सम्बन्धको लालपुर्जा

सम्बन्धको लालपुर्जा

एकैपटक पत्नी, बुहारी, काकी, माइजूलगायत अनेकन रूप एकैपटक धारणा गरेर सामाजिक जिम्मेवारी निर्वाह गर्न एक छोरीले गरेको मानसिक श्रम जोख्ने कुनै तराजु छ कतै ? एक महिलाले पूरा गर्ने शारीरिक र मानसिक श्रमको मूल्यबोध गर्ने चेत नभएको समाज 'केही गर्दिन हाउसवाइफ हुँ' भन्न लगाउँछ ।

रमेश अंकल घरमा आएको निकै मन पथ्र्यो मेरा केटाकेटीलाई । बच्चालाई असाध्यै माया गर्ने उनको स्वभाव थियो । आँखामा लोभलाग्दो कालो चस्मा लगाएर आइरन गरेका टलक्क टल्किने लुगामा सजिएर उनी हिँड्थे । हाँसेर बोल्ने मीठो कला थियो उनीसँग । केटाकेटीलाई चकलेट र बिस्कुट ल्याउन नबिर्सने उनको स्वभावसँग केटाकेटी लट्ठै थिए ।

अंकल आएर सोफामा बस्नेबित्तिकै उनका भाइले अमेरिकाबाट पठाइदिएको लामो आइफोन अगाडि टेबलमा राख्नासाथ मेरो छोरो अनुमतिसमेत नलिई सुटुक्क मोबाइल आफ्नो हातमा लिएर गेम खेल्न थाल्थ्यो । कसैको फोन आएपछि मात्र अंकलको हातमा फोन पुग्थ्यो । आजभोलिका बच्चाहरूमा 'क्ल्यास अफ क्लेन्स' गेम खेल्ने होडबाजी नै चलेको छ । मेरो साथी अनलाइन आइसक्यो होला भन्दै फेसबुकको अनलाइनझैं गेमको अनलाइनमा केटाकेटी दौडेको देख्दा हैरानीले लखतरान भएकी छु म ।

तिनै अंकल आज घरमा आएका थिए । सदाझैं श्रीमान् र उनी बैठककोठामा बसेर गफ गरिरहेका थिए । उनको निम्ति कफी बनाएर बैठककोठामा पस्नमात्र के लागेकी थिएँ, केही गम्भीर कुरा सुनेजस्तो लाग्यो । ढोकामा बसेर अरूका कुरा सुन्नु बुद्धिमानी होइन भन्ने थाहा पाउँदापाउँदै पनि मूर्तिझैं जडवत् बन्न पुगेँ म ।

'यत्रो घर भाउजूको नाममा पास गरिदिइस् है तैंले ? म भए सक्दिनथेँ यार ? श्रीमतीको आफ्नो कमाइ उसले जेसुकै गरोस् त्यसमा म केही हस्तक्षेप गर्दिनँ । तर पैतृक सम्पत्ति र आफूले दुःख गरी कमाएको धनले बनाएको घर राजीनामा गरेर श्रीमतीको नाममा ल्याप्चे लाउन म कुनै हालतमा पनि सक्दिनथेँ । तेरो उदार मनलाई मान्नैपर्छ बा ।'

धेरै बेर ढोकामा उभिन चाहिनँ । सामान्य औपचारिकतापछि केही नसुनेझैं गरी म कफी लिएर भित्र पसेँ । लामो समयपछि भेट्न आएको आफ्नो साथीको मुखतिर हेरेर मेरा श्रीमान् मुसुमुसु हाँसिरहेका रहेछन् । कफीका कपहरू हातहातमा नै दिएँ । मगबाट कफीको वासना र बाफ हरर उडिरहेको थियो । छोरो अंकलको फोनमा झुन्डिसकेको थियो । उसलाई म त्यहाँ पुगेको पनि थाहा छैन कि जस्तो लाग्यो । भर्खर आफूले गरेको वार्तालाप पक्कै पनि भाउजूले सुनेकी छैनन् भन्ने अनुमान अंकलले गरे ।

