मम्स ब्रान्डका नयाँ प्रोडक्ट नेपालमा
काठमाडौः भारतीय कम्पनी आम्रपाली बायोटेक इन्डिया प्रालिअन्तर्गत मम्सका नयाँ ब्रेकफास्ट प्रोडक्ट काठमाडौंमा सार्वजनिक गरिएको छ । नेपाली बजारमा आठ वर्षदेखि बिक्रीवितरण भइरहेका मम्सका नयाँ प्रोडक्ट चोकोफ्लेक्स, चोकोफिल्स, मुसली र पोरिज औपचारिक रूपमा नेपाली बजारमा भित्रिएका हुन् ।
कम्पनीका अध्यक्ष अनिलकुमार शर्मा, निर्देशकद्वय रितिक सिन्हा र स्वप्निल शिखा तथा सेल्स एन्ड मार्केटिङ प्रमुख प्रभातकुमार सिंहले सम्युक्त रूपमा नयाँ प्रोडक्ट सार्वजनिक गरेको कम्पनीले जनाएको छ । बजारमा मम्सका अचार, जाम, कर्नफ्लेक्स, जुस, ससलगायतका ७२ भन्दा बढी प्रोडक्टको कारोबार भइरहेको छ ।
नेपाली बजारमा मम्सका उत्पादन निक्सोन एक्स्पोर्ट इम्पोर्ट प्रालि, सन्तोष भेराइटिज र प्रथम ट्रेड लाइन प्रालिले बिक्रीवितरण गरिरहेका छन् । भारतमा फुड प्रोडक्टमा सबैभन्दा धेरै कारोबार गरिरहेको आम्रपाली ग्रुपले भुटान, बंगलादेश र मिडिलइस्टका विभिन्न देशमा आफ्ना उत्पादन बिक्री गरिरहेको छ ।
निकट भविष्यमा नेपालमै प्लान्ट राखेर उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ । आम्रपाली ग्रुपका नेपालस्थित कन्ट्रि हेड जनक ओलीले नेपालमा उत्पादन गरेर भारतमा पनि निर्यात गर्ने लक्ष्य लिएको बताए । आम्रापाली बायोटेक इन्डियाका अध्यक्ष शर्माले नेपालसँगको आफ्नो सम्बन्ध नजिक भएकै कारण भारतमाभन्दा पहिले नेपालमा प्रोडक्ट सार्वजानिक गरेको बताए ।