जग्गा विवाद र किचलोले ज्यान गयो
नवलपरासी: जग्गासम्बन्धी विवाद र किचलोका कारण नवलपरासीको बर्दघाट–४ बाढीपीडितका एकजनाको ज्यान गएको घटना सार्वजनिक भएको छ।
जग्गा विवादमा आफ्ना बाबुको मृत्युुको कारण बनेको भन्दै बर्दघाट–४ बाढीपीडितका हरिप्रसाद शर्माको मृत्यु भएपछि उनका छोरा विशाल शर्मा र श्रीमती गीता शर्माले प्रहरीमा उजुरी गरेका छन् ।
विसं २०५० अघि आफ्ना बाबुले खरिद गरेको जग्गाको स्वामित्व अहिलेसम्म पनि आफ्नो नाममा ल्याउन नसकेपछि शर्माले विषसेवन गरी विवादित जग्गामा रहेको आफ्नै गोठमा मृत्युवरण गरेको परिवारिक स्रोतले जनाएको छ।
जग्गा आफ्नो नाममा नामसारी गर्न नसकेपछि तनावमा रहेका शर्मालाई केही दिनअघि स्थानीयवासी एकजनाले सो जग्गा आफूले खदिर गरेको कागज देखाएर प्रशासनमार्फत जग्गा खाली गर्न ढाडो उजुरी दिएपछि तनाव सहन नसकेर विषसेवन गरेको शर्माकी धर्मपत्नी गीता शर्माले बताइन्।
विसं २०३८ पहिले पुनर्वास कम्पनीले स्थानीयवासी हरिबहादुर कुमाललाई दिएको एक बिगाहा जग्गा २०४० सालतिर हरिबहादुर कुमालले मृतक हरिप्रसाद शर्माका बाबु प्रजापति शर्मालाई भोगचलनको छोडपत्र गरी बिक्री वितरण गरेका थिए । पछि जग्गाको लालपुर्जा आउँदा बिक्री गरेका हरिबहादुर कुमालको नाममा आएको र हरिबहादुर कुमालले प्रजापति शर्मालाई पास गरी नदिएपछि जग्गाको किचलो सुरु भएको थियो।रासस