मेरी आमाको सूर्य किन चाँडै अस्ताउँछ ?

मेरी आमाको सूर्य किन चाँडै अस्ताउँछ ?

गाउँबाट आमाको फोन आयो । भन्नुभयो- 'सञ्जीव उप्रेतीलाई चिन्छस् ? उनलाई टीभीको स्रष्टा र सिर्जना कार्यक्रममा देखेको थिएँ । राम्रो कुरा गर्दा रहेछन् । शिल्पीको पनि कुरा गर्दै थिए ।' उहिले रेडियो आमाको साथी थियो । अचेल टेलिभिजन । टीभीमा लेखक, कविहरू आउँदा आमालाई खुसी लाग्छ । किनभने उहाँलाई साहित्य पढ्न खुब मनपर्छ । फोनमा कुरा हुँदा थाहा हुन्छ, कुन कार्यक्रममा को अतिथि आएका थिए । मेरा साथीहरू र मेरो काम गर्ने परिवेशको बारेमा पनि उहाँलाई राम्रो जानकारी छ । ती मानिस टीभी वा रेडियोमा आए भने चाख दिएर सुन्नुहुन्छ । उहाँलाई धार्मिक श्लोकहरू र धेरै छन्दा कविता कन्ठाग्र छ । उहाँले काम गर्दैगर्दा गाएका धेरै संस्कृत श्लोक र कविता मलाई आज पनि याद भएर आयो । तीमध्ये गणेश र पार्वतीको श्लोक सम्झन्छु । भगवान्लाई मानवीकृत गरिएको यो कविता मलाई मनपर्छ ।

हे लम्बोधर के भयो र यसरी गर्छौ तिमी रोधन
मेरा कान कुमारले घरिघरि हेर्नु मुमा मोल्छन्

सिंहदरबार आगलागीको कथा, २०३८ सालमा विराटनगरबाट ओखलढुंगा उडेको प्लेन जलेको घटनामा रचिएका लामा कविता मीठो स्वरमा अहिले पनि आमा उसरी नै गाउनुहुन्छ । गाइनेले रचेका यी कविता इतिहासका एकखाले दस्तावेज हुन् । ठ्याक्कै भन्न सक्दिनँ, यिनै रचनाहरूले मलाई साहित्यमा रुचि जगाए सायद ।

सिंहदरबार जलेर गयो दुनियाँको धमिलो मन भयो
त्यतिबेला राजालाई कस्तो भो पानी पनि मट्टीतेल जस्तो भो

चालीसको दशकको कुनै एक बिहान । देशमा प्रजातन्त्र आइसकेको थिएन । चैतको घाम बिहानै चरक्क लागेको थियो । आमा असिनपसिन हुनुहुन्थ्यो । उहाँको पछ्यौरा पसिनाले भिजिसकेको थियो । खाजा, खाना, खेताला, खेतको काम सबै उहाँको लिस्टमा थिए । सबभन्दा डरलाग्दो कुरा त गोठका १४ वटा गाईगोरु, दुईवटा भैंसी र खोरका ६ वटा खसीबाख्रा आन्दोलनमा थिए । धन्न कुखुराको जिम्मा उहाँको भागमा थिएन । किनभने उहाँ कर्मकाण्डिय ब्राह्मण पुत्री । कुखुराको पंखेटाले फालेको हावादेखि पनि उहाँलाई घृणा थियो ।

विरोधाभास कस्तो भने मेरा बुबा, काकाहरू र उहाँहरूकै संगतमा लागेर दाजुसमेत चाहिँ खोरमा कुखुराले पार्दै गरेको तात्तातो अन्डा प्वाट्ट फुटाएर काँचै क्वाप्प खान्थे । हजुरबाले २०३६ सालको आन्दोलनमै साथीहरूको लहैलहैमा जनै चुँडाइसक्नु भएको थियो । यी सबै चुनौतीका बीच पनि मेरी आमाले आफूले ठानेको धर्म पूरापूर बचाएर राख्नुभएको थियो । साथ दिने हुनुहुन्थ्यो, मेरी आदरणीय हजुरआमा । मामाघरमा त धोती फेरेरै खाना खाने चलन छ अझै पनि । यस्ता दर्जनौं दायित्व आमाको भागमा थिए । आफूले मानेको सत्य र दैनिक जीवनमा गर्नुपर्ने कर्तव्य ।

