प्रहरीले ई-रिक्सा चल्न नदिएपछि चालकहरू आन्दोलनमा
वीरगन्जः वीरगन्जमा प्रहरीले ई-रिक्सा सञ्चालनमा रोक लगाएपछि चालकहरूले त्यसको विरोध गरेका छन् । मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको निर्देशनमा वीरगन्जमा प्रहरीले बुधबारदेखि ई-रिक्सा सञ्चालनमा रोक लगाएको हो ।
चालक अनुमतिपत्र नभएको भन्दै प्रहरीले नगरक्षेत्रमा चल्दै आएका ई-रिक्सा पनि नियन्त्रणमा लिएको छ । प्रहरीले नगरका विभिन्न स्थानबाट बिहीबार साँझसम्म दुई सय १४ वटा ई-रिक्सा नियन्त्रणमा लिएर अन्चल प्रहरी कार्यालय वीरगन्ज परिसरमा राखेको छ ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)विना चलाइएका रिक्सा नियन्त्रणमा लिइएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए । मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले पठाएको निर्देशनसहितको पत्रका आधारमा लाइसेन्स नभएका ई-रिक्सा सन्चालनमा रोक लगाइएको उनको भनाइ छ । बुधबार दिउँसो प्रहरी र ट्राफिक प्रहरीले नगरक्षेत्रमा यात्रु बोकेर गन्तव्यतर्फ गइरहेका ई-रिक्सालाई नियन्त्रणमा लिन थालेपछि यात्रु पनि आक्रोशित भएका थिए ।
प्रहरी र ट्राफिक प्रहरीले अचानक बाटोमै ई-रिक्सा नियन्त्रणमा लिएपछि चालकहरू आन्दोलित भएका हुन् । उनीहरूले बुधबार अपराह्न जिल्ला प्रहरी कार्यालय पर्साअघि टायर बालेर केही समय नाराबाजीसमेत गरेका थिए । उनीहरूले बिहीबार बिहान पनि घन्टाघर चोकमा भेला भएर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरे ।
पूर्वजानकारीबिना प्रहरीले गुडिरहेका ई-रिक्सा नियन्त्रणमा लिएर ‘दादागिरी’ प्रदर्शन गरेको उनीहरूको आरोप छ । वीरगन्जमा ई-रिक्सा चल्न थालेदेखि अहिलेसम्म यातायात व्यवस्था कार्यालयले लाइसेन्स वितरण नगरेको, एक वर्ष केही नभनेको र अहिले त्यो पनि अकस्मात् प्रहरी कारबाहीमा उत्रिएको चालकहरूको भनाइ छ ।
लाइसेन्सका लागि आफूहरूले निवेदन दिइसकेको र यातायात व्यवस्था कार्यालयले मंसिर ८ गते ट्रायलका लागि बोलाएको अवस्थामा प्रहरीले अचानक ई-रिक्सा नियन्त्रणमा लिनु ‘दादागिरी’ प्रदर्शनबाहेक अरू केही नभएको नारायणी अटो रिक्सा सञ्चालक कम्पनी प्रालिका अध्यक्ष जितेन्द्र पटेलले बताए । ‘लाइसेन्स खुलेकै छैन, कहाँबाट लिनु ? ’, उनले भने, ‘ट्राफिकलाई जतिबेला मन लाग्छ, पक्राउ गर्छ अनि पैसा असुल्छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक रवीन्द्र भट्टले भने गत कात्तिक ११ गते नै ई-रिक्सा व्यवसायी संघलाई पाँच दिनको अल्टिमेटम दिइएको दाबी गरे । लाइसेन्स नभएका ई-रिक्सा नचलाउनू भनेर लिखितपत्र नै पठाएको उनले बताए ।