इतिहासको पाठ
‘चिन्डिया’ शब्द जयराम रमेशले सबैभन्दा पहिले प्रयोग गरेको कुरा बिकिपिडिया लेख्छ । जयराम रमेश एउटा भारतीय अर्थविद्, भारतीय राष्ट्रिय कांग्रेसको आर्थिक विभाग प्रमुख, सांसद सदस्य र मन्त्री भएका व्यक्ति हुन् । दस-एघार वर्षदेखि हामीले पनि पढ्दै-सुन्दै आएको आइडिया हो ।
आफ्नो जीवनकालमा दसपटक चीन भ्रमणमा गएका राजा वीरेन्द्रले भनेका थिए, ‘नेपाल एसियाको त्यो भूभाग हो, जहाँ भारत र चीन मिल्छन् ।’ चिन्डियाको अवधारणा राख्ने भारतीयसमेत भन्दथे- आगामी शताब्दी एसियाको शताब्दी हुनेछ । चीन र भारत जनसंख्याले संसारकै सबैभन्दा ठूला पहिलो र दोस्रो राष्ट्र हुन् । चीनको एक अर्ब ३३ करोड र भारतको एक अर्ब २१ करोड जोड्दा दुई अर्ब ५४ करोड जनसंख्या हुन्छ ।
चीनको अर्थतन्त्र बिकिपिडियाका अनुसार १४.४ ट्रिलियन सन् २०१६ को नमिनल र २१.३ ट्रिलियन पीपीपी २०१६ मा छ । भारतको सन् २०१६ मा २.२ ट्रिलियन नमिनल र ८.७२ ट्रिलियन पीपीपी २०१६ को छ । अब आफैं जोड्नुस्, दुवै देशको अर्थतन्त्र मिल्दा कति विशाल अर्थतन्त्र हुन सक्छ ।
सानो सहर बन्दरगाह देश सिंगापुरलाई एक ठूलो आर्थिक हब बनाउने र एसियाको एउटा आर्थिक बाघ बनाउने राजनेता ली क्वान यु आफ्नो पुस्तक वन म्यान्स भ्युमा लेख्छन्- वर्षौंदेखि म एउटा निष्कर्षमा पुगेको छु कि चीन र भारतमाझ तुलना हुन सक्दैन ।
चीन एउटै आंगिक अवयवका रूपमा (अर्गानिक्ली) विकसित भयो र एउटा जनताको राष्ट्र भयो । यो कुनै बाहिरियाहरूले बनाइदिएको देश होइन । हान जातिका मान्छे ९० प्रतिशत छन् र करिब-करिब सबै चिनियाँ उही भाषा बोल्न सक्छन् । चीनसँग एउटा खास एकै ठाउँ टाँसिएर राख्ने शक्ति (कोहेसिभनेस) जसको भारतसँग कमी छ ।
सन् २०१६ मा विशाल अर्थतन्त्र भएको चीनले पाकिस्तानलाई ४६ अर्ब अमेरिकन डलर र बंगलादेशलाई २४ अर्ब अमेरिकन डलर सहुलियत ऋण प्रदान गरेको छ । तर हाम्रा नेताहरूले व्यक्तिगत सत्तालोलुपताको चक्करमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुन नदिएर राष्ट्रिय हित र जनताको ठूलो खती गरेका छन् ।
लि क्वान यु अगाडि लेख्छन्- भारतमा चार सयभन्दा बढी स्थानीय भाषा छन् र ब्रिटिस राज आएर रेल सञ्जालले नजोडुन्जेल तिनीहरू विभिन्न प्रकारका मानिस थिए र हरेक समूह एउटा अलग महाराज, सुल्तान वा नबाबका मातहत थिए ।
तमिल र पञ्जाबीमाझ कुनै ऐतिहासिक सम्बन्ध थिएन र आज पनि एकअर्काको भाषा उनीहरूको लागि ग्रिक भाषा झैं छ । प्रसिद्ध भारतीय संविधानविद् नानी पालकिवाला, लेख्छन्, ‘सन् १८५८ अघि भारत कहिल्यै पनि एउटा एकताबद्ध राजनीतिक एकाइ (पोलिटिकल इन्टिटी) थिएन । त्यस वर्ष ब्रिटिस शासनको घटनाले हामीलाई एउटा देश, एउटा राष्ट्रमा बेल्डिङ गरिदियो र जब स्वतन्त्रता आयो हामी एउटा एकताबद्ध राष्ट्रियता भएको झन्डै एक शताब्दी देखिएको एउटा देश र एउटा प्रमुखको मातहत भयौं ।’
