चीन र भारतसँग आर्थिक कुटनीति बढाउन आग्रह
काठमाडौः नेपाल उद्योग परिसंघले भारत र चीनका लागि नवनियुक्त राजदूतद्वय दीपकुमार उपाध्याय र लीलामणि पौड्यालसँग मुलुकको दिगो आर्थिक विकासका लागि उदयमान छिमेकी चीन र भारतसँग व्यवस्थित ढंगले आर्थिक कूटनीति सञ्चालन गर्न आग्रह गरेको छ । दुवै राजदूतले आफ्नो क्षमताले भ्याएसम्म मुलुकको विकासका लागि कुटनीतिक तवरबाट सक्रिय रहने विश्वास दिलाएका छन् । परिसंघले दुवै राजदूतसँग मंगलबार छलफल हो ।
‘म सरकारको नुन तेल खाएर निजी क्षेत्रको काम र उद्यम व्यवसाय विस्तारमा सहयोग गर्ने कार्यादेश लिएर जान लागेकाले तपाईंहरूले व्यावसायिक प्रतिनिधिसरह काम लगाउन सक्नुहुन्छ', राजदूत पौड्यालले भने । अहिले संसारमा सबैभन्दा सस्तो पुँजी र उन्नत प्रविधि चीनमा भएकाले त्यसबाट नेपाली व्यवसायीले पनि आपसी साझेदारीमार्फत लाभ लिनुपर्ने उनको भनाइ छ ।
अर्का राजदूत उपाध्यायले व्यवसायी आफ्नो नाफा घाटा र बजारका आधारमा मात्रै अवसर र चुनौतीको विश्लेषण गरेर उचित निर्णय लिने भएकाले आफू र देशलाई नाफा हुने विषयमा सचेत गराइरहन आग्रह गरे । ‘आफ्नो व्यवसाय विस्तारमा व्यवसायी आफैं अग्रसर हुनुपर्छ', उनले भने, ‘हामीले त समन्वयकर्ताको भूमिका मात्र निर्वाह गर्ने हो ।'
परिसंघका अध्यक्ष हरिभक्त शर्माले भारतसँगको व्यापार घाटा कम गर्न र भारतीय उद्यमीलाई नेपालमा पनि लगानी विस्तार गर्ने वातावरण बनाउन योजनाबद्ध ढंगले लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय कोलकाता बन्दरगाहबाट नेपाली आयातकर्ताको सामान छुटाउन बढी समय लाग्दा नेपाली उद्योगमा प्रतिकूल प्रभाव परेको नवनियुक्त राजदुत उपाध्यायलाई ध्यानाकर्षण गराए ।
अध्यक्ष शर्माले चिनियाँ लगानीकर्तालाई नेपालमा आकर्षित गर्न, चिनियाँ पर्यटकको आवगमन बढाउन र बढ्दो व्यापार घाटा न्यून गर्न दूतावासको तर्फबाट थप प्रयास गर्न नवनियुक्त राजदुत पौड्याललाई आग्रह गरे ।
सोही अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले भारत र चीनसँगको सन्तुलित र दिगो आर्थिक सम्बन्धबिना नेपालले अपेक्षित गतिमा आर्थिक उन्नति हासिल गर्न नसक्ने बताए । उनले एकलाई अर्कोको विकल्पका रूपमा नहेरी विगतमा चीन र भारतसँग भएका सन्धीसम्झौताको सफल कार्यान्वयनका लागि पहल गर्न राजदूतलाई आग्रह गरे ।
तातोपानी नाकालाई पुनः सुचारु गर्न, रसुवागढी नाका र स्याफ्रुबेसी सडक निर्माण प्रारम्भ गर्न र चीनको आर्थिक विकासको अनुभव, पुँजी, प्रविधि र सीप आकर्षित गर्ने कार्य पनि वर्तमान परिप्रेक्षमा आर्थिक कूटनीतिका मुद्दा बन्नुपर्नेमा परिसंघका उपाध्याक्ष सतिशमोर र विष्णु अग्रवालले जोड दिए ।