के हो ‘प्रोजेरिया'
सन् २००९ मा रिलिज भएको हिन्दी चलचित्र ‘पा' बाल्यवस्थामै हुने बूढोपन आउने रोग प्रोजेरियामाथि आधारित थियो । धेरैजसोले यो चलचित्र हेरेका पनि होलान् । चलचित्रमा बलिउड नायक अमिताभ वच्चनले प्रोजोरिया रोगबाट ग्रस्त भएको बालक ‘औरा' फिल्मी पात्र कोनाउँको भूमिका राम्रोसँग निर्वाह गरेका छन् । तर आजसम्म प्रकृतिको कलाकारितालाई कसैले पनि बुझ्न सकेको छैन ।
मानिस जतिसुकै विद्वान् भए पनि प्रकृतिको कदमलाई बुझ्न सफल भएन । जब मानिस फेल हुन्छ, त्यस बेला हार मानेर प्रकृतिको अगाडि घुँडा टेक्छ र भन्छ, ‘मैले केही गर्न सकिनँ, मेरो केही चलेन ।' प्रकृतिको कलाकारिता बडो अनौठो छ । प्रकृतिले कसैलाई अग्लो (राजन अधिकारी) त कसैलाई संसारकै सबैभन्दा पुड्को (नेपालका ७२ वर्षीय चन्द्रबहादुर डाँगी) बनायो ।
कसैलाई एकदमै कालो रङ दियो भने कसैलाई एकदमै गोरो बनायो । यस्तै कसैलाई यति मोटो बनायो कि उसलाई बसेर सास फेर्न पनि मुस्किल हुन्छ । यसैगरी कसैकसैलाई यस्तो अनौठो रोग लाग्छ कि आधुनिक चिकित्सा विज्ञान पनि ठम्याउन सक्दैन ।
यस्तै प्रकारको रोग हो ‘प्रोजेरिया' । यो रोग लागेपछि मानिस बालक भए पनि बूढोजस्तै देखिन थाल्छ । प्रोजेरिया यस्तो रोग हो जुन रोग दुईतीन वर्षकै उमेरका बालबालिकामा कहिलेकाहीँ देखिन्छ । यस रोगको विशेषता भनेको कम उमेरका बालकमा पनि बूढोपनको लक्षण देखिन थाल्छ । यो अत्यन्त दुर्लभ वंशानुगत रोग हो । यस रोगलाई मेडिकल भाषामा हचिगंसन गिल्फोर्ड प्रोजेरिया सिंड्रोम् या हचिंगसन गिल्फोर्ड सिन्ड्रोम पनि भनिन्छ । प्रोजेरिया अर्थात् शिशु अवस्था एवं वृद्धवस्थाको मिश्रित रूप हो ।
प्रोजेरिया भएको शिशु जीवनचक्रको दौरान बाल्यवस्था, किशोरवस्था र युवावस्थाको चरण पार गरेर वद्धावस्थामा प्रवेश गर्नुको सट्टा दुईतीन वर्षको उमेरमै वृद्धवस्थातिर लम्किन थाल्छ ।
समयभन्दा पहिल्यै बूढो हुनु । हुन त हामी हरेक दिन अघिल्लो दिनको भन्दा एक दिन बूढो भएका हुन्छौं । जन्मेको शिशु हरेक दिन बढ्छ र उसको शारीरिक र मानसिक वृद्धि करिब २५ वर्षको उमेर पुगुन्जेल हुन्छ । त्यसपछि थप विकास हुँदैन र भएको क्षमता पनि ह्रास हुँदै जान्छ ।
बाल्यकाल, किशोरावस्था र युवावस्थालाई चरणबद्ध पार गर्दै मानिस वृद्धावस्थामा प्रवेश गर्दै जान्छ । प्रोजेरिया भएको शिशु जीवनचक्रको दौरान बाल्यवस्था, किशोरवस्था र युवावस्थाको चरण पार गरेर वद्धावस्थामा प्रवेश गर्नुको सट्टा दुईतीन वर्षको उमेरमै वृद्धवस्थातिर लम्किन थाल्छ । यो रोग लागेको बालकको जीवनचक्र १३ देखि २१ वर्षको उमेरमा पूरा भइसक्छ । यो वंशानुगत रोग हो ।
भनिन्छ, लेमिन-ऐ नामक जिनमा गडबडी हुँदा यो रोग लाग्छ । यो रोग अचानक हुन्छ, थाहा नै हुँदैन । यो रोग अर्को पुस्तासम्म जान्छ । यो दुर्लभ किसिमको रोग हो । करिब असी लाख मानिसमध्ये कुनै एकजनामा यो रोग देखिन्छ ।
यसै सन्दर्भमा आर्टैमिस अस्पताल, नयाँदिल्लीका बालरोग विशेषज्ञ डा. छाबडाका अनुसार यो जन्मजात रोग हो र यसमा खास ध्यान दिनुपर्ने कुरा के छ भने वृद्धावस्थामा शरीरमा ट्युमरहरू हुन्छन् भने यस रोगमा हुँदैन । अधिकतर परिवर्तन शरीरको छाला, रगत धमनी तथा मांसपेशीहरूमा हुन्छ । प्रायः दुई वर्षको उमेरमा नै यस रोगका लक्षण देखिन थाल्छन् । बालबालिकाको वृद्धि हुँदैन । विकासको क्रम रोकिन्छ । बिरामीको कपाल झर्न थाल्छ । दाँत बिग्रनुका साथै अन्य वृद्धावस्थाका लक्षण देखा पर्न थाल्छन् ।
बिरामी यसरी चिनौंः बालकको मानसिक विकास भने उत्तिकै रहन्छ तर शारीरिक उमेर बढ्न जान्छ अर्थात् धेरै कम उमेरमा वृद्ध व्यक्तिको जस्तै लक्षण देखिन थाल्छ । १२-१३ वर्ष पुग्दा नपुग्दै ६४-६५ वर्ष उमेर भएजस्तो देखिन्छ । रोगीको शरीरमा बोसोको मात्रा कम हुन्छ । हड्डीको विकास ठप्प हुन्छ ।
गञ्जापनः कपाल सबै खुइलिसकेको हुन्छ । अनुहार सानो, चिउँडो पनि सानो हुन्छ । शरीरको छाला बूढापाकाको जस्तै चाउरी पर्दै जान्छ । रगतको नलीमा पनि कडापन हुन्छ । नाक चेप्टो हुनुका साथै मुटुसम्बन्धी रोग पनि हुनसक्छ ।
उपचारः हालसम्म यस रोगको उपचार छैन । प्रयोगका आधारमा यस रोगको उपचारबारे प्रयास भइरहेका छन् । त्यसको मुख्य उद्देश्य रोगीलाई मुटुको रोगबाट बचाउन कोलेस्ट्रोल कम गर्नु हो । त्यसबाट रोगीको आयु केही लम्ब्याउन सकिन्छ ।
होमियोप्याथिक चिकित्सा
होमियोप्याथिक चिकित्सा विधिमा कुनै विषेश रोगको इलाज गरिँदैन अर्थात् रोगीको उपचार गरिन्छ । रोगको होइन । रोगीमा देखिएका लक्षणका आधारमा औषधि प्रयोग गरिन्छ, जसले व्यक्तिको पीडामा मानसिक एवं शरीरिक रूपले आराम पुर्याउँछ । प्रोजेरिया रोगमा देखिने लक्षणलाई हरेर समान लक्षण भएको होमियोप्याथिक औषधिको प्रयोगले केही हदसम्म यस रोगमा फाइदा पुर्याउनसक्छ ।