माओवादी सांसद् पाण्डेको निधन
काठमाडौंः नेकपा माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको निधन भएको छ। एक वर्षदेखि क्यान्सरबाट पीडित सांसद पाण्डेको सोमबार ६२ वर्षको उमेरमा नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा सोमबार विहान निधन भएको हो ।
पाण्डेको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि मंगलबार विहान ९ देखि ११ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा राखिने पारिवारिक स्रोतले जनाएको छ। विसं २०११ साल पुस ५ गते अर्घाखाँचीको अर्घातोषमा जन्मिएका पाण्डेले सशस्त्रद्वन्द्वका समयमा माओवादीको आपूर्ति विभागको पहिले केन्द्रीय सदस्य र पछि इञ्चार्ज भएर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
युद्धका क्रममा पाण्डेले निकै जोखिम मोलेर भारत र अन्य मुलुकबाट पार्टीका लागि स्याटलाइट फोन, हातहतियार, गोलीगठ्ठा र अन्य युद्ध सामाग्री भित्र्याएका थिए। पाण्डे विसं २०२९ सालमा अर्घाखाँचीमा चर्चित हरेबर्रे आर्थिक एक्सनको सैनिक कमाण्डर बनेबा थिए। पाण्डेले २०२७ सालमा पुष्पलाल समूहको सदस्यता लिएर कम्युनिष्ट राजनीति सुरु गरेका थिए।
पुष्पलाल समूह, नेकपा माले हुँदै ४० सालमा मोहन विक्रम सिहंको मसालमा प्रवेश गरेका पाण्डेले १४ वर्ष काम गरेर मसाल त्यागेपछि दिनानाथ शर्मासँगै तत्कालीन नेकपा माओवादीमा प्रवेश गरेका थिए। पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।