भारत र चीनको तुलनामा हामी सानो देशका मान्छेले पनि भनिहालौं कि हाम्रो देश नेपाल धेरै सानो हुँदा पनि हजारौं वर्ष पहिलेदेखि स्वतन्त्र थियो । जुन बेला भारतमा आफगान, पठमा, मुगल र सबैभन्दा पछि ब्रिटिसको अधीनमा भारत पाकिस्तान, बंगलादेश इत्यादि परेका थिए ।
त्यस समय पनि हामी नेपाली स्वतन्त्र थियौं । हाम्रो एकीकरण पनि कुनै विदेशीले गरेको होइन । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण सम्पन्न भएको हो । पश्चिम पन्जाबको सतलज नदीदेखि पूर्व टिस्टा नदीसम्म नेपाल भयो भनेपछि हामी वर्तमान स्वतन्त्र सार्वभौम नेपालै रह्यौं । पृथ्वीनारायण शाहले पनि नेपालकै हजारौं वर्ष पहिलेदेखिको राष्ट्रिय झन्डामुनि बसे । हाम्रो राष्ट्रिय ध्वजा आज पनि त्यही छ ।
ब्रिटिस इस्ट इन्डिया कम्पनीले भारत कब्जा गर्यो । ब्रिटिस इस्ट इन्डिया कम्पनीले नेपाल कब्जा गर्न पनि आक्रमणकारी युद्ध गर्यो तर नेपालीले ब्रिटिस किनलोक र उसको सेनाको आधुनिक हातहतियार र आफूभन्दा ठूलो संख्या भएका आक्रमणकारीलाई हराएरै सिन्धुलीबाट धपाए ।
त्यसअघि पनि बंगालका नबाब मीर काशिभले गुर्गिन खाँको कमान्डमा दुई हजार आधुनिक हतियार भएका आक्रमणकारी सेनालाई पनि मकवानपुरबाट कम संख्या र कम गतिला हतियार भएका नेपालीले उच्च संकल्प, उच्च मनोबल र देशको स्वाधीनताप्रति उच्च सम्मानका कारण लखेटेरै छोडे ।
नेपालीहरू पटक्कै आक्रमणकारी हैनन् । तर आक्रमणकारी स्वतन्त्रता अपहरण गर्न आउँदा झिकी कटक अवश्य गर्छन् । उत्तरतर्फ पनि हाम्रा पुर्खाहरूले लडेका साक्षी छन्, केरुङ सम्झौता, बेत्रावती सम्झौता र थापाथली इत्यादि सम्झौताहरू ।
सर्वप्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको दूरदर्शिताले चीनसँग हाम्रो कुनै सीमा विवादै रहेन । राजा महेन्द्रले पनि बीपी कोइरालाकै सीमा प्रोटोकोल सिरानी हाली सीमा सम्झौता गरे । यी दुवैका कारण हामी नेपालभन्दा धेरै बलियो सामरिक शक्ति चीनसँग निश्चित र निष्फिक्री छौं ।
तर दक्षिणतर्फको कुरा म लेख्दिनँ किनभने हामी सबै नेपालीलाई थाहा छ, अरू घाउमा खाटा परे पनि नाकाबन्दीको घाउ आलै छ । विसं. २०१८ (सन् १९६१) मै चीनसँग सडक जोड्ने नेपलाको मन सबै छिमेकीलाई थाहा छ । वीरेन्द्र राजा र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदा सन् २००१ मा परराष्ट्रमन्त्री चक्र बास्तोलाको सही छापमा चीन-नेपाल जोड्ने अर्को सडक सम्झौता भएर कार्यान्वयन भइसकेको छ ।
यस वर्ष २०१६ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग पनि समुद्र बन्दरगाहको पहुँच नेपालले पाउने सम्झौता गरिसकेको अवस्था छ । हाम्रो र चीनको जुन निकटता छ, त्यसलाई हेर्दा ‘वान बेल्ट वान रोड’ मात्रै होइन, दुई देशबीच अनेकौं रोडहरूको पक्षमा नेपाली जनता छन् ।
सन् २०१६ मा विशाल अर्थतन्त्र भएको चीनले पाकिस्तानलाई ४६ अर्ब अमेरिकन डलर र बंगलादेशलाई २४ अर्ब अमेरिकन डलर सहुलियत ऋण प्रदान गरेको छ । तर हाम्रा नेताहरूले व्यक्तिगत सत्तालोलुपताको चक्करमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुन नदिएर राष्ट्रिय हित र जनताको ठूलो खती गरेका छन् ।