‘सरकारलाई बदनाम गराउन आइजीपी हटाउने हल्ला चलाइयो’
वीरगन्जः स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारलाई बदनाम गराउनका लागि नेपाल प्रहरीका प्रहरी महानिरिक्षक (आइजीपी) उपेन्द्रकान्त अर्याललाई हटाउने हल्ला चलाइएको बताएका छन्।
प्रेस सेन्टर पर्साले वीरगन्जमा सोमबार गरेको पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले आइजीपी अर्याललाई हटाउने हल्ला हल्लामा मात्रै सीमित हुने बताए। ‘सरकारलाई विवादमा ल्याउनका लागि मात्रै यो हल्ला चलाइएको हो,’उनले भने,‘विगतामा पनि यस्ता प्रोपगण्डाहरु फिजाइएको थियो, अहिले पनि सरकारलाई विवादमा ल्याउने कुनियतले नै यो हल्ला चलाइएको हो। यो हल्ला पानीको फोका जस्तै हो,आफै फुटेर जान्छ।’
मन्त्री पाण्डेले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको पनि आरोप लगाए। उनले भने ,‘विभेदमा पारिएका, पिछडिएका र शोषित समुदायको अधिकार खोस्ने र गणतन्त्रलाई सिध्याउने खेल भइरहेको छ।’ राष्ट्रिय सहमतिका साथ संविधान संशोधन गरेर असन्तुष्ट पक्षको माग सम्बोधन गर्नका लागि सरकार लागि परेको उनले दाबी गरे।
संविधान संशोधनका लागि दुई तिहाइ बहुमत चाहिन्छ। यसका लागि सरकारले प्रतिपक्षी दलसंग निरन्तर छलफल र परामर्श गरिरहेको छ,’ मन्त्री पाण्डेले भने,‘संविधान कार्यान्वयनका लागि सरकारले हरेक उपाय अपनाउँछ।’
सरकारले आफनो सय दिनको कार्यकालमा जनतालाई महसुस हुने खालका धेरै कामहरु गरेको दाबी गर्दै मन्त्री पाण्डेले आगामी चैतमा स्थानीय निकायको निर्वाचन गर्नै पर्ने बाध्यता रहेको बताए।
उनले २०७४ सालको माघभित्रमा तीनवटै तहको निर्वाचन सम्पन्न गरिने भन्दै संसदमा पेश भएको अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित भएरै छाड्ने दाबी पनि गरे।