कलेजमा महिलालाई रात्रिकालीन कर्फ्यू
पुने: भारतको पुनेमा अवस्थित सरकारी मेडिकल कलेज ‘बाइरामजी जेजेभोय मेडिकल कलेज’मा छात्राहरूलाई मध्यरातपछि कलेजको पुस्तकालय प्रयोग गर्न रोक लगाइएको छ।
कलेजका डिनले निर्देशन जारी गर्दै यस्तो रोक लगाएको भारतीय पत्रिका ‘द टाइम्स अफ इन्डिया’ले जनाएको छ। यद्यपि छात्रहरूका लागि भने त्यस्तो कुनै समयसीमा तोकिएको छैन। डिनको निर्देशनलाई कडाइका साथ लागु गरिएको छ। राति सवा एघार बज्नासाथ सुरक्षागार्डहरू आउँछन् र पुस्तकालयमा अध्ययन गरिरहेका छात्रालाइ बाहिर निस्कन बाध्य पार्छन्। साढे पाँच वर्षे एमबीबीएस अध्ययन गरिरहेका पहिलो वर्षका छात्राहरूलार्इ त राति साढे ९ बजेसम्ममै होस्टल छिरिसक्नुपर्ने आदेश दिइएको छ।
डिनले जारी गरेको निर्देशनमा छात्राहरू राति साढे ९ बजेसम्म होस्टेल छिरिसक्नुपर्ने समेत उल्लेख छ। केही छात्राहरूले सुरक्षागार्डहरूले राति एघार बजेपछि पुस्तकालय छोड्न बाध्य पारेको गुनासो गरेका छन्। छात्रहरूले जुनसुकै बेला प्रयोग गर्न पाउने पुस्तकालयको लागि आफूहरूको लागि भने समयसीमा तोकिएकोमा छात्राहरूले रोष प्रकट गरेका छन्।
डिनको यो निर्देशन विश्वविद्यालय अनुदान आयोगको सक्षम प्रतिवेदनसँग बाँझिएको छ। सो प्रतिवेदनमा कुनै पनि शैक्षिक संस्थाले लैंगिक विभेद हुने निर्णय वा आदेश दिन नमिल्ने उल्लेख गरेको छ। छात्राहरूले पोस्ट् ग्य्राजुएट प्रवेश परीक्षा आउँदो महिना हुन लागेको र सो परीक्षा तयारीका लागि पुस्तकालयभन्दा अरू स्रोत नरहेको जनाएका छन्।
‘हामी निकै जरूरी किताब मात्र किन्न सक्छौं अरू किताब पुस्तकालयमै बसेर पढ्नुपर्छ’ एक छात्राले भनिन्, ‘कलेजले हामीलाई पोस्ट ग्य्राजुएट प्रवेश परीक्षा पास गर्न अप्ठेरो बनाएको छ।’ अचम्मलाग्दो त, धेरैजसो छात्रहरूले भने यो निर्णयलाई विभेदकारी ठानेका छैनन्। ‘यो केटीहरूकै सुरक्षाको लागि हो। पुस्तकालयदेखि होस्टल एक किलोमिटर पर छ। उनीहरू समयमै होस्टल जानु ठीक हुन्छ।’ एक छात्रले भने।