यी दुवै उहाँको जीवनमा सुमेरु पर्वतजस्तो भारी थिए । तर, उहाँले हनुमानले झैं सहजै जिम्मेवारी निर्वाह गर्नुभयो । हो, मेरी आमाभित्र कर्तव्यको आफ्नै आदर्श परिभाषा थिए र आजपर्यन्त उहाँ त्यसैको दास हुनुभयो । कहिल्यै चुक्नुभएन ।

म साथीहरूसँग छिमेकी आँगनमा चुंगी खेल्दै थिएँ । 'यत्रो काम कसरी भ्याउनु म एक्लो ज्यानले ? साँझ पर्न लागिसक्यो', आमाको मुखबाट हतारिएको आवाज यसरी निस्कियो । उहाँको अताल्लिएको आवाज सुनेर छिमेकका सबै हाँस्न थाले । छिमेकका एकजना काकाले भने, 'के भएको हो हाम्री भाउजूलाई एकाबिहानै साँझ पर्न लाग्यो भन्छिन् ।'

आमालाई त्यसरी हाँसोमा उडाएको मलाई मन परेन । उल्टै आमाको अज्ञानता सम्झेर रिस उठ्यो । त्यसरी बिहानै साँझ पर्न लाग्यो भन्ने हो ? आफ्नी आमाको शुद्धि हराएको देखेर मलाई आफैंसँग लाज लागेर आयो । चुंगी फालेर घरतिर दगुरेँ । आमा भकाभक रोटी बेल्दै हुनुहुन्थ्यो । नाङ्लोभरि बेलिएका रोटी तावामा जान लामबद्ध थिए । तावामा हालिएको रोटी आमाको हातमा भएको अर्को रोटीको सहयोगले धम्मरधुस भएर फुल्दै थिए । मानौं फुलेको रोटीले देखाउँदै थियो गर्न बाँकी कामको रास । आमालाई गुनासो पोखेँ- 'यति बिहानै साँझ पर्न लागिसक्यो भन्नुहुन्छ ? लाज भयो ।' आमाले निधार खुम्च्याउँदै भन्नुभयो, 'त्यसो भनेँ र मैले ? खै मेरो त शुद्धि पनि हराइसक्यो ।'

साँझ पर्न लागिसक्यो । त्यस दिनको आमाको बोली मेरो स्मरणमा आज पनि उसरी नै बसेको छ । तर, अर्थ फरक भएर । आमाको कुराले भन्दा पनि छिमेकीको हाँसोले निक्कै वर्षसम्म बिझायो मलाई । मेरो बाल-मस्तिष्कले यो परिस्थिति बुझ्न धेरै वर्ष लाग्यो । किन मेरी आमा एकाबिहानै उठेर साँझ पर्न लाग्यो भन्नुहुन्छ ? उहाँलाई मात्र किन लाग्छ, बाह्र घन्टाको दिन एक निमेषको ? के अरूका आमाहरूलाई पनि यस्तै लाग्छ ? उहाँलाई लाग्दो हो- धान रोप्दारोप्दै, घाँस काट्दाकाट्दै, दाल पिस्दापिस्दै, तेल पेल्दापेल्दै सूर्य दौडिएर अस्ताउँछन् र आफूलाई संकटमा पार्छन् । राति आँखा झिमिक्क नगर्दै फेरि सूर्य छानामाथि आइपुग्छन् । किन सूर्यले यसरी सताउँछन् ? अहिले लाग्छ, थुइक्क म नाथे । मैले त्यत्ति पनि बुझ्न सकिन । किन मेरी आमाको सूर्य चाँडै अस्ताउँछ ?

