गुटु-बेनीघाट सडक जीर्ण
सुर्खेतः आवश्यक मर्मतसम्भारको अभावमा सुर्खेतको पश्चिम क्षेत्रलाई सदरमुकाम वीरेन्द्रनगरसँग जोड्ने मुख्य मार्ग गुटु-बेनीघाट सडकको अवस्था जीर्ण बन्दै गएको छ । सडकको अवस्था जीर्ण बन्दै गएपछि अहिले स्थानीयलाई यात्रामा सकस भएको छ । सदरमुकाम आउने अर्को विकल्प नभएपछि त्यस क्षेत्रका नागरिक जीर्ण सडकमै आँखा चिम्लेर यात्रा गर्न बाध्य भएका हुन् ।
समग्र पश्चिम सुर्खेतको विकासमा महत्वपूर्ण अंग मानिएको यो सडकलाई जिल्ला विकास समितिले पनि हरेक जिल्ला परिषद्मा प्राथमिकता दिँदै आएको छ । अर्कोतर्फ यही सडकको सुधार गर्ने नारा दिएर धेरै नेताले भोट पनि मागे ।
तर, वर्षौंसम्म पनि यो सडकको स्तरोन्नति तथा कालोपत्रे हुन सकेको छैन । लामो समयसम्म पनि सुधार नभएपछि अहिले यो सडक जीर्ण बन्दै गएको हो । सडकलाई नै मुख्य नारा बनाएर चुनाव जितेका सांसद्समेत अहिले गाउँ जाँदा उक्त सडकमा आफै नाक खुम्च्याएर यात्रा गर्ने गरेका छन् ।
बर्खाको समयमा पानी र बाढीले जीर्ण बनेको सडक सुधारमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । सडकभरि खाल्डाखुल्डी छन् । कतिपय ठाउँमा सडकमै कुलो बनाउँदा त्यसले थप क्षति पुर्याएको छ । सडकको अवस्था बेहाल भए पनि यसको मर्मतसम्भारमा कसैले चासो नदिएको लगामका बासिन्दा कमल कठायत बताउँछन् ।
‘वर्षौं भयो सडकमा मर्मतसम्भारको काम भएको छैन’, उनले भने, ‘सदरमुकाम जाने अर्को विकल्प छैन, यही जीर्ण सडकमा आँखा चिम्लेर यात्रा गर्न बाध्य छौं । दर्जनौं दुर्घटना भइसके, तर कसैले सुधारको चासो दिएका छैनन् ।’ सडकको अवस्था निकै जीर्ण भएपछि हाल उक्त सडकमा जिप मात्र सञ्चालन हुने गरेका छन् । स्थानीय बासिन्दा जिपमै जोखिमपूर्ण यात्रा गर्दै आएका छन् ।
‘सदरमुकाममा काम परिरहन्छ, हिँडेर आउन धेरै दिन लाग्छ’, कठायतले भने, ‘त्यसैले जस्तोसुकै अप्ठ्यारो बाटो भए पनि हामीले ज्यान जोखिममा राखेरै यात्रा गरिरहेका छौं, सडक सुधार नहुँदा हामीलाई धेरै सास्ती छ ।’
गुटु-बेनीघाट सडकमा बारम्बार गाडी फस्ने गरेका छन् । सडकमा यात्रुले नै गाडी धकेल्नुपर्ने बाध्यता अहिले पनि हटेको छैन । सडकअन्तर्गत पर्ने अधिकांश खोलामा पक्की पुल नहुँदा थप समस्या भएको हो ।
खोलामा अहिले काठका पुल निर्माण गरेर जबर्जस्ती गाडी सञ्चालन गरिएको छ । यसले पनि यो सडकखण्डमा सवारी दुर्घटनाको जोखिम बढेको हो । हालसम्म भएको दुर्घटनमा यो सडकमा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । बिजौरादेखि लगामसम्मको सडक अत्यन्तै जीर्ण र जोखिमपूर्ण रहेको स्थानीयको भनाइ छ ।
सडकका कतिपय स्थानमा पहिरोले समेत क्षति पुर्याएको कठायतले जानकारी दिए । ‘सडकको अवस्था हेर्ने हो भने जीउ नै सिरिंग हुन्छ । तर, त्यसको विकल्प नहुँदा स्थानीयवासी जोखिम मोलेरै जिपको यात्रा गर्न बाध्य छन्’, बेतानका अमृत आलेले भने ।
जिल्लास्तरीय राजनीतिक दलका प्रमुख पदहरूमा पश्चिम सुर्खेतका नेताहरूको बाहुल्य छ । तर, उक्त सडकको स्तरोन्नतिका लागि उनीहरूको ध्यान नपुगेको पश्चिमवासीको गुनासो छ । ‘विकासको पहिलो पूर्वाधार नै सडक हो’, बेतानका हरि कार्कीले भने, ‘तर, हाम्रो क्षेत्रमा सडककै बेहाल छ, कसरी हुन्छ यस क्षेत्रको विकास ? ’ पश्चिम क्षेत्र विकासमा पछाडि पर्नुको प्रमुख कारण नै सडक भएको उनले बताए । यहाँका जनप्रतिनिधिका रूपमा रहेका नेताले सडक सुधारका लागि चासो नै नदिएको समेत उनले आरोप लगाए ।
गुटु-बेनीघाट सडक त एउटा उदाहरण मात्रै हो । पश्चिम सुर्खेतका अधिकांश ग्रामीण सडकको अवस्था पनि यस्तै छ । ती सडकले नागरिकलाई सुविधाभन्दा बढी सास्ती दिएको स्थानीयवासीको गुनासो छ ।
वनको काठ निकासी गर्न डोजर लगाएर थुप्रै सडक निर्माण गरिएको तर नागरिकलाई सुविधा दिने गरी सडक निर्माणमा ध्यान नदिइएको कार्कीको भनाइ छ । पश्चिमका ग्रामीण क्षेत्रमा बिरामी पर्दा एम्बुलेन्स लैजान सक्ने अवस्थासमेत नरहेको उनी बताउँछन् । बर्खाले क्षति पुर्याएका सडक तत्काल मर्मतसम्भार गरी आफूहरूलाई सुविधा दिन पश्चिम सुर्खेतवासीले अनुरोध गरेका छन् ।