कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने
काठमाडौंः कुमारी बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार लामाको अध्यक्षतामा सोमबार बसेको विशेष साधारण सभाले हालको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । साथै सभाले बैंकको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी वृद्धि गर्न प्रवन्धपत्रमा संशोधन प्रस्तावसमेत पारित गरेको छ ।
पारित प्रस्तावबमोजिम अधिकृत पुँजी १० अर्ब पुर्याउने र हकप्रद सेयर जारी गरेपछि बैंकको जारी तथा चुक्ता पुँजी करिब चार अर्ब ०५ करोड पुग्ने बैंकले जनाएको छ । बैंकले नेपाल राष्ट्र बैंकले २०७४ साल आषाढ मसान्तभित्र वाणिज्य बैंकको चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पुर्याउन दिएको निर्देशन अनुरूप चुक्ता पुँजी वृद्धि गर्न हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।