बैंकमा चेक साट्दासाट्दै पाकेटमार पक्राउ

बैंकमा चेक साट्दासाट्दै पाकेटमार पक्राउ

काठमाडौं: पाकेटमारेर लुटेको चेक बैंकमा पुगेर साट्दासाट्दै गरेको अवस्थामा प्रहरीले दुई पाकेटमारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर कार्यविनायकका बिसु रोक्का र उनका भाइ सञ्जीव रोक्का छन् । तीनकुने निवासी केशवराज फुलाराको सोमबार नयाँ बानेश्वरबाट कुपन्डोलतर्फ सार्वजनिक बसमा यात्रा गरिरहेका बेला नबिल बैंकको दुई लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ अंकित चेक पाकेट मारिएको थियो ।

फुलाराले चेकसहितको मनीपर्स पाकेट मारेको जानकारी बैंक र प्रहरीलाई गराएका थिए । प्रहरीले बैंकसँग समन्वय गरेर चेक नम्बरको आधारमा चेक साट्न आउने व्यक्तिलाई नियन्त्रणमा राख्न खबर गरेको थियो । बिसुसँग नागरिकता नभएपछि उनले भाइ सञ्जीवको नागरिकता लिएर नबिल बैंकको कुपण्डोल शाखामा चेक साट्न पुगेका थिए ।

चेक साट्दासाट्दै गरेको अवस्थामा बैंकका कर्मचारीले दुवैजनालाई प्रहरीको जिम्मा लगाउन सफल भए । 'फुलाराले तत्काल बैंकमा खबर गरेकाले पनि पाकेटमारलाई रंगेहात पक्राउ गर्न सफल भइयो,' महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारीले भने ।

घटना सार्वजनिक गर्न परिसरले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । रोक्का दाजुभाइ पक्राउ घटनाको अनुसन्धान गर्दै जाँदा प्रहरीले मोबाइलमात्रै पाकेटमार्ने अर्को गिरोहलाई पक्राउ गरेको छ । एसएसपी अधिकारीका अनुसार एक चिनियाँ नागरिकको एक लाख बढी रुपैयाँ पर्ने मोबाइल पाकेटमारेको घटना अनुसन्धान गर्दा थप दुईजना मकवानपुर चुरियामाई घर भएर बसुन्धरा बस्ने धनराज रुम्बा र सिनामंगल बस्ने सन्तोष बस्याल पक्राउ परेका छन् ।

'रोक्का दाजुभाइको कनेक्सन खोज्दै जाँदा रुम्बा र बस्याल पक्राउ परे । उनीहरूले पाकेटमारको सञ्जाल विस्तार गरेको अनुसन्धानबाट खुलेको छ', एसएसपी अधिकारीले भने ।

यसबीच बेलायतको नक्कली पआर बनेर ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा ललितपुर हरिसिद्धिका गोविन्द बैद्य र महालक्ष्मी बस्ने विकास महर्जन छन् । यीमध्ये मुख्य योजनाकार वैद्य हुन् । उनले आफू बेलायतको पीआर हुँ भन्दै पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीको डाक्टरसमेत रहेको भनेर बेलायत पठाइदिन्छु भनेर पैसा ठग्दै आएको प्रहरी दाबी छ ।

वैद्यले सातदोबाटोका भरतबहादुर मल्लबाट पाँच लाख, रामेछाप माकादुमका खड्गबहादुर कार्कीबाट ५० हजार, रामेछाप गेलुका दलबहादुर खत्रीबाट ८० हजार, ललितपुर धापाखेलबाट विनिल महर्जनबाट ३० हजार, ठैबका सचिन थापाबाट ८० हजार र लगनखेलका जनम मालाकारको साथबाट एक लाख ५० हजार गरी जम्मा आठ लाख ९० हजार ठगी गरेको पीडितले उजुरीमा उल्लेख गरेका छन् ।

वैद्यले कसमस प्रिन्टिङ सोलुसनका सञ्चालकसमेत रहेका महर्जनको प्रेसबाट नक्कली पीआर होल्डरको कार्ड, डाक्टरको परिचयपत्रलगायतका कागजपत्र बनाएका थिए । 'नक्कली डाक्टर र बेलायतको पीआर होल्डरका नाममा ठगी गरेको पाइयो । वैद्यबाट अन्य मानिसहरू पनि ठगिएको आशंकामा थप अनुसन्धान भइरहेको छ', एसएसपी अधिकारीले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.