मधेसको माग सम्बोधन नभए स्थानीय निर्वाचन असम्भव : थापा
हेटौँडाः राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसको माग सम्बोधन नगरे मुलुकमा स्थानीय निर्वाचन हुन नसक्ने बताएका छन्।
शुक्रबार हेटौंडामा अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘मधेसको मागलाई सम्बोधन गर्दै संविधान संशोधन नगरे आगामी १४ महिनाभित्र तीन वटै निर्वाचन गर्न सम्भव छैन।’ संविधान कार्यान्वयन नभए मुलुक गहिरो चक्रब्यूहमा फस्ने थापाले बताए।
राप्रपा नेपाल कहिल्यै पनि संघीयताको पक्षधर नभएको स्पष्ट पार्दै उनले संविधानमै उल्लेख भएपछि यसलाई स्वीकार गरिएको जिकिर गरे। ‘काँग्रेस, एमाले र माओवादीले भोटको आधारमा राज्य विभाजन गरेको छ’, थापाले भने, ‘यी तीन दल गम्भीर भएर संविधान कार्यान्वयनमा नलागे देशमा बिखण्डनकारीहरुले टाउको उठाउने मौका पाउँछन्।’
राप्रपासँग पार्टी एकीकरण गर्ने सहमति गरेको दुई दिन अघि हेटौँडामा बोल्दै उनले राप्रपा नेपालले अब देशको तेस्रो धार अर्थात राष्ट्रवादी धारको नेतृत्व गर्ने बताए। मंसिर ६ गते राप्रपासँग पार्टी एकीकरण गरेपछि राप्रपा नेपालले आगामी दुई निर्वाचनमा देशको सबैभन्दा ठूलो पार्टीको रुपमा उदाउने थापाको दाबी छ। ‘मुलुकले अब नयाँ राजनीतिक शक्ति खोजेको छ, त्यो शक्ति राप्रपा नेपाल मात्र हो’,उनले भने।
राप्रपा नेपालको नाउँमा आफूहरुको यो अन्तिम कार्यक्रम भएको बताउँदै थापाले केही वर्ष यता नेपालमा बाह्य हस्तक्षेपका कारण धर्म, संस्कृति र परम्परा धरापमा पर्न थालेकाले राष्ट्रवादी शक्ति एकजुट हुन आवश्यक रहेको बताए।