'भाउजू बस्नुस् न यतै....।' ठिंग उभिएकी मतिर हेर्दै अंकल बोले । श्रीमान्जीले आफ्नो आडैमा बसोस् भनेर अलि पर सरेर ठाउँ बनाए पनि मलाई त्यहाँ बस्न पटक्कै मन लागेन । 'चुल्होमा दाल बसाएकी छु, फेरि तरकारी पनि काटकुट गर्नु छ', बहाना बनाउँदै निस्केँ म । सकेसम्म उज्यालो अनुहार बनाउने प्रयास त छँदै थियो । कोठाबाट बाहिरिए पनि कानमा भने त्यही वाक्य गुञ्जिइरहेथ्यो, 'भाउजूका नाममा घर पास गर्न कसरी सकिस् यार तैंले ? '

उनी सोच्दा हुन्, ' श्रीमतीका नाममा आफ्नो सम्पत्ति कानुनी रूपमा राख्नु सबैभन्दा ठूलो मूर्खता हो ।' सायद उनको मनमा डर होला, 'भोलि दाम्पत्य जीवनमा समझदारी नभएर श्रीमतीसँग छुट्टिनु पर्‌यो भने ? अथवा आफ्नो सम्पत्ति लिएर श्रीमतीले अरू कसैसँग सम्बन्ध गाँसी भने ? ' होइन भने यति धेरै आश्चर्य मान्नुपर्ने विषय त होइन, कम्तीमा मेरो लागि । अचल सम्पत्ति न हो, नाम त श्रीमान् र श्रीमतीको नाममध्ये जसको नाममा राखे पनि त के नै फरक पर्ने थियो र ? सोच नै त हो सबैभन्दा ठूलो । सबै श्रीमतीले श्रीमान्‌को नाममा सम्पत्ति राख्दा पनि यस्तै सोचिदिने हो भने विश्वास भन्ने हराएर जान्थ्यो होला यो दुनियाँबाट, सायद ।

देशदुनियाँका कुरा गर्ने उनले साथीले आफ्नी श्रीमतीको नाममा सम्पत्ति पास गर्दा राखेको धारणाले म छक्क परेँ । समाज परिवर्तनको जतिसुकै चर्चा गरे पनि समाजको मनोविज्ञानमा चेपिएका यी ससानाजस्ता लाग्ने विषयले सामाजिक चिन्तनको मूल स्वरूप उस्तै रहेको पुष्टि गर्छन् ।

आफू जन्मिएको घर, खेलेको आँगन, जन्म दिने बाबुआमा र सारा साथीसंगी छाडेर एउटी छोरी बिहेपछि कर्मघर जान्छिन् । उनका लागि विवाह चिठ्ठाजस्तै बन्छ । परिवारका सदस्य र श्रीमान् असल छन् भने त छोरीको जीवन सुखमय बन्छ नभए जीवन दुर्घटित भएको पनि देखिन्छ ।

पराईघर आइसकेपछि छोरी, श्रीमती, बुहारी र आमा बन्दा भोग्नुपर्ने अथाह कष्ट र पीडाको लेखाजोखा गर्ने तराजु संसारमा अहिलेसम्म बनेको छैन । एकैपटक पत्नी, बुहारी, काकी, माइजूलगायत अनेकन रूप एकैपटक धारणा गरेर सामाजिक जिम्मेवारी निर्वाह गर्न एक छोरीले गरेको मानसिक श्रम जोख्ने कुनै तराजु छ कतै ? एक महिलाले पूरा गर्ने शारीरिक र मानसिक श्रमको मूल्यबोध गर्ने चेत नभएको समाज 'केही गर्दिनँ हाउसवाइफ हुँ' भन्न लगाउँछ । तर विडम्बना ! यिनै महिला सधैंभरि शंकाको घेरामा परिरहन्छिन् ।

