गगन थापाले भने,‘बरिष्ठलाई नै आइओएमको डिन नियुक्त गर्नुपर्छ भन्ने कुरा मान्दिनँ’
काठमाडौंः शिक्षण अस्पतालका प्रा.डा गोविन्द केसी बरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डिन नियुक्त गर्नु पर्ने माग राख्दै दशौं पटक आमरण अनसनमा बसिरहेका बेला स्वास्थ्य मन्त्री गगन थापाले भने बरिष्ठताको आधारमा डिन नियुक्त गर्नु पर्ने माग पूरा गर्न नसकिने संकेत गरेका छन्।
बिहीबार पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले बरिष्ठताका आधारमा मात्रै डिन नियुक्त गर्नु पर्छ भन्ने पक्षमा अाफू नरहेको बताए। उनले भने,‘बरिष्ठतालाई नै डिन बनाउनु पर्छ भन्ने कुरा म मान्दिँन। बरिष्ठ र कनिष्ठको विपक्षमा छु। क्षमता र काम हरेर नियुक्ति गर्ने हो।’
मन्त्री थापाले बरिष्ठ र कनिष्ठ भनेर नछुट्याइ योग्यता र क्षमताका आधारमा डिन नियुक्त गर्नु पर्ने बताए। उनले भने,‘बरिष्ठ नै हुनु पर्छ भन्नेमा म सहमत हुन सक्किन्न। किन भने म अरुभन्दा कनिष्ठ हुँ। वरिष्ठ र कनिष्ठ भनेर छुट्याउनु हुँदैन क्षमताका आधारमा जिम्मेवारी दिने हो।’
त्रिवि उपकुलपति तीर्थ खनियाँले आइओएमको डिन सर्च कमिटीले सिफारिस गरेका तीन जनामध्येबाट प्रा.डा. केशवप्रसाद सिंहलाई आइओएमको डिनमा नियुक्त गरेका थिए। तर, डा. केसीले भने कनिष्ठलाई डिनमा नियुक्ति गरिएको भन्दै त्यो निर्णय फिर्ता लिएर बरिष्ठताका आधारमा नियुक्त गर्न माग गर्दै आमरण अनसनमा बसेका छन्।
केसीले मागको पहिलो बुँदामै बरिष्ठताका आधारमा डिन नियुक्त गर्नु पर्ने माग अघि सारेका छन्। तर, स्वास्थ्यमन्त्री थापाले भने उक्त माग आफूलाई अस्वीकार्य हुने संकेत घुमाउरो भाषामा गरेका छन्। त्रिवि उपकुलपति कार्यालये ९ महिनापछि आइतबारमात्रै आइओएमको डिनमा सिंहलाई नियुक्त गरेको थियो। डिन सर्च कमिटीले प्रा. डा. जगदीशप्रसाद अग्रवाल, प्रा.डा केशवप्रसाद सिंह र प्रा. डा ज्योति शर्माको नाम डिन नियुक्तिका लागि सिफारिस गरेको थियो।