रुपन्देहीमा डेंगुका ५६ बिरामी
बुटवलः रूपन्देहीमा डेंगुबाट संक्रमितको संख्या बढेको छ । यो वर्ष जिल्लामा ५६ जना संक्रमित फेला परेका छन् जसमध्ये २२ जना बुटवल उपमहानगरपालिकाभित्रका भएको जिल्ला जनस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । बुटवलको वडा नं ११ मा मात्रै ६ जना डेंगुका संक्रमित फेला परेका छन् ।
गत असोजमा एकजनामा देखा परेको यो रोग कात्तिक महिनामा बढेको जिल्ला जनस्वास्थ कार्यालय रूपन्देहीका भेक्ट्रर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए ।
उनका अनुसार सिद्धार्थ नगरपालिकामा २ देवदह नगरपालिकामा १ जनामा डेंगुका संक्रमण भएको छ । अन्य जिल्लाको तुलनामा रूपन्देहीमा सामान्य रहे पनि यसको रोकथामका लागि विशेष अभियान सञ्चालन गरिएको शाहले बताए ।
भेक्ट्रर कन्ट्रोल निरीक्षक शाहका अनुसार डेंगु संक्रमित भएका ६ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । लुम्बिनी अञ्चल अस्पतालमा ३ जना, मेडिटेक असपतालमा १ जनाको उपचार भइरहेको छ ।
मेडिटेक अस्पतालबाट १० जनाको उपचारपछि डिस्चार्ज गरिएको ५ जनाको रिफर गरिएको ल्याब टेक्निसियल दामोदर ज्ञवालीले जानकारी दिए । मेडिटेकमा डेंडु उपचारमा संलग्न २ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण भएको भेटिएको छ ।
त्यस्तै लुम्बिनी सिटी अस्पताल, चौराहा अस्पताललगायतका अन्य स्वास्थ्य केन्द्रमा पनि डेंगु संक्रमितको उपचार भइरहेको छ । यस वर्ष डेंगु संक्रमित बिरामीको ज्यान भने गएको छैन । बुटवल आसपासका क्षेत्रमा डंगुको संक्रमण बढ्न थालेपछि त्रास फैलिएको छ । डेंगुको संक्रमणबाट बच्न होसियार बन्न जनस्वास्थ्य कार्यालयले आग्रह गर्दै आएको छ ।
गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डब्बा, अलकत्राा ड्रम तथा पुराना टिनका भाँडा, एयर कुलर, पानी राख्ने ड्रममा लामखुट्टेले फुल पार्न सक्ने भएकाले सचेत रहन जनस्वासथ्य कार्यालयले आग्रह गरेको छ ।