दोलखामा धुर्मुस-सुन्तलीको ज्योति
चरीकोटः चिसोले च्याप्दै गएको साँझपख आइतबार दोलखा चरीकोटको टुँडिखेलमा सयौं मानिस जम्मा भए । भूकम्पपीडितलाई आवास निर्माण गरेर चर्चामा आएका हास्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को चलचित्र ‘ज्योति’ हेर्न उनीहरू जम्मा भएका थिए ।
युनिसेफको सहयोगमा ‘धुर्मुस सुन्तली फाउन्डेसन’ले निर्माण गरेको चलचित्रको प्रदर्शन रामेछापबाट सुरु भएर १६ जिल्लामा पुगी टुंगिने आयोजकले जनाएको छ । बालअधिकारका पक्षमा निर्मित चलचित्रमा स्थानीय बालमैत्री शासन लागू गर्नुपर्छ भन्ने सन्देश समेटिएको छ ।
चलचित्र रोचक र हृदयस्पर्शी भएको दर्शकले प्रतिक्रिया दिए । चलचित्र हेर्दै स्थानीयवासी कहिले पेट मिचिमिची हाँसे भने कहिले गहभरि आँसु पारेर रोए । बालविवाहविरुद्ध आवाज उठाइएको चलचित्र नवलपरासीस्थित नवलपुरको कथामा केन्द्रित छ ।
सीताराम र कुञ्जनाको मुख्य भूमिका रहेको उक्त चलचित्रमा बालबालिकालाई अधिकारसम्पन्न गरियो भने समाजले के कति फाइदा लिन सक्छ भन्ने सन्देश समेटिको छ । बालबालिका भोलिका कर्णधार भएकाले उनीहरूको इच्छाविपरीत गरिएका कार्य केही पनि सफल नहुने उदाहरण चलचित्रमा दिइएको छ ।
पछिल्लो समय बजारमा रहेका होटलहरूमा बालबालिकालाई बाल श्रमशोषण गरिरहेको अवस्थामा चलचित्र ‘ज्योति' बाट धेरै सिक्न सकिने दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले बताए ।