ललितपुरमा ७ स्थानीय तह प्रस्ताव

ललितपुरमा ७ स्थानीय तह प्रस्ताव

ललितपुर: दलहरुका बीचमा सहमति हुन नसकेपछि जिल्लास्तरको स्थानीय निकाय पुनःसंरचना प्राविधिक समितिले सात तहको प्रस्तावित खाका स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाएको छ।

एक महानगरपालिका, एक उपमहानगरपालिका, दुई नगरपालिका र चारवटा गाउँपालिकासमेत गरेर सात तह प्रस्ताव गरिएको जिल्ला विकास समितिले जनाएकोे छ। स्थानीय निकाय पुनःसंरचना आयोगले तोकेको अन्तिम मितिसम्म सहमति हुन नसकेपछि प्राविधिक समितिले नै सो खाका पठाएको हो । दलहरुले भने दलको भूमिकालाई बेवास्ता गरेको आरोप लगाउँदै समितिले पठाएको खाकाप्रति असन्तुष्टि जनाएका छन् ।

जिविसले केन्द्र पुल्चोक नै रहने गरी हालको ललितपुर उपमहानगरपालिकालाई ३० वडा बनाएर महानगरपालिका प्रस्ताव गरेको छ । प्रतावित खाकामा गोदवारी नगरपालिका र महालक्ष्मी नगरपालिका समायोजन गरेर महागोदावरी उपमहानगरपालिका प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको केन्द्र सिद्धिपुर पानीट्याङ्की हुने प्रस्ताव गरिएको छ ।

यस्तै केन्द्र छम्पीमा रहने गरी बज्रविनायक नगरपालिका प्रस्ताव गरिएको छ । बज्रबाराही नगरपालिका र कार्यविनायक नगरपालिकामा देवीचउर गाविससमेत मिलाएर सो नयाँ नगरपालिका प्रस्ताव गरिएको हो ।

प्युटार, आश्राङ, गिम्दी र ठूला दुर्लुङ रहने गरी बागमती गाउँपालिका प्रस्ताव गरिएको छ । यो गाउँपालिकाको केन्द्र सुवाने बेसीमा राख्न भनिएको छ भने दक्षिण पूर्वमा पर्ने पाँच गाविसलाई समेटेर बन्न लागेको महाँकाल गाउँपालिकाको केन्द्र गोटीखेलमा राख्न प्रस्ताव गरिएको छ । गोटीखेल, बुखेल, मानिखेल, चन्दनपुर, कालेश्वर गाविस यस गाउँपालिकामा पर्नेछ ।

तामाङ जाति संरक्षित केन्द्रका रुपमा प्रस्ताव गरिएको कोन्जेसोम गाउँपालिकामा नल्लु, भारदेउ, चौघरे दलचोकी र शङ्खु गाविस परेका छन् । सो गाउँपालिको केन्द्र चौघरेको नामले चौर केन्द्र प्रस्ताव गरिएको छ । भटेडाँडा केन्द्र रहनेगरी घुसेल, माल्टा, भट्टेडाँडा र इकुडोल गरेर चार गाविसलाई खानीखोला गाउँपालिका प्रस्ताव गरिएको छ ।

नौवटा तहसम्म प्रस्ताव गरिएकामा पछिल्लोपटक सात तह प्रस्ताव गरिएको सूचना शाखामा कार्यरत सावित्री बजगाईंले बताइन्। उनले भनिन्,'पहिले गाविसका वडा छुट्याएर पठाइएको भए पनि पछिल्लोपटक पठाइएको प्रस्तावमा कुनै पनि गाविस टुक्र्याइएको छैन ।'

दलहरुका बीचमा घुसेल र देवीचउर गाविसको विषयमा विवाद रहेको थियो । यी दुई गाविसलाई गाउँपालिकामा राख्नुपर्ने नेपाली काँग्रेसले बताउँदै आएको थियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भने नगरपालिकामा राख्नुपर्ने बताउँदै आएका थिए ।

एमाले उपाध्यक्ष श्याम कृष्ण सिलवालले दललाई बेवास्ता गरेर प्राविधिक समितिले प्रस्तावित खाका पठाएको आरोप लगाए। उनले भने,'हामीले कम्तीमा आठवटा तह बनाएर पठाउँभन्दा सातमात्रै पठाएको छ। घुसेल उपत्यकामा पर्ने भएकाले गाउँपालिकामा राख्न नहुने उनले बताए । उपत्यकाका सबै गाविसलाई नगर बनाउने राज्यको नीति छ।'

नेकपा (माओवादी केन्द्र)का जिविस प्रतिनिधि राम आचार्यले दलहरुसँग सहमति नभएकाले सात तह प्रस्ताव भएको बताए । नगरोन्मुख ठाउँमा चार तह र दक्षिण ललितपुरमा चार गरेर आठ तह हुनुपर्नेमा जोड दिंदै आएका थियौं । उनले भने,'दक्षिणमा त ठिकै हो तर नगरमा एउटा बढी हुनुपर्ने हाम्रो माग हो ।' उपमहानगरपालिकामा सैँबु, खोकना र बुङ्मती थपेर महानगरपालिका प्रस्ताव गर्नुपर्ने उनले बताए । जनसङ्ख्या पुगेको नगरपालिका भएकाले महालक्ष्मी नगरपालिकामा अन्यत्र थप्न नहुने उनले बताए । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.