चैनपुर–ताक्लाकोट नाका खोल्न चीनसँग कुरा गर्छुः प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैनपुर–ताक्लाकोट उत्तर दक्षिण नाका खोल्न चीनलाई आग्रह गर्ने बताएका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बझाङबाट आएको सर्वदलीय टोलीको बिहीबार ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचको महत्वपूर्ण नाकाको रुपमा रहेको ताक्लाकोट नाका खोल्न पहल गर्ने बताएका हुन्।
सर्वदलीय टोलीले जिल्लाका विकास निर्माण र जनजीविकाका सवालमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षणसमेत गराएको छ।
टोलीले डढुवा रोगका कारण जिल्लाका अधिकांश स्थानको खाद्यान्न उत्पादनमा ह्रास आएको भन्दै कामका लागि खाद्यान्न कार्यक्रममा बझाङ जिल्ला पनि समावेश गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो।
टोलीले जिल्ला दैवी प्रकोप कोषमा रकमको अभावले तत्काल उत्पन्न हुने समस्या सम्बोधन गर्न नसकिएको भन्दै केन्द्रीय दैवी प्रकोप समितिबाट थप बजेटको व्यवस्था गरी दिन पनि प्रधानमन्त्रीलाई आग्रह गरेको थियो।
भेटमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि मण्डलले उठाएका माग जायज र संवेदनशील रहेको भन्दै सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरुलाई बोलाएर निर्देशन दिने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।