बिहे हुँदा मेरी आमा १५ वर्षकी हुनुहुन्थ्यो, बुवा १९ वर्षको । कान्छो काका १७ महिनाको हुनुहुन्थ्यो रे । मेरो दाजु र कान्छो काका साथी जस्तो भएर हुर्किए । पछिसम्म पनि कान्छो काकालाई हामीले कान्छामात्रै भनेर बोलायौं । आठ दाजुभाइ र ६ दिदी बहिनीमध्येको कान्छो उहाँलाई परिवारले मात्रै होइन, पूरै गाउँले कान्छा भन्यो । कम्तीमा हरेक दिन १५ जनालाई भान्साको सेवा गर्नुपथ्र्यो मेरी आमाले । जेठी बुहारी हुनुको गौरव जो थियो उहाँको ।

बिहान ४ बजे उठेर दैनिक लिपपोत, सरसफाइ । बिरामी सासू-ससुरालाई खाजापछि औषधि । ससुरा मुटुका रोगी । सासूलाई डायबेटिज । त्यसपछि अरू सदस्यको पालो । घरअगाडि ठूलो खोला थियो । त्यही खोलाको किनारमा बसेर फुपूहरूसँग हरेक दिनको भतेरका भाँडाहरू माँझ्नुहुन्थ्यो आमा । हामीलाई राति खोलामा जान बर्जित थियो । साहिँली फुपूको जिम्मा थियो हामीलाई निदुली ल्याइदिने ।

 

 

आमा र फुपूहरूले कुपी बालेर (पछि दिदी पनि) भाँडा मोलेको धेरै बेरसम्म झ्यालबाट हेरिरहन्थेँ । फुपूले निदुलीका लागि सुनाउने कथासँग भुसुक्कै निदाउँथेँ म । उहाँले सुनाएका दर्जनौं लोककथा मलाई याद छ । किनभने नयाँ कथा नभएको दिन उहाँले एउटै कथा पटकपटक सुनाउनु हुन्थ्यो । र, कहिलेकाहीँ त आफैं बनाएर भन्नुहुन्थ्यो । राति १० बजेमात्रै भान्साको सबै काम सकिन्थ्यो । त्यसपछि हुन्थ्यो, सासूको खुट्टामा तेल लाउने पालो । मैले थाहा पाउँदा घरबाट एकैपटक आठजना थियौं, स्कुल जाने । काकाहरू, फुपूहरू र भान्जी दिदीसहित ।

बिहानै स्कुलेलाई खानाको तयारी आमाको लागि ठूलो सास्ती हुन्थ्यो । हामी स्कुलेहरू थरीथरीका थियौं । कोही आलु नखाने, कोही मेथीलाई झिंगा भनेर खानै नखाने । कोही दूधसँगमात्रै भात खाने । कोही समयमा खाना पाकेन भनेर घुक्र्याएर हिँड्ने । हरेक दिन घुक्र्याउने पालो कसैको पथ्र्यो । ठान्नुस् हामी नेपालको संविधानसभा जस्ता थियौं । आमाको दुःख कहिल्यै बुझेनछौं । आफ्नै अटेरी स्वभावले उहाँलाई पिरोलिरह्यौँ । आमालाई सास्ती थियो, तर आफू सम्झन्छु- बाल्यकालका हरेक क्षण बढो सुन्दर थिए ।

