प्रधानसेनापति क्षत्री मंगलबार बंगलादेश जाँदै
काठमाडौं: प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार बंगलादेश भ्रमणमा जाँदैछन्। बङ्गलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद सफिउल हकको औपचारिक निमन्त्रणामा प्रधान सेनापति ६ दिने औपचारिक भ्रमणका लागि बङ्गलादेशको जान लागेका हुन्।
भ्रमणका क्रममा प्रधान सेनापति क्षत्रीले बङ्गलादेशका राष्ट्रपति, सेना प्रमुख लगायत अन्य विशिष्ट व्यक्तिसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । क्षत्रीले बङ्गलादेश नेसनल डिफेन्स कलेज लगायत अन्य सैनिक एकाइ तथा संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।
प्रधानसेनापति क्षत्रीको भ्रमण दलमा श्रीमती रीता, सुदूरपश्चिम पृतनापति दीपकप्रसाद भारती, प्रधान सेनापतिका सैनिक सहायकसहित आठ जना रहने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।