मुगुमा प्रहरी र स्थानीयबासीबीच झडप, ९ जना घाइते
गमगढीः मुगुको रारा, कालै र धैनकोट गाविसलाई रारा गाउँपालिकामा राख्नु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ। झडपमा परी ९ जना घाइते भएका छन्।
सदरमुकाम गमगढीका सरकारी र गैरसरकारी कार्यालयका बन्द गराएका स्थानीयबासीले सोमबार दोस्रो दिन पनि सरकारी कार्यालय बन्द गराउन खोज्दा प्रहरीसँग झडप भएको हो। प्रहरीसँगको झडपका क्रममा कालै गाबिस–३ का २७ वर्षीय ज्ञानबहादुर शाही, कालै गाबिस–४ का ३८ वर्षीय लोकबहादुर शाही, रारा–१ का ३२ वर्षीय हस्तबहादुर शाही र २७ वर्षीय धर्मराज शाही र २७ वर्षीय डबल बम, धैनाकोट–६ का २६ वर्षीय टाइगर मल्ल, धैनाकोट–२ का ४० वर्षीय देवीलाल मल्ल, धैनाकोट–१ का २८ वर्षीय संकु मल्ल घाइते भएको आन्दोलनका संयोजक दानबहादुर शाहीले जानकारी दिए।
गत कात्तिक २२ गते बसेको प्राविधिक समितिको बैठकले सोरु, खत्याड, गम र करानलाई गाउँपालिका बनाउन प्रस्ताव गरिएको तथा दलहरुको असन्तुष्टिलाई हटाउन चार भेगलाई ८ वटा गाउँपालिका बनाउन प्रस्तावको विकल्प राखिएपछि सोरु भेगका धैनाकोट, कालै र रारा गाबिस सोरु भेगका अन्य चार गाबिससंग जोडिएको गाउँपालिकासंग राखेको भन्दै स्थानीयबासी आन्दोलित भएका हुन्।
उनीहरुले तीन गाबिसलाई रारा गाउँपालिका कायम गरी छुट्टै पाँच नम्बर गाउँपालिकामा समेट्नु पर्ने माग अघि सारेका छन्। सरकारी तथा गैर सरकारी कार्यालय बन्द गराउने क्रममा आन्दोलनकारीमाथि प्रहरीको टोलीले लाठी चार्ज गरेको थियो।