सिर्जना फाइनान्स सर्वोत्कृष्ट
काठमाडौंः सिर्जना फाइनान्स लिमिटेड आन्तरिक राजस्व कार्यालय लाहान, सिरहाबाट सर्वोत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ ।
पाँचौ कर दिवस २०७३ को अवसरमा बुधबार लाहानमा आयोजित एक कार्यक्रममा प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले सिर्जना फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भवानीशंकर चापागाइँ र व्यावसायिक विशेषज्ञ एवं सञ्चालक प्रमोदकुमार झालाई सम्मान प्रदान गरेका हुन् ।
मोरङ्, सुनसरी र सप्तरीका तीन जिल्ला कार्यक्षेत्र रहेको फाइनान्सले २०७३ असोज मसान्तसम्म दुई अर्ब ४३ करोड निक्षेप संकलन गरी दुई अर्ब १४ करोड कर्जा लगानी गरेको छ ।
२०७४ असार मसान्तसम्म आफ्नो कार्यक्षेत्रभित्र थप १६ शाखा खोल्ने लक्ष्य फाइनान्सले लिएको छ । २०७३ असार मसान्तको मुनाफाबाट ५२.६६ प्रतिशत वोनस सेयर वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको फाइनान्सले जनाएको छ ।
फाइनान्सले आगामी वर्षसम्मको नाफाबाट बोनस सेयर जारी गर्दै २०७५ असार मसान्तभित्र चुक्ता पुँजी ८० करोड पु¥याएर राष्ट्रिय स्तरको फाइनान्स कम्पनी बन्ने लक्ष्य लिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत चापागाइँले बताएका छन् ।