निक्कै वर्षसम्म ठूलो परिवारको कान्छो भएर हुर्किंदा सबैको मायाले प्याउलिएको थिएँ । ६ वर्षको उमेरसम्म आमाको दूध खाएको थिएँ मैले । स्कुलबाट आउनेबित्तिकै आमाको काखमा पुगिहाल्थेँ । बुवा र मैले पढेको स्कुल एउटै थियो । बुवालाई पढाउने अधिकांश शिक्षकले मलाई पनि पढाए । दाजुलाई देखाउँदै हरि कार्की सर भन्नुहुन्थ्यो, 'अब यसका छोराछोरी पनि यहीँ पढ्न आए भने मैले तीन पुस्तालाई पढाउन पाउँछु ।'

कुनै समय मेरा हजुरबुवा २० बिगाहा खेतको मालिक हुनुहुन्थ्यो त्यस भेगमा । २००९ सालको लिम्बुवान आन्दोलनबाट लखेटिएका उहाँ सपरिवार मोरङमा झोडा फाँडेर बस्नुभयो । सानोतिनो जमिनदार र स्थानीय नेताको रूपमा स्थापित हुनुभयो । त्यसमाथि ज्योतिष पनि । सम्पत्ति र पदले मान्छेलाई कसरी मोहमा पार्छ यहाँ हेर्नुस् । मेरा ठूला मामा त्यसै भेगको नापी विभागमा काम गर्नुहुन्थ्यो । यसरी भयो एकजना जमिनदार र सरकारी कर्मचारीको चिनजानी । एउटा ज्योतिष जमिनदार परिवारमा पारिवारिक सम्बन्ध जोडिनु खुसीको कुरा थियो । भयो त्यही । पं. इन्दिरेश न्यौपानेकी माइली छोरी शारदा र ज्यो. गोविन्दप्रसाद घिमिरेका जेठा छोरा शंकरको विवाह । त्यसैले अहिले म छु जे छु । मेरा एक दाजु र एक दिदी छन् । आआफ्ना परिवार छन् ।

के मेरी आमाको जीवनमा खुसी थिएनन् त ? छैनन् त ? उहाँ कहिल्यै हाँस्नु भएन त ? उहाँको खुसी र आशा भन्नु नै हामी छोराछोरी थियौं । उहाँको आशा हुर्किसकेका हामीमाझ प्रतिविम्बित भयो कि भएन ? आमासँग सोध्न डर लाग्छ, हामी सन्तान भयौं कि मासुको डल्ला मात्रै ?

हामी हुर्किसकेपछि पनि आमाको विवाहको बारे सधैं चर्चा चल्थ्यो मामाघरमा । कहिलेकाहीँ आँसुको भल बग्थे हजुरबाका आँखाबाट । उहाँलाई हाम्रो निक्कै चिन्ता थियो । ठूलो मामालाई लाक्षणिक रूपमा दोषी देखाइन्थ्यो, यस विवाहको । धेरैजसो दोष भाग्यले पाउँथ्यो । यस प्रसंगले मलाई सधैं पिरोलिइरह्यो । उहाँहरूको चिन्ता हाम्रो पक्षमा थिए, तर मेरा आमा-बुबाको विवाहमाथि प्रश्न गर्नु भनेको हामी छोराछोरी हुनुमा प्रश्न गर्नुथियो ।

त्यो सहानुभूति मेरो लागि अपमानजस्तो भयो सधैंभरि । मामाघरको हजुरबा, हजुरआमाको आग्रहमा मामाहरू र ठूलीआमाको ठूलो सहयोग रह्यो हामीमाथि । हामी मामाघरको संरक्षणमा हुर्कियौं र यत्तिको भयौं सायद । हाम्रो जीवनमा अनगिन्ती मानिसहरूले गुन लगाए । जसको ऋण म यो जुनीमा तिर्न सक्दिनँ । यो सम्झेर त्यसै थाक्छु म । मभन्दा पनि मेरी आमा हामी छोराछोरीलाई हुर्काउन जुटाइएका ती अनगिन्ती सहयोगहरूको गुनले थिचिनुभएको छ ।

