प्रादेशिक राजधानीको चर्चाले घरजग्गा जोड्ने होड
सुर्खेत: प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रूपमा चर्चा पाएसँगै वीरेन्द्रनगरमा जग्गा खरिद र नयाँ घर निर्माणको होडबाजी सुरु भएको छ । हाल मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको वीरेन्द्रनगरमा प्रादेशिक राजधानीको चर्चासँगै घडेरी किन्नेहरूको लर्को नै लाग्न थालेको हो । यस्तै पछिल्लो एक वर्षमा मात्र वीरेन्द्रनगरमा तीन हजारभन्दा बढी नयाँ घर थपिएका छन् ।
विगतमा कर्णाली अञ्चलबाट बसाइँ सरेर आउनेहरूले मात्र फाटफुट रूपमा वीरेन्द्रनगरमा जग्गा खरिद गर्ने गरेका थिए तर अघिल्लो वर्ष अखण्ड मध्यपश्चिमको आन्दोलनपछि छैठौं प्रदेश घोषणा भएसँगै वीरेन्द्रनगरमा घरजग्गाको कारोबार एकाएक बढेको हो । वीरेन्द्रनगर नै प्रदेशको राजधानी हुने लगभग पक्का भएपछि सर्वसाधारणले धमाधम नयाँ घर निर्माण गर्न थालेका हुन् ।
यस्तै अधिकांशले राजधानी घोषणा भएपछि मूल्य बढ्ने आशमा अहिले नै घडेरी खरिद गर्न थालेका छन् । हिजोआज वीरेन्द्रनगरमा दैनिक ५० भन्दा बढी घडेरी किनबेच भइरहेको छ । यस्तै घर निर्माणका लागि नक्सा पास गर्न आउनेहरूको नगरपालिका कार्यालयमा भीड लाग्न थालेको छ ।
जग्गाको कारोबार वृद्धि भएपछि वीरेन्द्रनगरमा जग्गाको मूल्य पनि बढेको छ । नगरपालिका कार्यालयका अनुसार बितेको एक वर्षमा वीरेन्द्रनगरमा तीन हजार तीन सय २६ वटा नयाँ घर थपिएका छन् । कार्यालयको प्रशासन तथा अनुगमन महाशाखाका वरिष्ठ अधिकृत प्रकाश पौडेले भने, 'यो त केवल नक्सा पास भएको तथ्यांक हो, कार्यालयबाट नक्सा पास नगरी पनि घर निर्माण भएका हुन सक्छन् । पहिलाभन्दा तेब्बर संख्यमा वीरेन्द्रनगरमा नयाँ घर निर्माण भएका छन्, जग्गाको कारोबार पनि एकाएक बढेको छ ।'
वीरेन्द्रनगरमा कर्णाली अञ्चलका साथै हिजोआज भेरीका पहाडी जिल्ला र राप्तीका सल्यान र रुकुमबाट घडेरी खरिद गर्न थालेका छन् । यस्तै अधिकांशले नयाँ घर निर्माणका लागि नक्सासमेत पास गराएर लगेका छन् ।
उनका अनुसार वीरेन्द्रनगरमा राजधानी बन्ने चर्चा भएको र विश्वविद्यालय तथा क्षेत्रीय अस्पताललगायतका भौत्तिक सुविधाको कारण पनि मानिसहरू बाहिरबाट नगरमा भित्रिएका छन् । एक वर्षको अवधिमा नै वीरेन्द्रनगर घरहरूले भरिएको छ । सबैभन्दा बढी नयाँ घरहरू वीरेन्द्रनगरको उत्तरगंगा र लाटीकोइली क्षेत्रमा बनेका छन् । त्यहाँ घडेरीको कारोबार पनि बढी भइरहेको छ ।
वीरेन्द्रनगरमा कर्णाली अञ्चलका साथै हिजोआज भेरीका पहाडी जिल्ला र राप्तीका सल्यान र रुकुमबाट घडेरी खरिद गर्न थालेका छन् । यस्तै अधिकांशले नयाँ घर निर्माणका लागि नक्सासमेत पास गराएर लगेका छन् । नगरपालिकाका अनुसार वीरेन्द्रनगरमा घर निर्माणका लागि आर्थिक वर्ष २०७१/०७२ मा नौ सय ३४ जनाले नक्सा पास गरेका थिए । उक्त संख्या बढेर बितेको आर्थिक वर्ष २०७२/०७३ मा तीन हजार तीन सय २६ पुगेको थियो ।
नगरपालिकाका सबइन्जिनियर किशोर कँडेलले भने, 'बिगतभन्दा नयाँ घर निर्माण गर्नेको संख्या बढेको छ, नगरपालिकामा नक्सा पास गर्न आउनेहरूको भीड नै लाग्ने गरेको छ । नगरपालिकाको क्षेत्र बिस्तार भएको र राजधानीको चर्चाले घर बनाउनेहरूको संख्या बढेको हुन सक्छ ।' उनका अनुसार चालू आर्थिक वर्षको साउनदेखि हालसम्म ३२ वटा नयाँ घरको नक्सा पास भएको छ । कतिपयले नक्सा नै पास नगरी घर बनाउने गरेका छन् जसले गर्दा सबै तथ्यांक नगरपालिकासँग हुँदैन ।
घर निर्माणको क्रम बढेको र घडेरीको रूपमा जग्गा बिक्री हुन थालेपछि वीरेन्द्रनगर उपत्यकामा खेतीयोग्य जमिन घट्दै गएको छ । पछिल्लो समय आफूखुसी बाटो खन्ने र जग्गा पल्टिङ गर्ने क्रम बढेकाले पनि उपत्यका बिस्तारै कुरूप हुँदै गएको स्थानीयको गुनासो छ । यसअघि निर्माण भएको उपत्यकाको गुरुयोजना अहिले अलपत्र परेको छ । गुरुयोजना अनुसार काम नहुँदा वीरेन्द्रनगरमा जथाभावी घर निर्माण भएका छन् । यसले नगरको सुन्दरता बिगारेको स्थानीयको गुनासो रहेको छ ।
यसैबीच नगरपालिका कार्यालयले वीरेन्द्रनगरमा आफूखुसी नक्सा पासबिना निर्माण गरिएका तीन हजार घरलाई पुनः नक्सा पास गर्न लगाएको छ । प्रादेशिक राजधानीको चर्चासँगै वीरेन्द्रनगरमा थप गाविस पनि भागिएका छन् । यस्तै नगरपालिकालाई अब उपमहानगरपालिका बनाउन हालै मात्र जिल्ला प्राविधिक सहयोग समितिले केन्द्रमा सिफारिस गरेको छ । पछिल्लो समय जाजरकोट, सल्यान, रुकुम र कर्णालीबाट बढी मानिसले वीरेन्द्रनगरमा घडेरी खरिद गरेका छन् ।