'हामी मध्यमार्गी बिकल्प प्रस्तुत गर्न सक्छौं'
हेटौँडाः राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय हितमा आघात पुग्ने बाहेक सबै विषयमा सहमति गरेर मधेसको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । तत्काल मधेशको समस्या समाधान नगरे बिखण्डनकारीहरुले टाउको उठाउने थापाले बताए ।
हेटौँडा-४ स्थित आफ्नै निवासमा शनिबार बिहान पत्रकारहरुसँग कुराकानी गर्दै थापाले भने, ‘मधेसको समस्या तत्काल समाधान नगरे मैले बिखण्डनकारीहरुको टाउको उठाउने र अतिवादी शक्तिहरु सल्बलाउने खतरा देख्छु ।' मधेसको समस्या समाधान नभई निर्वाचन हुन नसक्ने भन्दै उनले निर्वाचन नभए संविधान कार्यान्वयन हुन नसक्ने दोहर्याए ।
प्रमुख राजीतिक दलहरुले साँघुरो घेराभित्र छलफल गरिरहेको उनको गुनासो छ । ‘छलफलाई फराकिलो बनाएमा हामी मधेस र प्रदेशहरुको समस्या समाधानको लागि मध्यमार्गी बिकल्प प्रस्तुत गर्न सक्छौं', थापाले भने । देशलाई बैकल्पिक राष्ट्रवादी शक्ति आवश्यक रहेकाले राप्रपासँग पार्टी एकता गर्न लागिएको उनले जानकारी दिए ।
थापाले राप्रपा सरकारमा भएकाले पार्टी एकतापछि राप्रपा नेपाल सरकार पक्ष हुने भएपनि थप मन्त्रालयहरु लिने नलिने टुङ्गो लागिनसकेको बताए । ‘सरकारमा रहेको प्रमुख दल काँग्रेस,माओवादीको भूमिका र ब्यहारमा पनि सरकारमा थप मन्त्रीहरु पठाउने नपठाउने टुङ्गाले लाग्छ',उनले भने ।
पत्रकार भेटघाटमा राप्रपा नेपालका सांसद गणेश थापा,केन्द्रीय सदस्य राजाराम बर्तौला,नवराज विष्ट,राप्रपा मकवानपुरका कावा अध्यक्ष शिवराम थापा लगायत उपस्थित थिए ।