मूल परिवारबाट छुट्टिएपछि आर्थिक रूपमा हामी निक्कै विपन्न भयौं । बिरामी बुवा सबैका लागि चिन्ताको विषय हुनुभयो । गरिबीकै कारणले धेरै कुरा गुमाइँदो रहेछ सायद । त्यसमाथि घरका पिता वा श्रीमान् कमजोर भए भने त परिवारलाई मान्छे नै नगन्ने रहेछ यो पितृसत्तात्मक समाजले ।

मेरी आमाको निर्णयमा अधिकार कहिल्यै भएन । उहाँले सबैको कुरा सुन्नुपथ्र्यो । आज पनि आफन्तहरू मेरी आमालाई अज्ञानी ठान्छन् । किनभने उनीहरू ठान्छन्- हामी गरिब छौं । मेरी आमा गरिब भएकै कारणले अज्ञानी छिन् । अरूका आमालाई यस्तो हुन्छ कि हुन्न ? मेरी आमाको अनुहार सबै आमाहरूमा देख्छु म । र, हरेक ग्रामीण घरहरूमा दुःखजिलो गरिरहेका आमाहरूप्रति श्रद्धाले नमन गर्छु । आमा रहस्य हो । आमाको ममता रहस्य हो जो यो कुरूप संसारमा अझै सृष्टिलाई निरन्तरता दिने दुस्साहस गर्छिन् ।

सनातन कथाका कौरवमातृ गान्धारी वा पाण्डवमातृ कुन्ती वा रामकी मातृ कौशल्या वा भरतकी मातृ कैकेही, हाम्रै समाजका सिद्धार्थ गौतमकी मातृ मायादेवी हुन् वा एडल्फ हिट्लरकी मातृ क्लारा, मोहनदास गान्धीकी मातृ पुतलीवाई हुन् या सद्दाम हुसेनकी मातृ शुभ तुल्फह अल मुसल्लाद, अब्राहमकी मातृ न्यान्सी लिंकन, विलियम शेक्सपियरकी मातृ म्यारी शेक्सपियर, पृथ्वीनारायण शाहकी मातृ कौशल्यावती, नाम हराएका कालीदास, गार्गी, सीता, भृकुटी र भानुभक्तका मातृहरू तिनको ममता र बात्सल्य एउटै हो ।

बाँदर, बिरालो, हात्ती वा भँगेराका मातृहरूजस्तो । आफू सुकेर पनि सन्तानको पालनपोषण गरिरहन्छन् निरन्तर । हरेक क्षण आमाहरू ठूलो संकटमा हुने गर्छन् । तिनका ममता रक्षक वा भक्षकमा रूपान्तरित हुनेछन् ।

आमाहरू ठूलो जोखिम मोल्छन् आफ्नो ममताको र जन्माउन सक्छन् डोनाल्ड ट्रम्प, नरेन्द्र मोदी वा पुष्पकमल दाहालहरू । भागिरथी, मन्दाकिनी, मन्दोधरा, सावित्री, गोमा, राधिका, तारा, निर्मला, शारदाहरू सृष्टिको उही सुन्दर नियम निर्वाह गरिरहन्छन् । सूर्य र चन्द्रलेझैं । जल र अग्निलेझैं । पृथ्वी र आकाशलेझैं । बायुलेझैं । त्यसैले आमाहरू यी सबैभन्दा माथि हुन्छन् ।

निक्कै दिनपछि एकजना मित्र भेटिए । मैले सोधेँ- 'धेरैपछि भेट भयो । कता हुनुहुन्थ्यो ।' उनले भने, 'ठूलो झमेलामा थिएँ । सम्पत्ति मुद्दामा परेँ ।' सोधेँ, 'कस्तो मुद्दा ? ' उनले भने, 'मेरो घर जग्गामा आफ्नै आमाले मुद्दा हालिन् । झमेला भो ।' मलाई नमीठो लाग्यो । आमाले कसरी त्यस्तो गरिन् होला ? उनी पक्कै कुनै परिबन्धनमा परिन् । हामीले आमालाई परिबन्धमा पार्न छोड्नुपर्छ । यो पुरुषले बनाएको समाजमा आमाहरू कहिले, कहाँ परिबन्धनमा पर्छन् पत्तो हुँदैन । सन्तान जन्माएर पनि आमा बन्न नपाएकाहरू, गंगालेजस्तै सातवटा सन्तान बगाउन विवशहरू, निरीह आमाहरू अनगिन्ती छन् यस समाजमा ।

