महावीर पुनको संस्थालाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
काठमाडौं: दक्षिण कोरियामा कार्यरत नेपालीले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन्।
कोरियाको गजेदोस्थित पानी जहाज निर्माण कम्पनीमा कार्यरत नेपालीको साझा संस्था डेउ नेपाली एकता समाजले महावीरले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्र स्थापनार्थ एक लाख ६५ हजार रुपैयाँ सहयोग गरेको हो ।
सोमबार समाजका उपाध्यक्ष केशव खड्का तथा कम्पनीका कर्मचारीले समाजको तर्फबाट आविष्कार केन्द्रको कार्यालय ठमेलमा सहयोग रकम हस्तान्तरण गरे ।
रकम हस्तान्तरण कार्यक्रमा बोल्दै सामाजिक अभियन्ता महावीरले एकता समाज परिवारलाई सहयोग बापत धन्यवाद दिए । उक्त रकम संकलन गर्न गत शनिबार गजेदोमा नेपाली चलचित्र छक्का पञ्जा प्रदर्शन गरिएको थियो । करिब ८ सय नेपाली कार्यरत सो कम्पनीमा चलचित्र हेर्न र महावीर पुनको यस अभियानमा सहयोग गर्नेको उल्लेख्य रुपमा उपस्थिती थियो ।
चलचित्र प्रदर्शन तथा सहयोग संकलन कार्यक्रमा बोल्दै समाजका अध्यक्ष मोहन पण्डितले समाजले यस महाअभियानमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
विज्ञानको क्षेत्रमा नयाँ खोज र अविष्कार गरी मुलुक विकासमा सहयोग गर्ने उद्देश्यले केन्द्र स्थापनामा भएको हो । महावीर पुनले केन्द्रका लागि सरकारसंग आर्थिक सहयोग मागेको भएपनि सरकारी अधिकारीले बेवास्ता गरेपछि आफैँ चन्दा संकलन गरेर केन्द्र स्थापनाको अभियानमा लागेका छन् ।
अभियानबाट हालसम्म एक करोड तीस लाख रुपैयाँ संकलन भइसकेको पुनले जानकारी दिए ।