोरा र पछाडि बुबा चिरञ्जीवी, आमा श्यामा, उनकी कान्छी बुहारी ऋचा र हुनेवाला बुहारी प्रतिमा बसेका थिए । पछाडि बसेका चारजनाको निधन भएको हो । चारैजनाको शव अमेरिकी प्रहरीले अनुसन्धान गरिरहेको छ ।