म जन्मिएको धेरै वर्षपछि मैले मेरी आमाको एउटा अर्को रहस्य थाहा पाएँ । केही वर्षअघि मेरा माइला मामाले भावुक हुँदै मसँग सुटुक्क भन्नुभयो, 'भाञ्जा हाम्रो लागि तिम्री आमा महान् हो । बिहेको जग्गेमा बसेपछि मात्रै हामीले थाहा पायौं- ज्वाइँ कान सुन्नुहुन्न भनेर । हामी अलमल्लमा पर्‌यौँ अब के गर्ने भनेर । तर, तिम्री आमाले हामीलाई बचाइन् । उनले भनिन्- यो बिहे मलाई स्वीकार्य छ ।' यो रहस्योद्घाटनले मेरी आमाको हिम्मत र शक्तिप्रति झन् श्रद्धा जाग्यो ।

नौ वर्षको उमेरमा टाइफाइट भएर सुन्ने शक्ति गुमाउनुभएका मेरा बुवा मेरो लागि सधैं आदरणीय हुनुहुन्छ । उहाँका बारेमा कुनैबेला लेख्ने नै छु । आमाको लागि उहाँको जीवनको अर्को ठूलो परीक्षा के भइदियो भने, विवाहको करिब एक दशकपछि बुवाले मानसिक सन्तुलन गुमाउनु भयो । निक्कै उपचार गरियो । संयुक्त परिवारले यो दुःख झेल्ने साहस गरेन र २०४८ सालको आमनिर्वाचनसँगै हामी पाँच जनाको परिवार संयुक्त परिवारबाट छुट्टियौं ।

खेतको बीचमा थियो हाम्रो घर । गाउँभन्दा लगभग पाँच सय मिटर टाढा । बाटो थिएन । छिमेकमा एउटामात्रै घर थियो । त्यस सुनसान खेतको बीचमा हामी साँझ ६ बजे नै खाना खाइवरी सुतिसकेका हुन्थ्यौं डरले । हो, डरले गर्दा हरेक सानो आवाज मेरो कानमा पथ्र्यो । नजिकै देवीथान थियो । त्यहाँ औंसी, पूर्णिमाको रातमा सेता घोडा कुद्छन् भन्ने हल्ला सुनिन्थ्यो । घोडा हिनहिनाएको जस्तो, नानीहरू रोएको जस्तो आवाज भ्रम हुन्थ्यो । डर न हो । डर यस्तो शून्यता रहेछ जसबाट जे पनि उम्रिन सक्छ ।

त्यही डरले गर्दा घोप्टो परेर सुतेको म एकैपटक बिहानमात्रै कोल्टे फेर्थेँ । रात ठूलो डर लिएर आउँथ्यो अज्ञानतालेझैं । र, हरेक बिहानले नयाँ आशा लिएर आउँथ्यो ज्ञानलेझैं । २०५१ सालमा अर्को ठूलो दुर्घटना भयो । घरमा आगो लाग्यो । आधा घर डढ्यो । देशमा मध्यावधि चुनाव भएको पनि त्यही साल हो । आमाबुवामा भोट हाल्ने कुनै उत्साह थिएन । त्यही पनि अबेला भोट हालेर आउनु भयो । त्यही चुनावले गर्दा आमालाई आगलागी सम्झन सजिलो भएको छ । घर जीर्ण थियो । पानी पर्दा परालको छानो चुइन्थ्यो । बतासे हावासँगै आएको पानी नछिर्ने ठाउँ कहीँ हुँदैनथियो घरभित्र ।

