बर्हिगमित लडाकू भन्छन्,‘हाम्रो भविष्य सिंहदरबारले होइन, प्रचण्डले लुटेका हुन्’
काठमाडौंः बर्हिगमित जनमुक्ती सेना नेपालका अध्यक्ष लेनिन बिष्टले आफूहरुको भविष्य माओवादी नेतृत्व र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुटेको आरोप लगाएका छन्।
विष्टले बाल्यकालमा आफुहरूलाई बन्दुक बोक्न लगाउने सिहंदरबार र बालुवाटार नभएको भन्दै पार्टी नेतृत्व भएको आरोप लगाए। विष्टले विगत सात वर्षदेखि उठाउँदै आएका आफुहरूका मागलाई मूर्त रुप दिनका लागि माउ पार्टीको केन्द्रीय कार्यालय अघि शान्तिपूर्ण तरिकाले धर्ना बस्दा प्रशासन लगाएर धरपकड गर्न लगाउनुजस्तो अप्रिय काम गर्नु पार्टीको लागि फाइदा नहुने बताए।
शनिबार रिपोर्टर्स क्लब नेपालमा बहिर्गमित सेना नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘हाम्रा हरेक गतिविध र कामहरू आज राज्यको प्रशासनले नियालीरहेको छ, के हामीले आफ्ना मागहरू राज्य सामु उठाउने नपाउने हो? यहाँ मानव अधिकारकर्मीहरु र पत्रकारहरु कता छन्?’
कार्यक्रममा बर्हिगमित जनमुक्ती सेना नेपालका सल्लाहकार सुनिल लिम्बुले देशमा आएको परिर्वतनमा आफुहरूले ठुलो योगदान रहेको बताए। उनले भने,‘गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता लगायत उपलब्धिहरू योग्य हुने तर हामी चाँहि अयोग्य हुने? हामी वार्ता र सहमति अनुसार माग सम्बोधन भएको देख्न चाँहन्छाैं, यदि मागहरू सम्बोधन नभए आईएसआईको उदाहरण यहाँ नदेखिएलान भन्न सकिदैन।’
केन्द्रीय सदस्य भीम तामाङले पनि माग सम्बोधनको लागि आफूहरु निर्णायक आन्दोलनको तयारीमा जुटेको उल्लेख गरे। उनले भने,‘अरुका लागि पटक पटक लडियो, अब आफ्ना लागि लडौं एकपटक भन्ने मुल नाराका साथ आन्दोलन सुरु भएको छ, जबसम्म माग सम्बोधन हुँदैन, तबसम्म हामी कुनैपनि हालतमा पछि हट्दैनौंं।
पत्रकार सम्मेलनमा सरकारसामू उनीहरुले विभिन्न सात बुँदे मागहरु समेत अघि सारेका छन्। उनीहरुले सरकारले तत्काल हामी माथि लगाइएको ‘अयोग्य’ पदावली फिर्ता गरेर गणतन्त्रका योद्दा घोषणा गर्नुपर्ने, बर्हिगमनमा परेका ४ हजार ९ जनालाई जनसेनाको सरह व्यवहार गर्नुपर्ने, सरकार, तत्कालीन माओवादी नेतृत्व र सरोकारवाला पक्षले बाल सैन्य भर्तिबाट भएको अधिकारको उलंघनको जिम्मेवारी लिनुपर्ने, युद्धमा बाल अधिकारको उल्लघंन गर्ने राज्य र बिद्रोही पक्षलाई घरेलु तथा अन्तर्राष्ट्रिय सिद्दान्तका आधारमा न्याय पाउनु पर्ने लगायतका माग अघि सारेका छन्।