‘राष्ट्रपति भण्डारीको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध थप मजबुद हुन्छ’
काठमाडौंः भारतका लागि नवनियुक्त नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध झनै उचाइमा पुग्ने बताएका छन्।
उपाध्यायले द्विपक्षीय उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनका लागि ठूलो भूमिका खेल्ने बताएका हुन्। उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति भण्डारीलाई भारत भ्रमणको निम्तो दिइसकेकाले अब कहिले जाने भन्नेबारेमा नेपालले निर्णय गर्ने कुरा भएको स्पष्ट पारे।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नवनियुक्त राजदूत उपाध्यायले सानातिना कुराहरुलाई अगाडि ल्याउने भन्दा पनि आगामी दिनमा नेपाललाई कसरी फाइदा पुग्छ भन्ने कुरामा आफूहरुले ध्यान दिनुपर्ने बताए। उनले भने,‘द्विपक्षीय उच्च भ्रमणले सम्बन्ध प्रगाढ बनाउँछ, हाम्रोपनि राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा छिट्टै जाँदै हुनुहुन्छ, यसले गर्दा द्धिपक्षीय नेपाल–भारत सम्बन्ध अत्यन्तै प्रगाढ बन्छ।’
राजदूत उपाध्यायले संविधान कार्यान्वयनमार्फत नेपालमा दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको मुल एजेण्डामा अघि बढ्नको लागि मित्रराष्ट्र भारतको अत्यन्तै आत्मिक सहयोगको आवश्यकत्ता रहेको समेत औंल्याए।
भारतले नेपाललाई सहयोग गर्नैपर्ने बताउँदै उनले भने,‘खासगरी समुन्नत भारत र समुन्नत चीनको बीचमा नेपाल छ, गरिब राष्ट्रको रुपमा रहिरहनु दुवै देशलाई फाइदा छैन्, यो कुरा उनीहरुले पनि महशुस गरेका छन्।’ भारत र चीन दुवै समृद्ध राष्ट्र भएकोले दुवै देशबाट नेपालले लाभ लिनुपर्नेमा उनको जोड थियो। उपाध्यायले भने,‘मित्रराष्ट्र हाम्रो लागि उत्तिकै प्राथमिकतामा छन्, आजको दिनमा चीनसँग सञ्चित पूँजी छ, त्यसको आज सबैले उपयोग गरिरहेका छन्, प्रविधि छ, त्यसलाई हामीले उपयोग गर्नुपर्छ।’