म र मेरी दिदीलाई आमाले गुन्द्रीले छोपेर सुताउनुहुन्थ्यो । दाजु प्रायः मूलघरतिरै सुत्थ्यो । किनभने त्यहाँ बिजुली बत्ती र बाटो थियो । उसलाई त्यो राम्रो लाग्थ्यो । मैले भोलिपल्ट बिहान सूर्य उदाउँदै गर्दा आमा र दिदीलाई आश्वस्त पारेको थिएँ- ठूलो भएपछि ठूलो बाटोको छेउमा घर बनाउनेछु, त्यो पनि छत भएको ।

भारत सिलिगुडीका प्रधानले गाउँमा ठूलो माछा फर्म खोलेका थिए । माछा पोखरीको डिलमा गाउँलेहरूलाई महिनामा एकपटक घाँस काट्न दिइन्थ्यो । पोखरी ठेकेदारले नियम बनाएको थियो- एउटा परिवारबाट एकजनाले मात्रै घाँस काट्न पाउने र उसले बोक्न सक्ने जतिमात्रै बोकेर ल्याउन पाइने । पोखरी क्षेत्रबाट बाहिर आएपछि जसरी लगे पनि भयो । त्यसैले माछा फर्मनजिकै बाटोमा हामी आमालाई सहयोग गर्न कुरेर बस्थ्यौं । त्यसदिन माछा फर्मबाट आइरहेकी मेरी आमालाई मैले देखिनँ । घाँसमात्रै देखेँ । १७ वटा ठूला मुठाले मेरी आमा पुरिनुभएको थियो । यस्तो लाग्थ्यो, घाँसको मान्छे मतिर आइरहेको छ । काम, काम र काम । उहाँको जिन्दगी कामकै बोझले थिचियो ।

त्यही अनगिन्ती कामको कारणले उहाँको शरीरमा धेरै रोग छन् । त्यतिखेर मेसिन थिएन । गहुँको दाइँ गर्न निक्कै गाह्रो हुन्थ्यो । फागुन-चैतको मध्यदिनमा पश्चिमी हावा चलेको बेला दाइँ गर्दा मात्रै झथ्र्यो गहुँ । मेरी आमा यही मौका कुरेर गहुँको दाइँ गर्नुहुन्थ्यो । निक्कै कठिन काम थियो त्यो । यसरी पनि नझरेका बाँकी फोगटालाई काठको मुंग्रोले बेस्कन कुटेर झार्नुपथ्र्यो । मलाई लाग्थ्यो, दुःखको भुमरीमा परेका धेरै मानिसको जिन्दगी गहुँको दाइँजस्तै हो ।

आमाले भोगेका दुःख र संकटको चाङ लाउने हो र यसको भौतिक आकार बन्ने हो भने सिंगै सगरमाथा बन्छ होला । मेरी आमाको बारेमा लेख्दै गर्दा मलाई लागिरहेको छ, के उनको जीवनमा खुसी थिएनन् त ? छैनन् त ? उहाँ कहिल्यै हाँस्नु भएन त ? उहाँको खुसी र आशा भन्नु नै हामी छोराछोरी थियौं । ठूलो आशा र संघर्षले उहाँले हामीलाई हुर्काउनुभयो । डर लाग्छ, उहाँको आशा हुर्किसकेका हामीमाझ प्रतिविम्बित भयो कि भएन ? सोध्न डर लाग्छ, हामी सन्तान भयौं कि मासुको डल्लामात्रै । मलाई लाग्छ, आज पनि हामीकहाँ हजारौं, लाखौं आमाहरू छन् जसको सूर्य उसरी नै चाँडै अस्ताउँछ र झिसमिसेमै उदाउँछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.