सपना बुन्दै शिखा

सपना बुन्दै शिखा

रंगीविरंगी फूलका माला हातमा लिएर स्वागत गर्न आतुर देखिन्थे दमौली कुमालटारी बोटेगाउँका बोटे महिला । हामी पुगेका थियौं आगन्तुक बनेर । 'एसियाली विकास बैंक'ले बोटेलीहरूको आर्थिकस्तर सुधारका लागि केही परियोजना सञ्चालन गर्दै आएको रहेछ दुई वर्षदेखि । सोही परियोजना अवलोकन गर्न केही सञ्चारकर्मीका साथ पुगेको थियौं गत असोजमा । जहाँ जातीय भेषभूषामा निकै सिंगारिएका बोटेली दिदीबहिनी भेटिए । त्यही भेटिइन् शिखा पनि । भिन्दै भयो भेट किनभने उनी थिइन् तनहुँ जिल्लाको बोटे समुदायमा सबैभन्दा धेरै पढेकी ।

व्यवस्थापन विषय लिएर स्नातक दोस्रो वर्षको अध्ययन गरिरहेकी छिन् उनी । तनहुँकै 'आदिकवि भानुभक्त कलेज'की विद्यार्थी । उमेर बल्ल २० । किशोरावस्था पार गर्दासम्म अनेकौ उल्झन सामना गरिसकेकी उनीसँग छ कुनै प्रतिष्ठित कम्पनीको एकाउन्टेन्ट बन्ने सपना । शिखा भन्छिन्, 'खासै ठूला सपना बनाएकी छैन, धेरै पढ्नलाई सजिलो पनि छैन आर्थिक रूपमा । तर पढ्नुपर्छ भन्ने बुझेकी छु ।'

आफ्नो समुदायमा केटाहरूले खासै नपढेको बताउँछिन् उनी । उनको समुदायमा केटाहरू पनि बल्ल १२ कक्षा पढ्ने भएका रैछन् । तर आफ्नो परिवारले सानैमा शिक्षाको महत्त्व बुझाएकाले पढाइ जारी राखेकी रैछिन् उनले । उनको परिवारमा दाइहरूले पढ्न सुरु गरेका रहेछन् । विडम्बना शिखाका दाइहरूले स्कुल पनि सकाएनन् । चारजना दाजुभाइ र तीनजना दिदीबहिनी भएको शिखाको परिवारमा दिदीले पनि १२ सकाएपछि विवाह गरेकी रहिछन् ।

शिखाको सम्झनामा उनका समुदायका मानिसहरू कोही पढ्न जाँदैनथिए केही वर्ष अगाडिसम्म । तर गर्वसाथ सबै बोटेहरू स्कुल जान थालेका छन् भन्न सक्ने भएकी छिन् उनी अहिले । उनी आफ्नो समुदायलाई एकदमै पिछडिएको एउटा अल्पसंख्यक जनजातिको रूपमा लिन्छिन् । विस्तारै विकासको मूलधारमा आउँदै छ यो समुदाय पनि । भन्छिन्, 'यस समुदायका मानिसहरू बोल्न डराउँथे । कुनै पनि कार्यक्रममा भाग लिन मान्दैनथे । तर स्कुल जान थालेपछि बोटेलीहरूको आत्मविश्वास भरिएको छ ।'

अरूले पढे पढेनन् भन्नुभन्दा पनि आफूले यो तहमा पढ्दैछु भन्नुको मजा साँच्चै नै आनन्दलाग्दो भएको शिखाको अनुभवले बताउँछ । अहिले बोटे समुदायमा शिखाकै बाटो हिँड्नेहरू बढेका छन् । उनकी भदैनी जुनुले फुपूजस्तै धेरै पढ्न चाहेको भएको बताइन् ।

'पढ्ने रहर भएर पनि आर्थिक अवस्था कमजोर हुनु अभिशाप हुँदोरहेछ' शिखाले नमज्जाले भनिन् । हुन पनि ३५ घर बोटेहरूमध्ये कसैको पनि दुई रोपनीभन्दा धेरै जग्गा छैन । उनको बुवाआमाले बनिबुतो गरेर ल्याएको आम्दानी पढाइको लागि पर्याप्त हुँदैन ।

बोटेहरू माछा मार्नेबाहेक खोलामा सुन खोज्ने काम गर्छन् । उनी भन्छिन्, अहिले सबै त्रिशूली, मस्र्याङ्दी, कालीगण्डकीलगायतका नदीमा गइसकेका छन्, चैत वैशाखमा मात्रै घर फर्किन्छन् ।

बोटे समुदायकी शिखा भन्छिन्, 'पहिलापहिला नयाँ मान्छे देखेपछि लुकिन्थ्यो । अहिले सरकारी कार्यालयमा अधिकार माग्न जाने भएका छौं ।'

त्यसो त बोटेहरूले केही आयआर्जनका काम पनि सुरु गरेका छन् । कुखुरापालन, तरकारीखेती गरिरहेको ओमकुमारी बोटे बताइन् । 'मिलनसार कृषक बोटे समूह' नाम दिइएको उनीहरूको समूहमा शिखा पनि बेलाबेलामा काम गर्न जाने गरेको बताइन् । उनी समूहले गरेका काममा हिसाबकिताब रेकर्ड राख्न सहयोग गर्छिन् । भन्छिन्, 'अरू जातका मान्छेहरू धेरै अगाडि बढिसके तर हामी पिछडिएका छौ । विस्तारै सिक्दैछौ, हामी मान्छेको अगाडि बोल्न सक्ने भएका छौ । पहिला पहिला त नयाँ मान्छे देखेपछि लुकिन्थ्यो । अहिले सरकारी कार्यालयमा अधिकार माग्न जाने भएका छौं ।'

यस समूहले २२ जना बोटेहरूले छात्रवृत्ति दिँदै आएको छ । छात्रवृत्तिले बोटे बालबालिकाको अध्ययनमा थप सहयोग पुगेको छ । गाउँ र समुदायको विकासमा लागेको छ । ल्याप्चे हटाउ अभियानमा लागेको छ ।

'एसियाली विकास बैंक'को सहयोगमा सुरु भएको करिब आठ लाखको परियोजनामा उनीहरूले आत्मनिर्भर बन्न सिकेको स्थानीय आइतबहादुर बोटेले बताए । आफूहरूले आफ्नै प्रकारका आचारसंहिता बनाएर एकअर्काको समस्यामा सहयोग गरेको बताउँछन् ।

सरकारले सिमान्तकृत जातिको रूपमा चिनाएको बोटे समुदाय अहिले जीवनस्तर सुधारको बाटोमा संघर्षरत छ । तर, चिन्ता छ शिखालाई आर्थिक अभावकै कारण पढेर कुनै संस्थामा एकाउन्टेन्ट बन्ने सानो सपना पनि पूरा नहुने हो कि ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.