पुरुषप्रधान समाजले हरेक विषय-प्रसंगमा महिलालाई शंकाको घेरामा राख्छ । तर, पुरुष शंकाको दायराबाट सधैं मुक्त बनाइन्छ । अत्याधुनिक भनिएको समाजमा यस्तो प्रवृत्ति झनै बढ्दो छ ।

मेरी एक साथी थिइन्, साहित्यमा रुचि राख्ने । साहित्यिक कार्यक्रममा लैजान अनुरोध गरिरहन्थिन् । त्यसैले हरेक साहित्यिक कार्यक्रमको सूचना दिन थालेँ उनलाई फेसबुक म्यासेजमा । म्यासेज हेरेको देखाए पनि कुनै रिप्लाई भने आउँथेन, न त उनी कार्यक्रममा नै आइन् । एक दिन उनले फोन गरेर किन कार्यक्रममा नबोलाएको भनेर गुनासो गरेपछि छक्क परेँ म । पछि थाहा भयो, उनको फेसबुकको पासवर्ड उनका श्रीमान्सँग पनि रहेछ । श्रीमान्ले नै हेर्दा रैछन् सबै म्यासेज ।

श्रीमान्‌लाई उनी बाहिर निस्केको मन नपर्दो रहेछ । अफिसबाट आउँदा घरमा खाजा बनाएर बसोस् भन्ने चाहना रैछ उनको । त्यसैले कुनै पनि कार्यक्रमको खबर नै दिएनछन् उनले ।

'किन पासवर्ड दिएको नि ? ' सोधेँ मैले । 'लौ कसरी नदिनु, पूरै चेक हुन्छ त', जवाफ दिइन् उनले । 'अनि उनको फेसबुक पासवर्ड थाहा छ त तिमीलाई ? ' सोधेँ मैले । उनले थाहा नभएको र आफूले पनि चासो नराखेको बताइन् । उनले चासो नै नराखेको विषयमा उनका श्रीमान्ले भने पूरै चासो राख्नेमात्र होइन निगरानी राख्ने र साथीले पठाएको म्यासेजसम्म नबताउनुले के अर्थ दिन्छ ? त्यसमाथि उनका श्रीमान्ले त हरेक मानिसले गर्ने कमेन्टदेखि नोटिफिकेसनसम्म निगरानीमा राख्दा रहेछन् । यो प्रवृत्ति केवल मेरो साथीको श्रीमान्‌सँग मात्र छैन ।

प्रायः पतिहरूमा यो प्रवृत्ति देखिन्छ । विडम्बना ! यस्तै प्रवृत्तिले आज दाम्पत्य जीवन धरापमा पर्दै गइरहेको छ । सम्बन्धमा प्रश्नचिह्न खडा हुँदै गइरहेको छ किनभने आजकी नारी हिजोका पुराकथाहरूले निर्माण गरिदिएको मिथकजस्तो दमित, शोषित, अपहेलित नारी होइनन् । आजकी नारी हरेक अर्थमा समान अस्तित्व खोज्ने स्वतन्त्र नारी हुन् ।

सम्बन्धको चुरो विश्वासमा हुन्छ । विश्वास, माया र समझदारी भएन भने ईमेल, फेसबुक र ट्विटरका पासवर्ड थाहा पाएर पनि केही हँदैन । घर र जग्गाका लालपुर्जा कसैको नाममा भएर पनि केही हुँदैन । सम्बन्धको लालपुर्जा समझदारी र विश्वास हो । सम्बन्धको लालपुर्जा बलियो भएपछि अचल सम्पत्तिको लालपुर्जा कसको नाममा छ वा फेसबुकमा कसले कस्तो म्यासेज पठाउँछ भन्नेले कुनै अर्थ राख्दैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.